भरतपुर । घरजग्गाको व्यवस्थित कारोबार गर्ने उद्देश्यले भरतपुरमा ‘नारायणी समृद्धि रियल स्टेट कम्पनी लिमिटेड’को स्थापना भएको छ ।
शनिबारदेखि औपचारिकरुपमा सेवा शुभारम्भ गर्ने गरी कम्पनी स्थापना भएको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
रियल कारोबारलाई मर्यादित र व्यवस्थित बनाउने गरी नयाँ कामको थालनी गरिएको समृद्धि विकास रियल स्टेट इन्भेष्टमेन्ट प्रालि काठमाडौँका कार्यकारी निर्देशक श्यामसूर्य तामाङले जानकारी दिए । सामूहिक प्रयासमा कम्पनी सञ्चालन गरिएको उनको भनाइ छ ।
घरजग्गा किनबेच गर्न चाहने व्यक्तिलाई छिटोछरितोरुपमा सेवा दिने उद्देश्यले सञ्चालन गरिएको कम्पनीमा नौ जनाको लगानी रहेको कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
घरजग्गासम्बन्धी व्यवस्थित कारोबार गर्न चाहने व्यक्तिलाई तालिमसमेत प्रदान गर्ने गरी कम्पनी सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।