धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सलाङघाटस्थित पृथ्वी राजमार्गमा शुक्रबार बिहान भएको यात्रुबस दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा परेर घाइते भएका १६ जनाको उद्धार गरिएको छ भने ३० भन्दा बढी यात्रु अझै पनि नदीमा हराइरहेका छन् ।
सर्लाही जिल्लाको मलंगवाबाट काठमाडौँका लागि छुटेको रात्रिबस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३, सलाङघाटस्थित पृथ्वी राजमार्गको मोडमा पुगेपछि सीधै त्रिशूली नदीमा खसेको थियो । सडकबाट १०० मिटर तल खसेको सो बसमा सर्लाही, मलंगवाबाट ४० जना, हरिपुरबाट २ जना यात्रु टिकट काटेर चढेका थिए भने बसमा ३ जना कर्मचारी र बीच बाटोबाट चढेर क्याविनमा बसेका अन्य चार जना यात्रु पनि रहेका थिए । सोही बसमा यात्रा गरिरहेका बी १६ नम्बर सिटका यात्रु समिमराज अन्सारीका अनुसार ४२ सिट क्षमताको सो बसमा सबै सिट भरिएको थियो ।
मलंगवाबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्सको रात्रिबस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशूली नदीमा खसेको हो । बस दुर्घटनाको खबर आएलगत्तै इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी कार्यालय धादिङ, सशस्त्र प्रहरी बल आदमघाट, देवीदत्त गण गजुरीबाट खटिएको प्रहरी तथा नेपाली सेना, रेडक्रसको उद्धार टोली र स्थानीयवासी घटनास्थल पुगेर उद्धार सुरू गरेका थिए ।
भीरबाट निकै अप्ठ्यारो स्थान हुँदै बस खसेकाले उद्धारमा कठिनाइ भएपछि डोरीको सहायताले घाइतेहरुको उद्धार गरिएको थियो । बस त्रिशूली नदीमा आधा भाग डुबेको अवस्थामा यात्रुहरुको उद्धार भएको थियो । डुबेको बसलाई दिउँसो क्रेनको सहायतामा नदीकिनारमा तान्दा बसभित्र कोही पनि नभेटिएको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।
रातिको समयमा दुर्घटना भएकोले तत्काल उद्धारमा कठिनाइ आएको र दुई जना यात्रुले भने पौडेर नदीकिनारमा आई ज्यान बचाएको भए पनि उनीहरुको उद्धार भने बिहान ७ बजेपछिमात्रै भएको थियो । दुर्घटनास्थल भीरमा भएका कारण तालिमप्राप्त उद्धारकर्मीहरुले डोरीको सहायतामा नदीकिनारमा गएर उद्धार गरेका थिए । घाइतेहरुलाई उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्यकेन्द्र र गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
बसमा चालक जीवन भनेर चिनिने लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी र खलाँसी ऋषी उप्रेती सवार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनास्थलमा मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेको धादिङ प्रहरीले जानकारी दिएको छ । मुग्लिननजिकै दुई पुरूषको शव भेटिएको भए पनि मृतकको सनाखत हुन सकेको छैन ।
सनाखत भएकाहरुमा दुर्घटनास्थलमा मृत भेटिएका सर्लाही ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ४ का बासिन्दा रहेको पुष्टि भएको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका १६ जनामा भूपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।
अन्य यात्रुहरुको अवस्था हालसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।
अँध्यारोमा बस खसेको र नदीमा बाढी आएका कारण केही यात्रुहरु बगाएको हुन सक्ने आशंकामा नदी तटहरुमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनका गोताखोरसहितको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरेका थिए । उद्धारका लागि टोली दिनभर नै परिचालन गरिएको थियो ।
सर्लाहीस्थित बस टिकट काउन्टरले दिएको चलानीअनुसार बसमा सवार यात्रुहरुमा सर्लाही जिल्ला विष्णु गाउँपालिकाका खुश रञ्जन, शिवनगरका मोहम्मद मतलुङ, अगर्वाका नवीनकुमार महतो, लक्ष्मीपुरका मनिष रायसहित २ जना, बेलहीका राकेश राउत, भारत मुजफ्फरपुरका आशिषकुमारसहित २ जना, गम्हरियाका दिनेश ठाकुर, भारत पर्सा मोडका धीरेन्द्र शर्मा, औरहीका रविकुमारसहित ३ जना, भारत अररियाका दिलीप दाससहित ३ जना, मलंगवाका भूपेन्द्रकुमार, त्रिभुवननगरका राजनारायण गुप्तासहित ४ जना, मलंगवाका सञ्जीव चौधरी, अरबिन्द सिंह (वकिल), अनिष राय, भारत लरकवाका रामबाबु यादवसहित ३ जना, भारत कुवारीका अजय ठाकुरसहित २ जना, मलंगवाका रोहित मण्डल, मलंगवाका समिमराज अन्सारी, मलंगवाका सुशील श्रीवास्तव र अनिल, गणेशियाका भाग्यनारायण महतोसहित ३ जना, हरिपुरका योगेन्द्र चौधरी र अमित लामा रहेका छन् ।