बसन्त पराजुली
भरतपुर । घटना १ः गत वर्ष परेको खडेरीले शक्तिखोर र सिद्धि गाविसमा मकै उत्पादनमा गिरावट आयो ।
घटना २ः यो वर्ष असिनाका कारण शक्तिखोर र सिद्धि गाविसमा मास उत्पादनमा धेरै क्षति पुग्यो ।
माथिका दुई उदाहरण हुन्– मौसममा आएको खराबीका कारणले चितवनका किसानहरुले व्यहोर्नु परेको क्षति । जलवायु परिवर्तनका कारणले कृषिमा पर्ने असर न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको फरवार्ड नेपालका वरिष्ठ कार्यक्रम अधिकृत ऋषि ढकालका अनुसार खडेरीले शक्तिखोर र सिद्धिमा मात्रै ७० प्रतिशत मकैको उत्पादन घटेको छ ।
‘चितवनको पहाडी क्षेत्रको मुख्य खाद्यान्न मकै हो’, ढकालले थपे, ‘मकै नै खडेरीले खाएपछि पहाडी क्षेत्रमा रहेका बासिन्दाहरुले खाद्यान्नको समस्या भोग्नुप¥यो ।’ विशेष गरी शक्तिखोर र सिद्धि चेपाङ जातिको बाहुल्यता रहेको क्षेत्र हो । यो क्षेत्रमा सामान्यतयः प्रतिहेक्टर झण्डै दुई टन मकै उत्पादन हुने भएपनि खडेरीका कारण उत्पादन घटेको ढकालको भनाइ छ ।
मकैमात्रै होइन, यो वर्ष परेको असिनाले चितवनको पहाडी क्षेत्रमा मास खेतीमा पनि नोक्सानी पुग्यो । ‘मास विशेषतः यो क्षेत्रका बासिन्दाले खाद्यान्नसँग साट्ने वस्तु हो’, ढकालले थपे, ‘मास उत्पादन हुने बेलामा आएको असिनाले क्षति पुग्यो ।’
ढकालका अनुसार बेमौसममा आउने असिना र खडेरी जलवायु परिवर्तनको असरले हो । जलवायु परिवर्तनमा देखिएको असरको प्रभाव विस्तारै चितवनको कृषि क्षेत्रमा देखिदै छ । पशुमा बढ्दै गएको बाँझोपन, घट्दै गएको घाँसका कारण पशुपालनमा देखिएको समस्या पनि जलवायु परिवर्तनका असरका कारणले हुन् ।
अतिवृष्टि, अनावृष्टि जलवायु परिवर्तनका असर हुन् । जसले लामो खडेरी वा अधिक वर्षा वा असिना पर्ने हुन्छ । पछिल्लो समय बढ्दै गएको पृथ्वीको तापक्रमले पनि विस्तारै जनजीवनमा समेत प्रभाव पर्न थालेको बताइन्छ । जलवायु असर न्यूनीकरणका लागि चितवनमा सरोकार निकायहरुले सामुहिक कार्य थालनी गर्ने भएका छन् ।
जिल्ला विकास समिति चितवनको अगुवाइमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले २१ सदस्यीय जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणसम्बन्धी जिल्लास्तरीय समिति र १९ सदस्यीय कार्यदलसमेत गठन गरेका छन् । समिति तथा कार्यदलले विशेषतः जलवायु परिवर्तनका प्रभावको असर र त्यसको क्षति न्यूनीकरणको उपायहरुका बारेमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
‘जलवायु परिवर्तनको असर चितवनमा पनि देखिन थाल्यो । त्यसबाट कसरी बचाउन सकिन्छ भन्ने सचेतना जगाउन जरूरी छ’ कार्यदलका संयोजक जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लुइँटेल भन्छन्, ‘गाउँ बस्तीहरुमा केन्द्रित गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका कार्यक्रम ल्याउन पहल गर्नेछाँै ।’ कार्यक्रमका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुको पहल जरूरी रहेको पनि उनले आंैल्याए ।
तरकारी र दूध उत्पादनका लागि देशकै अग्रणी जिल्ला चितवनमा जलवायु परिवर्तनले कृषि र पशुपालन क्षेत्रमा देखिएको असरले दीर्घकालिन असर नगर्ला भन्न सकिदैन । वरिष्ठ कार्यक्रम अधिकृत ढकाल भन्छन्, ‘बढ्दो तरकारी उत्पादन र दूधको उत्पादनमा कमी आउन नदिन पनि जलवायु परिवर्तनको असर न्यूनीकरणको कार्यक्रम जरूरी छ ।’
Discussion about this post