नारायणगढ । चितवन जिल्लामा एक महिनाको अवधिमा नौजना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । जिल्लाको विभिन्न एचआईभी परीक्षण केन्द्रमा गरिएको रक्त परीक्षणका क्रममा नौजनामा एचआईभी पोजेटिभ फेला परेको हो ।
अस्पतालमा एचआईभी परीक्षण गराएका ४७ जनामध्ये नौजनामा एचआईभी संक्रमण फेला परेको एचआईभीको क्षेत्रमा काम गर्ने संस्था एड्स हेल्थ केयर फाउन्डेसन एचएफ नेपाल भरतपुरका संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । सन् २०१४ को जनवरी महिनाको अवधिमा जिल्लामा रहेका एचआईभी परीक्षण केन्द्रहरुमा एचआईभी परीक्षण गराएका २४ पुरूष, २२ महिला र एक बच्चामध्ये ४ पुरूष, ४ महिला र एक बच्चामा एचआईभी संक्रमण फेला परेको हो ।
गत सन २०१३ को डिसेम्बरमा जिल्लाका ८ वटा गाविसमा गरिएको एचआईभी परीक्षण घुम्ती शिविरमा २१ जना नयाँ संक्रमित फेला परेका थिए । यीबाहेक सन् २०१३ को जनवरीदेखि डिसेम्बरसम्म एक वर्षमा ९२ जना एचआईभी संक्रमित फेला परेको सापकोटाले जानकारी दिए ।
सो अवधिमा जिल्लाका विभिन्न केन्द्रमा रक्त परीक्षण गराएका एक हजार ९१ जनामध्ये ४५ पुरूष, ३९ महिला र आठजना बच्चामा एचआईभी पोजेटिभ देखिएको थियो ।
सो अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विगत छ वर्षमा चितवनमा ७८ जनाको एचआईभीबाट मृत्यु भएको छ । जसमध्ये ५५ जना पुरूष, २० जना महिला र तीन जना बालबालिका रहेका छन् । यसरी एचआईभीकै कारण मानिसहरु नमरे पनि एचआईभी संक्रमितमा अन्य संक्रमणका कारण मानिसहरु मर्ने गरेका छन् । उनीहरु अन्तिम अवस्थामा अस्पतालमा आउँदा मृत्यु हुने गरेको भरतपुर अस्पतालका एचआईभीसम्बन्धी उपचारमा संलग्न चिकित्सक उन्नत श्रेष्ठ बताउँछन् ।
‘संक्रमणले अन्तिम अवस्थामा पुराएपछि उनीहरु बल्ल अस्पतालमा आउने गर्छन्’, उनले भने, ‘उनीहरु अस्पतालमा आउँदा उनीहरुको शरीरमा सिडीफोर ज्यादै कम हुन्छ ।’ नेपालमा ३५० भन्दा कम सिडीफोर भएका एचआईभी संक्रमितलाई एआरटी दिइन्छ । जिल्लामा करिब दुई हजारको हाराहारीमा एचआईभी संक्रमित रहेको अनुमान छ ।
यता सन २००७ देखि गत २०१३ को जुलाईसम्ममा नेपालमा २२ हजार ९९४ जना एचआईभी संक्रमित रहेको प्रमाणित भएको छ । जसमध्ये सबैभन्दा बढी यौनकर्मीका ग्राहक रहेका छन् । यसरी संक्रमितमध्ये नौ हजार १२६ यौनकर्मीका ग्राहक रहेको तथ्यांकमा उल्लेख छ । जसमध्ये पुरूष आठ हजार ९८५ र महिला १४१ रहेका छन् ।
त्यस्तै, एक हजार ५१ जना यौनकर्मीहरुमा पनि एचआईभीको संक्रमण फेला परेको तथ्यांकमा छ । जसमध्ये पुरूष ६८ र महिला एक हजार ८३ रहेका छन् ।
Discussion about this post