भरतपुर । धेरैले आफू या आफन्तमात्रै भोका नहोऊन् भन्ने सोच्ने गर्छन् । भरतपुरका युवा पुस्तक व्यवसायी विष्णु पौडेल नेपालमै कोही भोका नहोऊन् भन्ने ध्याउन्नमा छन् । यो अभियानका लागि उनी आफ्नो सम्पति नै खर्च गर्दैछन् ।
चिनजान नै नभएकालाई पैसा खर्च गरेर कोही खाना नास्ता खुवाउन तयार होला या नहोला ? तीन चारजनालाई दुईचार दिन खुवाउन गाह्रो नमान्ने धेरै नै निस्केलान्, तर सयौं अपरिचितलाई दिनदिनै खुवाउने मानिस भने विरलै भेटिएलान् । भरतपुर घर भएका पुस्तक व्यवसायी पौडेल साढे चार सयजना असक्तलाई दिनदिनै खुवाउँदा कुनै झन्झट मान्दैनन् ।
पूर्व काँकडभिट्टादेखि पश्चिम महेन्द्रनगरसम्मका ३२ सहरका ४६ होटलमा पौडेलले महिना महिनामा पैसा पठाउने गर्छन् । कमाउन नसक्ने वृद्धवृद्धा तथा बालबालिकाहरुले ती होटलहरुमा गएर खाने गर्छन् । उनीहरुले खाएको पैसा विष्णुले तिर्ने गरेका छन् । गएको कात्तिक आठ गतेबाट उनले यो काम सुरू गरेका हुन् । दैनिक ४५० जनाले एक छाक नास्ता खाने गरेका उनले जानकारी दिए ।
‘कोही भोका नहोऊन् भन्ने मेरो चाहना हो । त्यसैले देशका ३२ सहरका ४६ वटा मिठाइ तथा नास्ता पसलमा असक्त र असहायलाई खाजा खुवाइदिनु पैसा म तिर्नेछु भनेको छु’ पौडेलले भने । होटलसँग सम्झौता नै गरेको र त्यसरी खाएको तिर्दा महिनामा आफ्नो डेढ लाख रूपैयाँसम्म खर्च हुने गरेको उनले जानकारी दिए ।
नारायणगढको व्यस्त बजार क्षेत्र पुलचोकमा ऋषिराम सापकोटाको मोतीमहल नामको नास्ता पसल छ । त्यहाँ दिनमा सात आठजना त्यस्ता असक्त आएर नास्ता गर्छन् । ‘एकजनाले नास्ता गरेको ५० रूपैयाँसम्म लाग्छ । तर पौडेलजीको अभियानलाई सहयोग गर्न मैले २० या २५ रूपैयाँमात्रै जोड्ने गरेको छु’ सापकोटाले भने ।
देवघाटमा रहेको हाम्रो मिष्ठान्न भण्डारमा दिनकै १७÷१८ जना अशक्त आएर नास्ता खाने गर्छन् । काम गरेर खान नसक्ने अपाङ्गता भएका ४२ वर्षीयदेखि ७४ वर्षसम्मका वृद्धहरु आफूकोमा नास्ता खान आउने पसल सञ्चालक उमादेवी भुषालको भनाइ छ । आफ्नो लक्ष्य १४० वटा होटलमा दैनिक १०० जनालाई खुवाउने प्रबन्ध मिलाउनु रहेको उनले बताए ।
‘अहिलेसम्म मैले आफ्नै खर्चमा होटलको पैसा तिर्दै आएको छु । मेरो व्यापारको आम्दानी यसमा लगाएको छु । अझ धेरैलाई खुवाउने योजना छ । पछि पनि म कसैको सहयोगको भर पर्दिन’ पौडेलले भने, ‘आफ्नो व्यवसायको आर्जनले नपुगे कमाएको सम्पति बेचेर भए पनि खाना खुवाउन नछोड्ने प्रण मेरो छ ।’
३५ वर्ष काटेका पौडेल विसं. २०६१ साल असोज २८ मा मेची–महाकाली शान्ति पैदलयात्रामा निस्केका थिए । ३१ दिनमा उनले यात्रा पूरा गरेका थिए । ‘त्यो बेला युद्ध थियोे । शान्तिको चाहना राखेर यात्रा गरे तर भोक र अभाव पनि उत्तिकै देखे । त्यसपछि कोही भोकै नरहोऊन् भन्ने योजना ल्याउने सोच बनाएको थिएँ । जुन अहिले सुरू भयो’ उनले भने ।
‘मैले सुरू गरे अरुले पनि यसका हात बढाउला भन्ने मेरो मनसाय हो । आफँैले मात्रै त पशुले पनि खान्छ । बाँडेर खान सिके पो मान्छे भइन्छ’ पौडेलले भने । उनको अभियान सुरू भएपछि होटलको ढोका अगाडि उभिने अशक्तहरुलाई लौरोले खेद्ने चलन हराउन थालेको छ । उनी भन्छन् ‘अरुलाई पनि सकेको दिनुपर्छ भन्ने भावना विस्तारै सवैमा जाग्ने विश्वासमा छु ।’
[divider]फोटो क्याप्सन: कोही भोको नहोऊन्ः असक्तलाई निःशुल्क खाना खुवाउने होटलअगाडि फाइल बोकेर उभिएका पौडेल ।
Discussion about this post