अहिले चौतर्फी रुपमा सहयोगी हातहरु फैलिरहेका छन् । यसले मुलुकको समृद्धि र सकारात्मक परिवर्तनका लागि केही हदसम्म योगदान मिल्ने देखिएको छ । मानवीय सहयोगका लागि व्यक्ति स्वःस्फूर्त रुपमा अभिप्रेरित हुनु पक्कै पनि शुभ संकेत मान्न सकिन्छ । अहिले विकट क्षेत्रमा स्वास्थ्य र शिक्षामा सहयोग गर्ने सहयोगी हातहरु अघि बढ्न थालेका छन् । अल्पसंख्यक तथा पछाडि परेका समुदायका लागि केही हदसम्म सहयोग गर्न सामाजिक संघसंस्था, व्यवसायी तथा व्यक्तिहरुको चासो बढ्नुले मुलुकमा नयाँ आशाको सञ्चार गराएको छ । अहिले मुलुकभर नै असहाय, विपन्न तथा अपाङ्गहरुको दैनिकीमा खासै सुधार हुन सकेको छैन । राज्यले उनीहरुका लागि उचित सम्बोधन गर्न पनि सकेको छैन । मुलुकले लामो समयसम्म संक्रमणकालीन अवस्था झेल्नुप¥यो । अझै पनि संक्रमणकाल अन्त्य भइसकेको छैन । तर, अन्योल, अशान्ति र अनिर्णयको बन्दी भएर निराश भएका नागरिकले अहिले केही हदसम्म राहत अनुभव गर्न पाएका छन् ।
चितवनको विकट पहाडी क्षेत्रमा अवस्थित नौवटै गाविसहरु राज्यको सबै सेवासुविधाबाट वञ्चित छन् । अधिकांश चेपाङ समुदायको आजसम्म पनि आमदैनिकीमा खासै सुधार हुन सकेको छैन । तर, विभिन्न संघसंस्थाबाट चेपाङ संरक्षणका लागि जे–जति कार्य भएका छन्, त्यो यथेष्ट नभए पनि उनीहरुले केही राहत महसुस गरिरहेका छन् । हालैमात्र सिद्धि गाविसको वडा नं. ८ स्थित जिङ्लाउमा विद्यालय भवन निर्माण थालनी भएको खबरले सबै क्षेत्रमा आशाको सञ्चार गराएको छ । जिङ्लाउका बालबालिका पढाइबाट वञ्चित भएको खबर सञ्चारमाध्यममा आएपछि चितवनका एक होटल व्यवसायीले उक्त विद्यालय भवन निर्माण गरिदिन लागेका हुन् । विद्यालय टाढा हुँदा बालबालिका पढ्नबाट वञ्चित भएको जानकारी पाएपछि सौराहास्थित होटल मोनालिसाका सञ्चालक केशव खनालले चार लाख रूपैयाँको लागतमा विद्यालय भवन बनाइदिन लागेका हुन् । त्यस क्षेत्रका बालबालिका दुई घन्टा पैदल हिँडेर विद्यालय जानुपर्ने कारण पढाइ छाडेर मजदुरी गर्दै आएका थिए ।
भौतिक पूर्वाधार नभएपछि शिक्षा कार्यालयले बालविकास केन्द्र स्थापना गरेर साना बालबालिका पढाउन गरेको पहल पनि सार्थक भएको थिएन । पाल टाँगेर विद्यार्थी पढाउन सुरू गरे पनि विद्यार्थीहरु नियमित नहुँदा समस्या बढेको थियो । अधिकांश समय अनिकालको सामना गर्दै आएका चेपाङ समुदायमा खान नपाए पनि छोराछोरी पढाउनुपर्छ भन्ने चेतना विकसित हुनु खुसीको कुरा हो । गाउँमा विद्यालय भवन बन्न लागेपछि स्थानीय गोपाल चेपाङले पनि दुई कट्ठा जमिन विद्यालयलाई निःशुल्क हस्तान्तरण गरेर यो अभियानलाई साथ दिएका छन् । शिक्षा कार्यालयले सहरी क्षेत्रमा साक्षरता अभियानका लागि लाखौँ रूपैयाँ खर्च गरेको छ । तर, ग्रामीण क्षेत्रमा त्यसले कुनै प्रभाव पार्न नसकिरहेको अवस्थामा दुई जना व्यक्तिको प्रयासमा विद्यालय बनाउनु अत्यन्त सराहनीय कार्य हो । यस्ता सहयोगी हातहरु विकट क्षेत्रमा जान सके विद्यालय जानबाट वञ्चित सयौँ विद्यार्थीहरुले शिक्षाको अवसर प्राप्त गर्नेथिए । शिक्षा कार्यालयले निर्माणाधीन विद्यालयमा थप शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।
Discussion about this post