काठमाडौँ । सर्वोच्च अदालत पुनरावेदन अदालत, जिल्ला अदालत र न्यायाधिकरणले आर्थिक वर्ष २०६९।०७० मा दर्ता भएका एक लाख ६६ हजार १७६ मुद्दामध्ये ८६ हजार ९१९ थान मुद्दा, रिट निवेदन र प्रतिवेदनको किनारा लगाएको छ ।
ती अदालत तथा न्यायाधिकरणबाट ५२ दशमलव ३१ प्रतिशत मुद्दालगायतका निवेदनको फैसला गरेपनि अझै ७९ हजार २५७ थान मुद्दा थाती रहेको राष्ट्रपतिसमक्ष बुझाइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा एक लाख ५३ हजार ५५३ मुद्दा रहेकोमा ती निकायबाट ८७ हजार ७२८ थान मुद्दा फछ्र्यौट भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा नयाँ दर्ता हुने मुद्दाको सङ्ख्या बढेर गएपनि सर्वोच्च अदालतमा न्यायाधीशको सङ्ख्या कम भएकाले मुद्दा फछ्र्यौटमा प्रभाव परेको छ भने पुनरावेदन तथा जिल्ला अदालतको मुद्दा फछ्र्यौट सङ्ख्यात्मक हिसाबले केही बढेको कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले बुझाउनुभएको सो प्रतिवेदनमा उल्लेख छ ।
फछ्र्यौट हुन बाँकी रहेका ७९ हजार २५७ थान मुद्दा रिट तथा निवेदन र प्रतिवेदनमध्ये ५३ हजार ९४२ थान मुद्दा आव २०६९÷०७० मा दर्ता भएका र १७ हजार ९३७ थान मुद्दा तथा निवेदन आव २०६८÷०६९ मा दर्ता भएमध्येका रहेका छन् । तीमध्ये दुई वर्षभन्दा पुराना मुद्दाको सङ्ख्या सात हजार ३७८ थान रहेको छ ।
फैसला कार्यान्वयनका लागि परेका १३ हजार ८२० निवेदनमध्ये आठ हजार ४५९ थान निवेदन फछ्र्यौट भएको, रु एक अर्ब, ३० करोड ५१ लाख १६ हजार २५५ जरिवाना असुली भएको, २७ हजार तीन वर्ष दुई महिना २० दिन कैद असुल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
सर्वोच्च अदालतमा परेका २० हजार ८११ थान मुद्दामध्ये ४ हजार ३६० थान मुद्दा, पुनरावेदन अदालतमा परेका ४० हजार १०४ मुद्दामध्ये २४ हजार ८५८ थान र जिल्ला अदालतमा परेका एक लाख दुई हजार ४८३ थान मुद्दामध्ये ५६ हजार ८१९ थान मुद्दा फछ्र्योैट भएको छ । रासस
Discussion about this post