-धनराज गिरी
२०६६ साल चैत्र ५ गतेपछि सुकरात गुरू र गोपीको साहित्यिक सहयात्रा सम्भव भएको रहेनछ । यसपालि साइत जु¥यो । घरमा दुई एकान दुई । सीताजीलाई मनाएर मैले ४ दिनको बिदा स्वीकृत गराएँ । यसमा सुकरात गुरूको भूमिका अहम् रह्यो । २०७० साल माघ १७ गते घरबाट प्रस्थान गरेँ, बिहान ९३० बजे । ११ बजेसम्म नारायणगढ पुलचोकमा राजधानीबाट छुट्ने नेपाली लेखक संघको टोली आइपुग्ने संकेत पाएको थिएँ । १०ः३० मा नारायणगढ पुगेँ । अचानक भाइ भूपिन दोब्बर भेट भए । म पनि हतार छ, हतार छैनकै मुडमा थिएँ । चितवनबाट केही मानक र केही धानक स्रष्टाहरु बाहिरिएका थिए । गुरूदेव केदारनाथ खनालज्यूको मनोविज्ञान म बुझ्दछु । यथार्थमा गुरूकै भ्यानमा यो ज्यान त्यो ऐतिहासिक यात्रामा हुनुपर्दथ्यो । सायद, यसपालि अलि नयाँ पात्रहरुसित घुलमिल हुनुथियो । केदार गुरू एण्ड कम्पनीलाई शुभयात्रा भनेँ । बिचरा भीष्म उप्रेती, मलाई कस्तो–कस्तो लाग्यो । विप्लव ढकाल, धरावासी र निमेष निखिलसित स्नेहमिलन भयो । मैले आफ्नो बाध्यता बताएँ भीष्मलाई । काठमाडौँबाट छुटेको गाडी नौबिसेमा दुई घन्टा जाममा । झन्डै दुई बजेमात्र आइपुग्यो माइक्रोबसको दाइ । टाढैबाट चिनेँ । साथीहरुले न्यानो माया प्रकट गर्नुभयो । हाम्रो भूमियान टन्न अघाएको । अन्तिम सिटमा समायोजित हुँदै भनेँ– ‘जे कल्पना गरेर बसेको थिएँ, त्यो ठ्याक्कै पूरा भयो ।’ यस अभिव्यक्तिले हास्यरस उत्पादन गरेछ । चारैतिर नजर लगाएँ । तुलसी भट्टराई, गोविन्दराज भट्टराई, वियोगी बुढाथोकी, विष्णुविभु घिमिरे, ज्ञानु पाण्डे, सन्ध्या पहाडी, गीता कार्की, नारायण चालिसे, रत्नमणि नेपाल, वसन्त बस्नेत, नरेन्द्रनारायण साहु, बलराम अधिकारी, गोकर्ण अर्याल र मेरो रोल नम्बर चौध । गोकर्ण र नरेन्द्र पूर्वअपरिचित । गाडीमा अरु यात्रीहरु पनि थिए ।
नारायणगढबाट दाङ २८८ किमी रहेछ । ७ घन्टा लाग्ने सूचना पाएँ । ठीक २ बजे नारायणगढबाट प्रस्थान भयो । अब बाटो काट्नुछ । पत्रकार वसन्त बस्नेत मलाई चार्ज हुन अनुरोध गर्दछन् । दाजु भट्टराई पनि उद्दीपकको काम गर्नुहुन्छ । ‘म रन्किँदै रन्कन्न र रन्किएपछि थन्किन्न ।’ मेरो अभिव्यक्ति । तुलसी भट्टराई दाजुलाई यात्रा लागेछ । खाना खाएपश्चात् उल्टीमाथि उल्टी । अनुहारै टीठ लाग्दो । माया लाग्यो मलाई । मैले गीत गाउन थालेपछि उज्यालिँदै जानुभयो । उता नवपरिचित नरेन्द्रनारायण साहु, बुरूक–बुरूक । मधेसी मूलको भएर पनि एउटा हिन्दी गीत सही ढंगसित अनुकरण गर्न अक्षम । बरू, रत्नमणि नेपालले ‘लीला’ गरे । उता, बलराम अधिकारी मस्त । एक नम्बर पारखी । संगीतप्रेमी रहेछन् । बलराम भाइ यो गीतलाई अंग्रेजीमा अनुवाद गर्नुप¥यो, मेरो छड्के । चितवनकै भूमिपुत्र बलराम अधिकारी राम्रा अनुवादक हुन् । दाजु गोविन्दराज भट्टराईको स्नेहको छातामुनि यी युवा आफूलाई तिखारिरहेछन्, निखारिहेछन् । यिनीभित्र अपार सम्भावना छ । आधा बाटो मेरो गायनले धकेल्यो । विभु दाजुले धर्मराज थापा र भवानी घिमिरेको नक्कल गर्नुभयो ।
ठीक ८ः३० बजे राति पुगियो घोराही । मधुवन होटल एण्ड लजमा सातवटा कोठा हामीलाई स्वागत गर्न हाजिर । दंगाली मित्रहरु हाजिर । सबै नयाँ । पुराना मित्रहरु नारायण नेपाल र उत्तमकृष्ण मजगैयाँ भोलिपल्ट मात्र साक्षात्कार । शंकर पौडेल, बमबहादुर डिसी, किशोरचन्द्र गौतम हाम्रो स्वागतमा । वियोगी बुढाथोकी मेरो रुपा, रुपा अर्थात् ‘रूम पार्टनर’, कोठा नम्बर १०६ । एकैछिनको विश्रामपछि खाना । सबै थाकिएको थियो, लगभग १० बजे ढलियो । १९ गते बिहान पनि खासै काम भएन । उत्तम दाजुको व्यवस्थापनमा शाईधाम गइयो । यो यात्रामा सबैभन्दा मह¤वपूर्ण काम भयो फोटो खिच्ने । यो मुहार पुस्तिकाले दिएको नयाँ संस्कार । जहाँ गए पनि खच्याक्क । ११ः३० मा हामी कार्यक्रम स्थलमा पुग्यौँ । नेपाल प्रज्ञाप्रतिष्ठान र लेखक संघ दाङको सहआयोजनामा बीपी शतवार्षिकीको उपलक्ष्यमा दुईदिने साहित्यिक कार्यक्रम तय भएको थियो । १८ गतेको कार्यक्रम कार्यपत्र प्रस्तुत र टिप्पणी । ढिलो भयो भन्नु परेन । यो हाम्रो राष्ट्रिय चरित्र हो । नारायण चालिसे, ज्ञानु पाण्डे र गोविन्द दाजुले कार्यपत्र प्रस्तुत गर्नुभयो भने दंगाली विद्वान्हरुले टिप्पणी । नारायण नेपालको ‘मित्रदृष्टि’ रमाइलो थियो । भैरवप्रसाद मजगैयाँ उद्घोषकले यो नाम उच्चारण गरेर आसनग्रहण गराए । काला–काला ढाडी बूढा । मेरो मानसपटलमा ३७ वर्षअघिको वीरेन्द्र कलेज भरतपुर आयो । हामीलाई नेपाली पढाउने गुरूको नाम थियो, भैरव मजगैयाँ । बीचमा यो प्रसाद र उहाँको परिवर्तित शारीरिक अवस्था । सोझै सामना गर्न सकिनँ । नारायण नेपाललाई सोधेँ । सेवानिवृत्त प्राध्यापक भन्ने थाहा पाएपछि मन बलियो बनाएँ । आँखा नियालेँ । आँखा उही हुन् । हजुरले वीरेन्द्र कलेज भरतपुरमा पढाउनुभयो ? पढाए पढाएँ, धेरैअघि । गुरूको उत्तर, त्यसपछि हाम्रो शास्त्रीय मिलन भयो, ३७ वर्षपछि । झन्डै चार दशक । चलचित्रको कथाजस्तो । मलाई नेपाली विषयमा एउटा आन्तरिक परीक्षामा ९५ प्रतिशत अंक दिनुभएको थियो गुरूले । म प्रवेश परीक्षामा प्रथम भएको थिएँ र माध्यमिक विद्यालयमा झैँ कलेजमा पनि म पहिलो भएको थिएँ । दाङ भ्रमणको यो मह¤वपूर्ण उपलब्धि रह्यो । गुरूले सारै स्नेह गर्नुभयो । ६८ वसन्त पार गरेका गुरू घुँडाको दुखाइबाट आक्रान्त ।
१८ गतेको सूर्यनारायणले पनि हाजिरी खातामा सही गरे । ६ बजे साँझ हामी कोठामा आयौँ । बालकृष्ण थपलिया, वनमाली निराकर, सृजन लम्साल र सनत रेग्मी दाजु होटल ग्रीनमा । विनोदी गुरू नारायण नेपालको पाहुना, केदार गुरू किरण डाक्टरपुत्रको कोठामा । आइयो रूममा, जम्मा भइयो ६ भाइ । वसन्त बस्नेतको चुट्किलाले माहौल हलुङ्गो भयो । झन्डै ११ बजे निद्रादेवीको शरणमा गइयो । १९ गते बिहान बेलैमा उठियो । दाङका प्रमुख पर्यटकीय क्षेत्रहरुको स्थलगत भ्रमण । बराह क्षेत्र र १२ कुने ताल, माता अम्बिकस्वरीको मन्दिर, १२६१ वर्ष पुरानो शिवमन्दिर र अचम्मका बरका रुखहरु अवलोकन गर्दै लेखक संघ दाङको आफ्नै भवनमा गइयो । २०६१ साल भाद्र २९ गते मंगलबार त्यो भवनको उद्घाटन भएको रहेछ । गरे के हुन्न ? हामी साहित्यकारहरुको आफ्नै साझा घर हुनु पनि ठूलै स्वाभिमानको कुरा हो । चितवन साहित्य परिषद्लाई मनमनै सम्झिएँ । कुन दिन कुनै दानवीरले हाम्रो सपना साकार गरिदिन सक्छ ! १८ गते साँझ रुक्मिणी चौधरीको आतिथ्य अविस्मरणीय रह्यो । के–के खाइयो, के–के ? डिक्री भन्ने परिकार चितवनकै चौधरी समूहले तिहारमा पकाउने चामलको उसिनेको रोटी । त्यसको ठट्टेउलो नाम छ, यहाँ उल्लेख नगरौँ । तर, दाङमा नभनी रहन सकिनँ ।
१९ गतेको कार्यक्रम कविता वाचन । लगभग ५ः३० बजेसम्म कार्यक्रम चल्यो । ५५ जनाले आ–आफ्ना रचना सुनाए । जिरादेखि हीरासम्मका गुणस्तरका रचनाहरु सुन्न पाइयो । आफ्नो शैली पुरानै । ‘दाङकै भाङ’ दंगालीहरुलाई सुनाएँ । कसैले पनि दिक्क मानेजस्तो लागेन । धनराजजी, फर्कंदा त सहयात्री बनौँ, केदार गुरूका जोर आँखा यही भनिरहेका थिए । मैले मनमनै क्षमायाचना गरेँ । ४ दिन बिदा पाएकै थिएँ । २१ गते बिदा थियो नै । आम्मै, फेला परियो डा. ढुण्डीराज पौडेलको । यो प्रकरण छुट्टै लेख्ने छु । १९ गतेको साँझ पनि अविस्मरणीय रह्यो । शंकर पौडेलको पत्नी वियोगको पीडा कवितामा छचल्कियो । दाजु भट्टराई साक्षी किनाराको सदर । २० गते ३ः३० बजे नै भाइ रत्नमणि नेपालले बिगुल फुके । ५ः४५ बजे हामीले दाङ छोड्यौँ । अरु कोही नआए पनि मेरा नयाँ मीतज्यू बमबहादुर डीसी हाम्रो बिदाइमा आउनुहुन्छ, मैले यति भन्न पाएकै थिइनँ, मीतज्यू हाजिर । यसरी ४ दिने सुखद साहित्यिक यात्रालाई सम्पन्न गर्दै हामी फर्कियौँ । ठीक ४ः१० बजे म सीताजीको काखमा । ४ वर्षपछि यति लामो साहित्यिक यात्रा भयो । दंगाली मित्रहरुको चोखो माया मुटुभरि साँचेर फर्कियौँ । यो कामचलाउ संस्मरण हो, बृहत् बयान संविधानपछि ।
Discussion about this post