कालिका । चेपाङ महिलाहरुको सशक्तीकरणको क्षेत्रमा काम गर्न कालिका नगरपालिकाका अगुवा चेपाङ महिलाहरुको पैरवी मञ्च गठन गरिएको छ । सामाजिक सचेतना, सुशासन प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि पैरवी गर्न मञ्च गठन गरिएको हो ।
डेक नेपालले अन्डेफको सहयोगमा ‘नेपालमा लैङ्गिकमैत्री सुशासन प्रवद्र्धनका लागि युवा चेपाङ महिला नेतृहरुलाई सहयोग’ नामक परियोजनाअन्तर्गत चेपाङ महिला पैरवी मञ्च गठन गरिएको कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।
वडा नं ११, सिद्धिमा सजिता चेपाङको अध्यक्षतामा मञ्च गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा अमिना चेपाङ, सचिवमा प्रशंसा चेपाङ, सहसचिवमा सुनिता चेपाङ र कोषाध्यक्षमा विकनी माया चेपाङलगायत ५० जना अगुवा चेपाङ महिलाहरु मञ्चमा आबद्ध रहेका छन् ।
वडा नं ३ राममाया चेपाङको अध्यक्षतामा, वडा नं ९ लक्ष्मी चेपाङको अध्यक्षतामा, वडा नं १० मा शशिकला चेपाङ र ११ मासजिता चेपाङको अध्यक्षतामा पैरवी मञ्च गठन गरिएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए । ५ वटा चेपाङ महिला पैरवी मञ्चमा २५० जना अगुवा चेपाङ महिलाहरु आबद्ध रहेको कार्कीले बताए ।
सो परियोजनाअन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाका वडा नं १, २, ३, ५, ६ र ७ तथा कालिका नगरपालिकाका वडा नं ३, ८, ९, १० र ११ मा सशक्तीकरणका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
चेपाङ महिला नेतृहरुको स्थानीय सुशासन प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, अधिकारवालाहरुको सशक्तीकरण, सेवा प्रदायकहरुको जवाफदेहिता अभिवृद्धि तथा नागरिक संस्थाहरुको साझेदारी प्रवद्र्धन गर्न चेपाङ नेतृत्व तथा सञ्जाल निर्माण, सीप विकास गर्नेलगायतका काम गरिने छ ।