–सुमन गैरे
भरतपुर । नवलसिंह रजाली (मगर) विहान–वेलुकी कृष्णपुरस्थित सम्राट होटलमा काम गर्छन् । दिउँसो पढ्न विद्यालय जान्छन् । नवलपरासीको देउराली–८ घर भएका १५ वर्षीय नवल राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा आठ कक्षा पढ्दैछन् ।
कक्षा पाँचसम्म गाउँकै स्कुलमा पढेका उनी हातमुख जोड्न र पढ्ने खर्चको अभाव भएपछि होटलमा भाँडा माझ्ने र सरसफाई गर्नुपरेको बताउँछन् । ‘घरको आर्थिक अवस्था कमजोर भयो, पढ्न पैसा भएन, होटलमा भाँडा माझ्न थालेपछि अहिले पढ्न पनि पाएको छु ।’ उनी भन्छन् ।
कक्षामा अन्य साथीभाइ सरह प्रथम, द्वितीय हुने चाहना भए पनि पढ्ने समय नपाएको उनको गुनासो छ । उनी भन्छन्, ‘स्कुलबाट होटल फर्किँदा वेशनभरि थुप्रिएका जुठाभाँडा माझ्दा–माझ्दै रात पर्छ । राति अबेरसम्म सरसफाईमा खटिएपछि शरीर थाकेको हुन्छ । थकाइ लागे पनि गृहकार्य गर्दागर्दै निदाउँछु । अनि साथीहरुसँग कसरी प्रतिस्पर्धा गर्ने ?’ नवलसिंहले गहभरि आँशु झार्दै भने ।
सम्राट होटलले आफूलाई खान, बस्न, लत्ताकपडा र पढाइ शुल्कबाहेक तलब तथा अन्य पारिश्रमिक नदिएको उनी बताउँछन् । उनका आमाबुबा यज्ञपुरीस्थित क्यान्सर अस्पतालमा मजदुरी गर्छन् । दाजुको क्यान्सरकै कारण मृत्यु भएपछि उनी एक्लो सन्तान बनेका छन् । दाजुको उपचार खर्चमा लागेको ऋण तिर्न नसकेपछि बुबाआमासँगै आफूले पनि गाउँ छाडेर सहरमा मजदुरी गर्नुपरेको पीडा सुनाउँछन् ।
विद्यालयका इमान्दार विद्यार्थी नवलसिंहलाई समय–समयमा छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएको विद्यालयका सहायक प्रधाध्यापक बाबुराम पौडेलले जानकारी दिए । प्लसटु पास गरेपछि नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्ने उनको धोको छ । धेरै पढेर बेरोजगारका लागि लाइनमा बस्नुभन्दा सेनामा भर्ती भएर देशको सेवा गर्ने उनको चाहना छ ।
यसैगरी, पर्सा सोनावर्षाका १६ वर्षीय दुर्गेश सहनी कक्षा ९ मा पढ्दैछन् । उनी कक्षाका दोस्रो विद्यार्थी हुन् । भरतपुरस्थित चेतना भिलेज तालिम केन्द्रको किचनमा विहान बेलुकी काम गर्दै आएका उनी दिउँसो विद्यालय जान्छन् ।
पढ्ने खर्च नभएर काम गर्दै पढ्दै गरेको हूँ, उनले भने– ‘बाबुआमाले पढाउन नसकेपछि यहाँ मेरो दाइले ल्याएर छाडिदिनुभएको हो ।’ सो भिलेजमा काम गरेवापत खाने बस्ने र पढ्ने सुविधा पाएको उनी बताउँछन् । यसबाहेक घरजाँदा कहिलेकाँही भाडा र घरखर्च पनि साहुले दिँदै आएको उनले सुनाए । कक्षामा दोस्रो हुँदै आएका सहनी एसएलसीमा विशिष्ट श्रेणीमा पास हुनेमा दृढ छन् ।
कक्षा ६ मा पढ्ने १२ वर्षीया दुर्गासेन ठकुरीको नियति पनि यस्तै छ । विहान–वेलुकी काम गर्ने दिउँसो स्कुल जाने । धादिङको जोगीमारा घर बताउने यी बालिका भनपा–७ कृष्णपुरस्थित लक्ष्मी कँडेलको घरमा बाल मजदुर छिन् । उनी भन्छिन््– ‘सुरुसुरुमा विहान सवेरै उठेर घरको काम गर्न निकै मुस्किल परेको थिया, अहिले पोछा लगाउने, घर सफा गर्ने र भाँडा माझ्ने काममा बानी परिसक्यो ।’
बुबा आमाको काखमा रमाएर स्कुल जाने उमेरमा गरिबीको कारण अर्काको घरमा बस्न विवश छिन् यी बालिका । गरिबीका कारण आफू चितवनमा काम गर्न आएको उनको भनाइ छ । उक्त घरमा बसेर काम गरेवापत निःशुल्क पढ्ने र पोशाकको व्यवस्था भएको उनी बताउँछिन् । भन्छिन्– ‘छिनछिनमा घरको याद आउँछ, आएर के गर्ने मनलागेको बेला घर जान पाइँदैन ।’
राम्रो पढेर असल शिक्षक बन्ने उनको चाहना छ । ‘दादाले पढेर असल नर्स बन्न सल्लाह दिनुभएको छ । तर, मलाई भने मजस्तै गरिब बालबालिकालाई शिक्षा दिन शिक्षिका बन्न मन लागेको छ ।’ आफ्नो लक्ष्य उनले सुनाइन् ।
ठकुरी, सहनी र रजाली बालश्रम गरेर राष्ट्रिय मावि कृष्णपुरमा पढ्ने तीनजना पात्र हुन् । उनीहरुजस्तै थुप्रै बालश्रमिकहरु यहाँ पढ्छन् । विद्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सो विद्यालयमा ७० जना बालमजदुरले अध्ययन गरिरहेका छन् ।
पढाउँदा पढाउँदै अभिभावकहरु घरमा बस्ने व्यक्ति भएन भनेर कक्षामै लिन आउने गरेको प्रधानाध्यापक हरिकृष्ण चापागाइले बताए । मजदुरका अभिभावकहरु कामको सिलसिलामा ठाउँ छाडेर जाँदा एक शैक्षिकसत्र पूरा नहुँदै लिएर जान्छन् जसले गर्दा शैक्षिक गुणस्तर कायम गर्न मुस्किल परेको प्रअ चापागार्इंको भनाइ छ ।
शहरकेन्द्रित विद्यालयमा यति ठूलो संख्यामा बालमजदुर, ज्यामी र अल्पसंख्यक अभिभावकका छोराछोरी पढ्ने यो जिल्लाकै पहिलो पाठशाला हो । यहाँ ७५ प्रतिशतभन्दा बढी विद्यार्थीहरु पढ्न आउने गरेको विद्यालयको तथ्यांकमा देखिएको छ ।
Discussion about this post