मेघौली । भरतपुर महानगरपालिका वडा नं २७, मेघौली निवासी वेदकुमार महतोले रोजगारका क्रममा १० वर्ष मलेसियामा बिताए । अब भने उनले विदेश छाडेर गाउँमै होमस्टे सञ्चालन गरेका छन् ।
‘सबै मिलेर होमस्टे सञ्चालन गर्दा यसैमा भविष्य देखेर होमस्टे सुरू गरेको छु, आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिति राम्रै छ, म सन्तुष्ट छु’, महतोले भने । उनीजस्तै बाबुराम महतोले पनि यसै महिनादेखि होमस्टे सुरू गरेका छन् । पर्यटकहरुको आकर्षक गन्तव्य बनेको पश्चिम चितवनको मेघौलीमा होमस्टेहरु थपिने क्रम बढ्दै गएको छ ।
साथै, स्थानीय बासिन्दाहरु गीता महतो, प्रकाश महतो र थप एक जनाले पनि होमस्टे सञ्चालनका लागि तयारी अवस्थामा राखेकाले यहाँ होमस्टे १३ वटा हुनेछन् । सन् २०२० को पर्यटन वर्षसम्ममा पूरै गाउँभरि नै होमस्टे सञ्चालन गर्न आफू प्रयासरत रहेको र एक सय जनालाई सेवा दिन सक्षम रहेको थारु सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष सोमलाल महतोले बताए ।
मेघौलीमा २०६७ माघ २१ देखि होमस्टे सञ्चालन गरिएको हो । स्थापना हुँदा पाहुनालाई राख्न मिल्ने गरी ७ वटा घरहरु बनाइएका थिए । मेघौलीमा १० वटा थारु होमस्टे सञ्चालनमा छन् । तर, यी होमस्टेको प्रचारप्रसारको अभावमा चर्चा बाहिरसम्म फैलिन पाएको छैन ।
मेघौलीमा आन्तरिक पर्यटक आउँछन्, घुम्छन् र कमैमात्र रात बस्छन् । ठूला होटलमा बस्न महँगो छ । पछिल्लो समयमा मेघौलीलाई पटिहानी र माडीका होमस्टेले विस्थापन गर्न थालेको अध्यक्ष सोमलाल महतोले बताए ।
घरवास सञ्चालनका समयमा अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकलाई थारु संस्कृति र परम्परासँग सम्बन्धित सेवासुविधा उपलब्ध गराउने गरिएको छ । ‘हालसम्म स्वदेशी आठ हजार तथा विदेशी दुई सयभन्दा धेरै पाहुनाहरु हाम्रो होमस्टेमा आएका छन्’, अध्यक्ष महतोले भने ।
सडकको अवस्था पनि राम्रो छैन । पर्यटकहरु सडककै दुरवस्थाले पनि त्यहाँ आउन हिच्किचाउँछन् । मेघौली जाने मुख्य मार्ग कालोपत्रे गर्न वर्षौंदेखि ठेक्का भए पनि कामले पूर्णता पाएको छैन । २०६६ सालमा टाइगर टप्स होटल बन्द भएपछि यहाँका करिब २५० जना स्थानीयको रोजगारीमात्रै गुमेन, स्थानीय उत्पादनले पनि राम्रो बजार पाएन । यसले आयआर्जनमा असर ग¥यो । हात्ती पोलो बन्द हुनु र विमानस्थल नचल्नुले होमस्टे सुनसान हुन थालेको अध्यक्ष सोमलाल महतोले बताए ।
थारु समुदायको कला संस्कृति, परम्परा, भेषभूषाको अध्ययन अवलोकनको मुख्य गन्तव्यका रुपमा परिचित मेघौली थारु, चौधरी समुदायको बसोवास रहेको यहाँ होमस्टे सञ्चालन गरिएसँगै थारु समुदायको संस्कृति, रहनसहन, परम्परा, भेषभूषाको अध्ययन अवलोकन गर्नका लागि प्रमुख गन्तव्य क्षेत्र बनेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतो बताउँछन् ।
चितवन निकुञ्जसँग जोडिएकाले मेघौली वाइल्ड लाइफ पर्यटनको आकर्षक गन्तव्य हो भन्नेमा कसैलाई आशंका छैन । नेपाल सरकारको पर्यटन वर्ष मनाउने उद्देश्यमा मह¤वपूर्ण योगदान दिने देखिएपछि प्रदेश सरकारको समेत मेघौलीमा ध्यानाकर्षण हुन थालेको छ । हालै प्रदेश सरकारको ३ लाख सहयोगमा मेघौलीका सबै होमस्टेको अगाडि गोलघर निर्माण गरिएको प्रदेश सांसद् कृष्ण भूर्तेलले बताए ।
सरकारले सन् २०२० मा पर्यटन वर्ष मनाउँदैछ । देशमा २० लाख पर्यटक भिœयाउने सरकारको लक्ष्य छ । चितवनले मात्र ६ लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ ।