काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल आफ्नो पक्षका मन्त्री हुनेको नाम नदिने भएका छन् । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले सहमति २० मिनेटमै तोडेको देउवाको आरोप छ ।
वरिष्ठ नेता देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग शनिबार भएको छलफलमा तत्काल आफ्नो पक्षबाट सरकारमा जाने नेताहरुको नाम नदिने बताए । ‘शुक्रबार साँझ भएको छलफलमा प्रधानमन्त्री बाहेक संस्थापन पक्षबाट एक जना बढी राखेर मन्त्री थप्ने सहमति भएको थियो’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने(बालुवाटारबाट बुढानिलकण्ठ आइपुग्नासाथ प्रधानमन्त्रीले फोन गरेर अघि मिस अन्डरस्ट्याण्डिङ भएछ । तपाई दुई जनाको नाम दिनुस् भन्नुभयो, म दुई जना थपेर मन्त्रिपरिषद् विस्तार गर्छु भन्नु भो ।’
आफूले दुई जनाको नाम दिँदा कोइरालाले आफ्नो पक्षबाट तीन जना थप्ने देउवाको आशंका छ । ‘६ जनाको मन्त्रिपरिषद् हुँदैन । विजोर संख्या बनाउँदा सभापतिले तीन जना राख्ने निश्चित छ’ उनले भने(’रामशरण महत पहिल्यै हुनुहन्छ । यो सहमति विपरित हुन्छ ।’
देउवाका अनुसार शुक्रबार साँझ भएको छलफलमा कांग्रेसको भागमा पर्ने मन्त्रालयको आधामा प्रधानमन्त्रीले आफूबाहेक एक बढी मन्त्री बनाउने सहमति भएको थियो ।
स्रोतका अनुसार देउवाले नाम दिन अस्वीकार गरेपछि प्रधानमन्त्री कोइराला थप अफ्ठ्यारोमा परेका छन् । सहमति अनुसार गृह मन्त्रालय नपाएको भन्दै सत्ता साझेदार एमालेले सरकारमा सहभागी भएको छैन र उसले सरकारमै नजाने संकेत दिएको छ ।
Discussion about this post