जसलाई आज हामी डा. मारिया मन्टेश्वरी भनेर चिन्दछौँ, उनको जन्म सन् १८७०, अगस्त ३१ तारिखका दिन चियाराबल, मार्च, इटालीमा मारिया टेक्ला अर्टमिसिया मन्टेश्वरीका रुपमा भएको थियो । युनिभर्सिटी अफ रोम, मेडिकल स्कुलबाट आफ्नो शैक्षिक योग्यता हासिल गरेकी मन्टेश्वरी कुशल चिकित्सक र शिक्षाविद्का रुपमा आजीवन आफ्नो पेसामा समर्पित थिइन् । उनले बालबालिकाका लागि तय गरेको जुन शिक्षण पद्धति छ त्यो मन्टेश्वरी मेथडका रुपमा विश्वप्रसिद्ध छ । त्यसैले, उनलाई मन्टेश्वरी मेथडकी संस्थापिका भनेर चिनिन्छ । त्यसमा पनि उनकै नाममा त्यो शिक्षणविधि परिचित हुन पुग्यो, जुन उनको योगदानप्रति विश्वले गरेको एउटा ठूलो योगदान हो ।
त्यसोभए मन्टेश्वरी मेथडले के भन्छ त ? आउनुस्, यस विषयमा एकछिन चर्चा गरौँ । मन्टेश्वरी शिक्षाले बालबालिकालाई प्राकृतिक तवरमा कुनै पनि अवरोध र दबाबविना सहज र सिर्जनात्मक ढङ्गले सिक्ने वातावरण निर्माण गर्ने र सोहीअनुसार सिकाइ प्रक्रियालाई सुचारू गर्नका लागि प्रेरित गर्ने गर्दछ । बालबालिकाले खेल्दै, रमाउँदै सिक्नुपर्दछ भन्ने यसको मान्यता हो । मन्टेश्वरी मेथडले शिक्षकलाई शिक्षकभन्दा बढी सहयोगी, सहजकर्ता, उत्प्रेरक र अभिभावकका रुपमा चित्रण गरेको छ । मन्टेश्वरी शिक्षाले साना र २ देखि ५ वर्षसम्मका बालबालिकाका लागिमात्रै सोच्छ भन्ने होइन । यो अभियानले जन्मदेखि १५ वर्षसम्म बालबालिकाको शिक्षादीक्षा, विकास र सिकाइप्रक्रियालाई व्यवस्थित र रूचिपूर्ण बनाउने सन्दर्भमा समानरुपले योगदान गरेको छ ।
जन्मदेखि ३ वर्षसम्मका बालबालिकाको उमेरलाई शिशु अवस्था मानिन्छ । यतिबेला उनीहरुको पोषण र सहज विकासको वातावरण निर्माण गर्ने गरिन्छ । शिशुहरुको संसार र उनीहरुमा विश्वासको विकास गर्ने कुरामा ध्यान दिइन्छ । उनीहरुमा देखा पर्दै गएका सम्भावनाहरु र आत्मविश्वास विकासका लागि आवश्यक प्रयास गर्नेतिर विशेष ध्यान दिइन्छ । भाषा सिकाइसँगै आत्मनिर्भर बन्न प्रेरित गरिन्छ । यो समयमा घरपरिवारदेखि लिएर सम्बद्ध अभिभावकसितको सहकार्यमा मन्टेश्वरी पद्धतिका शिक्षकहरुले तिनको विकासमा ध्यान दिन्छन् ।
दोस्रो उमेर समूह छ, प्राथमिक उमेर समूह । यसमा ३ देखि ६ वर्षसम्मका बाबुनानी पर्दछन् । अब यतिखेर उनीहरुलाई स्वतःस्फूर्तरुपमा सिक्ने वातावरण निर्माण गरिन्छ । स्पष्ट, सम्मानपूर्ण र प्राकृतिक परिणामसहित बालबालिकाको सामाजिक विकास गर्ने कुरामा ध्यान दिइन्छ । उनीहरुको काल्पनिकता, सिर्जनात्मकता र आत्मनिर्भरता विकास होस् भनेर तदनुसारका अवसरहरु प्रदान गर्ने काममा विशेष जोड हुन्छ, यतिबेला । बालबालिकाहरुको लागि सिकाइका लागि आवश्यक विभिन्न प्रकारका सामग्री उपलब्ध गराई त्यसकै बलमा सिकाइलाई अघि बढाइन्छ ।
तेस्रो छ, आधारभूत अर्थात् प्रारम्भिक उमेर समूह । यो उमेर समूहमा ६ देखि १२ वर्षसम्मका बालबालिकाको सिकाइप्रक्रियाका बारेमा ध्यान दिइन्छ । यतिबेला उनीहरुभित्रको संज्ञान अर्थात् बौद्धिकता अभिव्यक्त होस् भन्ने खालका अवसरहरु उपलब्ध गराइन्छ । उनीहरुको रूचि, विशेषता र क्षमतालाई अत्यन्त ध्यान दिइन्छ । उनीहरुभित्रको कल्पना, आत्मविश्वासको विकास गरी समाज, संस्कृति र वातावरणीय विश्वप्रति उनीहरुको भूमिकाका बारेमा बुझाउने र सिकाउने कुरामा जोड दिइन्छ ।
मन्टेश्वरी शिक्षाले ध्यान दिने अन्तिम उमेर समूह छ, किशोरावस्था । यतिबेला उनीहरुभित्र विकसित हुने मनोशारीरिक परिवर्तनबारे सकारात्मक परामर्श प्रदान गरी आत्मविश्वास र जिम्मेवारीबोधका लागि प्रेरित गर्नुपर्दछ भन्ने मान्यता रहेको छ । किशोरकिशोरीहरुलाई उनीहरु स्वयम्बारे बृहद्रुपमा जान्न, बुझ्न, खोज्न सिकाइन्छ । पारस्परिक सम्बन्ध, सदाचारसँगै आत्मअभिव्यक्तिका लागि बालबालिकालाई तयार गर्नका लागि उपयुक्त तदनुसारकै वातावरणको सिर्जना गरिन्छ । प्राज्ञिकतालाई व्यावहारिक बनाउने विषयतिर बढी जोड हुन्छ । कृषिकर्म, पर्यावरण र अन्य स्वावलम्बनका लागि उनीहरुलाई उत्प्रेरित गर्दै जाने विषयमा जोडबल रहन्छ ।
सहज र बृहत्तर सिकाइको लक्ष्य
यसप्रकार, मन्टेश्वरी शिक्षाप्रणालीले बालबालिकाभित्र विद्यमान क्षमतालाई सहज, प्रेमपूर्ण र रमाइलो वातावरणमा उनीहरुभित्रै विद्यमान रूचिका विधिको प्रयोग गरी प्रकाशित, पुष्पित र विकसित तुल्याउनेतिर जोड दिइन्छ । बालबालिकालाई कहिले समूहमा र कहिले व्यक्तिगतरुपमा बसेर पढ्न, लेख्न, सिक्न र उत्साहित हुन जोड दिइन्छ । समग्रमा भन्नुपर्दा, मन्टेश्वरी शिक्षाले बालबालिकाको बृहत्तर, सहज र प्राकृतिक हितमा शिक्षणसिकाइ हुनुपर्दछ भन्ने मान्यता राख्दछ । सँगसँगै, बालबालिका प्रभुपरमेश्वरप्रति पनि आस्थावान् होऊन् भन्ने उद्देश्य पनि यो अभियानसित जोडिएको थियो, सुरूआतका दिनमा ।
डा. मारिया मन्टेश्वरीले आप्mनो यो विधिलाई विश्वका विभिन्न मुलुकमा तालिम केन्द्रहरुको स्थापना गरी प्रचारप्रसार गर्ने काम गरिन् । इटाली त उनको जन्मभूमि नै भयो । उनको देहविसर्जन मई ६, सन् १९५२ मा नेदरल्यान्डमा भएको थियो । इटाली, नेदरल्यान्ड, बेलायत, भारत, पाकिस्तानसहित अन्य थुप्रै मुलुकमा भ्रमण मात्रै गरिनन्, मन्टेश्वरी पद्धतिको विकासका लागि आवश्यक विभिन्न कामहरु पनि गरिन् ।
हामीकहाँ पनि मन्टेश्वरी शिक्षाका नाममा विभिन्न अभ्यासहरु अघि बढेका छन् । विद्यालयमा विशेषगरी, प्राथमिक कक्षाहरुमा अध्यापन गर्ने शिक्षक छनोट गर्दा मन्टेश्वरी विधिले शिक्षण सिकाइ गरेका अर्थात् मन्टेश्वरी तालिम प्राप्त महिला शिक्षक छनोट गर्ने प्रचलन बढेको छ भने साना–साना बालबालिकालाई पढाउने भनेर मन्टेश्वरी स्कुल खोल्ने क्रम पनि त्यही मात्रामा तीव्र बनेको छ ।
आज हामीकहाँ पनि टोलटोलमा मन्टेश्वरी केन्द्रहरु खोलिएका छन् । मन्टेश्वरी शिक्षण विधि बालबालिकाको सर्वाङ्गीण हितमा भए पनि हामीले आज खोलेका मन्टेश्वरी केन्द्रले बालबालिकाको कत्तिको हित गरेका छन्, त्योचाहिँ निश्चय नै विचारणीय विषय छ ।
मन्टेश्वरी पठाउने हाम्रा कारण
हामीकहाँ साना–साना बाबुनानीलाई मन्टेश्वरीमा पठाउने धेरै कारणमध्ये मुख्य कारण बाबुआमा दुवै कामकाजी हुनु, अर्थात् ती व्यस्त हुनु हो । आफू व्यस्त भएर बालबालिकालाई हेर्न नसकेपछि मन्टेश्वरी पठाउने गरिएको छ, यो पहिलो कारण हो । दोस्रो कारण, बालबालिकालाई जान्ने बनाउने, छिटै पढ्ने बनाउने नाममा पनि मन्टेश्वरी पठाउने गरिएको छ । तेस्रो कारण हो, केटाकेटीसित रमाउन नसक्नु । बाबुआमा आफूले जन्माएका छोराछोरीसित दिक्क माने भने के होला ? कम्तीमा चकचक गरेर दिक्क त पार्दैन भन्ने सोची आफू घरमै बसेर पनि छोराछोरीलाई मन्टेश्वरी पठाउने गरिएको छ । सामान्यतया यिनै कारणले हामीले हाम्रा बाबुनानीलाई मन्टेश्वरी पठाउँछौँ, तर मन्टेश्वरी पठाउनुको वास्तविक कारण र मर्ममध्ये भने कुनै पनि होइनन् ।
मन्टेश्वरीको मूल मर्म बालबालिका सहज, प्रेमपूर्ण, मनोरञ्जनपूर्ण वातावरणमा आफ्नै सुरले सिक्दै अघि बढून् भन्नु हो भन्ने सन्दर्भमा हामीले चर्चा ग¥यौँ । उनीहरु विकासको क्रममा छन्, नयाँ–नयाँ कुरा सिक्दै अघि बढ्दैछन् । यतिबेला यिनको सिकाइलाई अवरोधहीन बनाउनुछ । प्रेमपूर्ण बनाउनुछ । उनीहरुको सहज र सिर्जनात्मक सिकाइका लागि वातावरण बनाउनुछ ।
मन्टेश्वरी सञ्चालन गर्नेहरुमध्ये पनि अधिकांशले मन्टेश्वरीको खास विज्ञान, विधि र दर्शनमा मन्टेश्वरी सञ्चालन गरेको देखिँदैन, हामीकहाँ । मन्टेश्वरीहरु सिकाइ केन्द्रभन्दा बढी स्याहार केन्द्रमा बदलिएका छन् । न त त्यहाँ मन्टेश्वरीले कल्पना गरेजस्तै बालबालिकाका भावना बुझेर तिनको सिकाइमा सहयोग गर्ने कुशल, अनुभवी र तालिम प्राप्त शिक्षिकाहरु छन्, न त व्यावसायिकताभन्दा धेरै भावना र त्यागमा आधारित सेवा गर्ने मनसाय नै देखिन्छ । अधिकांश यस्ता मन्टेश्वरी केन्द्रहरु व्यापारिक र व्यावसायिक केन्द्रका रुपमा सञ्चालित भइरहेका देखिन्छन्, यसको मूल मर्मलाई आत्मसात् गरेको प्रतीत हुँदैन ।
मन्टेश्वरी डाक्टरमात्रै नभएर एउटी आमा पनि थिइन् । उनको छोराको नाम म्यारियो मन्टेश्वरी थियो । उनले सारा अभिभावकत्व वहन गर्नुप¥यो । उनको काम भनेकै छोरालाई हेर्नुु, उसलाई ध्यान दिनु र उसको सिकाइलाई सहज बनाउनु थियो । यो काम उनले सबैभन्दा पहिले घरमा गरिन् । आफ्नो छोरालाई उनले कुनै पनि मनोवैज्ञानिक, भावनात्मक अप्ठ्यारो महसुस गर्न दिइनन् । उनको संरक्षण र सिकाइमा म्यारियोले अत्यन्त प्रेमपूर्ण र सहज सिकाइ गरेका थिए । उनको घरबाट सुरू भएको सिकाइ अनुभव नै आज मन्टेश्वरी शिक्षाविधिका रुपमा परिचित छ ।
हर घर मन्टेश्वरी, हरेक आमा मन्टेश्वरी
बच्चाबच्चीलाई बाहिर खुलेका मन्टेश्वरीमा पठाउनुपर्छ भन्ने केही छैन । मुख्य कुरा हरेक घरहरु मन्टेश्वरी हुनुप¥यो । हरेक आमाहरु मन्टेश्वरी हुनुप¥यो । घरभन्दा ठूलो मन्टेश्वरी के हुन सक्छ ? आमाभन्दा कुशल र तालिम प्राप्त शिक्षिका आफ्नो सन्तानका लागि अर्को को हुन सक्छ ? डा. मारियाको उद्देश्य भनेकै हरेक आमाहरु बालबालिकाको सिकाइलाई कसरी सहज, स्वाभाविक र खेलपूर्ण बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुप¥यो भन्नु हो । आमाका लागि आफ्नो बच्चाभन्दा ठूलो केही हुँदैन । यदि आमा भएर पनि उनले बच्चालाई उसको रूचिबेगर आफूदेखि टाढा राख्ने प्रयास गर्छिन् भने यो राम्रो हुँदैन ।
दुई वर्ष हुन पाएको छैन, बच्चालाई घरबाट हामीले निकालेका छौँ, मन्टेश्वरीमा पठाउने नाममा । उसलाई घर छोड्न मन लागेको हुँदैन, आमा छोड्न मन लागेको हुँदैन, तर रोईरोई जानुपर्छ । उसलाई बाबुआमाले जबर्जस्ती गाडीमा राखिदिनुपर्छ वा छोडेर आउँदा रूवाएर आउनुपर्छ । उसलाई त्यहाँ जान मन नै छैन, तर जबर्जस्ती जानुपर्छ । बिचरा ऊ के गरोस् ? विवश छ । उसलाई मुन्ट््याएर त्यहाँ पठाइन्छ । यसरी मुन्ट्याएर जबर्जस्ती घरबाट निकाल्दा साना बालबच्चा मन्टेश्वरीमा गएका छन्, कि मुन्टेश्वरीमा भन्ने लाग्दछ । जहाँ साना बालबालिकालाई उनीहरुको रूचिबेगर आमाको काखबाट जबर्जस्ती छुटाएर मुन्ट्याउँदै पठाइन्छ, त्यो मुन्टेश्वरी होइन त ?
मन्टेश्वरीको सारा प्रयत्न सिकाइप्रति बालबालिकामा रूचि पैदा गर्नु हो । बच्चाहरुलाई रूवाउने होइन, खुसी बनाउनु हो, हँसाउनु हो । हामीले हाम्रा छोराछोरीलाई खुसी बनाउनुछ, हँसाउनुछ । उसको अधिकार हो, कम्तीमा चार वर्ष आमाको काखमा रमाउने । उसलाई आमाको काखमा दिशा गर्ने, पिसाब गर्ने, झगडा गर्ने, रूने, हाँस्ने, चिच्याउने, सताउने र दिक्क बनाउने पूरा अधिकार छ । यसबाट कुनै पनि आमा अथवा कुनै पनि बाबु पछि हट्न सक्दैनन् । आमाबाबुलाई पनि सताउन नपाउने हो भने वा घुर्की लगाउन नपाउने हो भने के बाबाआमा ?
बालबालिकालाई कम्तीमा चार वर्षसम्म आमाको काखबाट उसको रूचिबेगर छुटाएर विद्यालय, मन्टेश्वरी या यस्तै ठाउँमा लैजानु पुण्य होइन र त्यो बालहितमा पनि हुँदैन । कहिलेकाहीँ बाबुनानी झोला बोकेर, किताबकापी लिएर आपैmँ जान खोजे, उनीहरु रमाए भने ठिकै छ, तर जबर्जस्ती गर्ने अधिकार हामीलाई छैन ।
बालबालिकाको हित सबैभन्दा मह¤वपूर्ण
प्रश्न उठ्न सक्छ, त्यसोभए के बाबुआमाले काम नै नगर्ने ? के आमाबाबुको काम केटाकेटीकै हेरविचार गर्नु, बस्नुमात्रै हो त ? आफ्नो लागि नसोच्ने ? उनीहरुलाई नै काखमा खेलाएर बसेर के पैसा त्यसै आउँछ र ? खान परेन ? त्यो बच्चालाई पाल्न परेन ? उनीहरुलाई अब्बल र जान्ने बनाउनु परेन ? यस्ता अनगिन्ती प्रश्नहरु उठ्न सक्छन् । ती प्रश्नहरु मह¤वपूर्ण त छँदै छन्, तर बालबालिकाको हित त्योभन्दा मह¤वपूर्ण छ, होइन र ?
हो, निश्चय पनि हामीले काम गर्नुपर्दछ । यिनै केटाकेटीका लागि काम गर्ने हो । हाम्रो आफ्नो मात्रै जीवन चलाउनलाई त खासमा के गाह्रो छ र ? हाम्रो दौडधूप हाम्रै सन्तानका लागि हो, तर हामी यिनका लागि भनेर यिनकै नाममा दौडधूप गर्ने, तर यिनकै लागि समय दिन नसक्ने हो भने त्यो पनि झन् राम्रो भएन ।
बच्चाबच्ची हुर्काउने र बढाउने भनेको ठूलो कुरा हो । उनीहरुलाई आमाबाबुले भन्दा राम्ररी कसैले पढाउन सक्दैन । ठीक छ, ठूलो भएपछि उसलाई घरबाट बाहिर गएर पढ्न प्रेरित गर्नुपर्छ, बाहिरी देशदुनियाँका बारेमा पनि देखाउनु र बुझाउनुपर्छ, तर कम्तीमा चार वर्ष उसलाई कतै पठाउनुहुँदैन, आमाबाबुको काख छुटाउनुहुँदैन ।
एउटा मन्टेश्वरीमा कम्तीमा पनि सय, दुई सय बालबालिका हुन्छन् । तिनलाई सम्हाल्ने वा सिकाउनेहरु ४–५ जना होलान् । एक जनाको भागमा ३०–४० जना बाबुनानी पर्छन् । तिनले कसरी हेर्न भ्याउलान् ? एक जना आमाले एक जना बच्चालाई घरमा हेर्दा बच्चाले सहज, सुन्दर र उपयुक्त तरिकाले सिक्ला कि एक जना शिक्षिका वा सहयोगीले ३०–४० जनालाई हेर्दा राम्रो होला ? आपैmँ विचार गरौँ ।
तपाईंले योजना बनाएर कम्तीमा चार वर्ष आपैmँले हेर्ने गरी बालबालिका जन्माउनुस् । यदि जन्मिसकेका छन् भने उनीहरुलाई कम्तीमा ४ वर्षसम्म कसरी आपूmसित राख्ने भन्ने विषयमा गम्भीर हुनुस् । बालबालिकालाई सिकाउन हतार गर्नुपर्दैन । उमेर पुगेर भर्ना भएका केटाकेटी उमेरै नपुगी भर्ना भएका केटाकेटीभन्दा पढाइमा अब्बल देखिन्छन्, प्रायः । ३ वर्ष पुगेको छैन, स्कुल पठाउन हतार ? ४ वर्ष नपुगी बालबालिकालाइ स्कुल पठाउन पनि हुँदैन । उमेर नै नपुगी स्कुल पठाउनेहरु धेरैजसो पढेलेखेका बाबुआमा नै छन् । उनीहरु नै उमेर नपुगी बालबालिकालाई स्कुल पठाउन वा मन्टेश्वरीतिर मुन्ट्याउन तयार भएपछि अरुको हालत के होला ?
मन्टेश्वरी केन्द्रहरुप्रतिको यो कुनै पनि अपमान होइन, न त बदख्वाइँ नै हो । मात्र, बालबालिकालाई कारागृहमा गएको अनुभव हुनुहुँदैन भन्नेमात्र हो । मन्टेश्वरीमा पठाउने सवालमा केही कुरा अवश्य पनि विचारणीय छन् । सबैभन्दा पहिले बच्चालाई रूचिकर लाग्नुप¥यो । कम्तीमा ३ वर्ष आमाले आपूmले हेर्ने, ३ वर्षपछि आवश्यक ठाने वा बच्चाले माने मन्टेश्वरीमा लाने र ४ वर्षपछिमात्रै विद्यालयमा शिशुकक्षामा भर्ना गर्ने गर्नु उपयुक्त हुन्छ । मन्टेश्वरीमा यदि बच्चा रमाएको छ भने वा आमाबाबुलाई बिर्सिएको छ, वा घरमा म मन्टेश्वरी जान्छु भनेर भनेको छ भने राम्रो कुरा हो, तर पनि उसलाई त्यहाँ पढाउने र जान्ने बनाउने होइन खेल्न, रमाउन र रमाएर सिक्न प्रेरित गर्नुपर्दछ ।
पढ्न थालेपछि बोझ
हेर्नुस् त, हाम्रा बालबालिकाले कति ठूलो भारी बोकेर विद्यालय जान्छन् ! चार वर्षको बच्चाले ४ किलोभन्दा ठूलो झोलाको भारी बोकेर स्कुल जानुपर्छ । विद्यालयहरुले कति धेरै पाठ्यपुस्तक बोकाउन बाध्य पारेका छन् ! प्रकाशन गृहबाट विभिन्न लाभ ग्रहण गर्ने नाममा चाहिने नचाहिने पुस्तक र सन्दर्भ सामग्री किन्न बाध्य पार्ने र विद्यार्थीलाई बोकेर सधैँ विद्यालय जानुपर्ने बनाएर कति ठूलो अपराध गरिएको छ ! मलाई त रून मन लाग्छ, धन्न हाम्रा बालबालिका बलिया छन् र बोक्न सकेका छन् ।
आजभन्दा ३५ वर्षअगाडि पनि मलाई विद्यालय जान मन लाग्थेन । सधैँ रूँदै जान्थेँ । जान नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । म मात्रै होइन, तपाईं पनि खुसी भएर पक्कै जानुभएन होला, होइन र ? विद्यालय बिदा कहिले होला भनेर बिदा हुने दिन गनेर बस्थ्यौँ । आज पनि के हाम्रा बालबालिकाको त्योभन्दा फरक अवस्था छ र ? हाम्रा छोराछोरी पनि खुसी भएर, रमाएर दिल खोलेर पढ्न कहाँ जान्छन् र ? कहिले बन्द होला, कहिले बिदा होला र स्कुल जान नपर्ला भनेर हिजोका हामीजस्तै हाम्रा बालबालिका पनि बस्छन् । शिक्षक कर्मचारीमा त झन् बन्द भइदिए पढाउन पर्थेन, बिदा भइदिए हुन्थ्यो, स्कुल जान नपरे हुन्थ्यो भन्ने प्रवृत्ति अरु बढेर गएको छ । स्कुल त जाऊँजाऊँ लागोस् न, पढूँपढूँ लागोस् न ! तर दुर्भाग्य ! कथित आधुनिक शिक्षाले पनि पढाइप्रति बालबालिकामा आकर्षण पैदा गर्न सकेन ।
यस्तो नीरस छ कि पढाइ के भन्नु ! हाम्रा बालबालिका स्कुल जान सुरू गरेपछि तिनले कहिले सुख पाउलान्, विचार गर्नुस् त ! मोजभन्दा धेरै बोझ महसुस गर्छन् । जिन्दगीभरि त आखिर बोझ बोक्नु नै त छ, तिनले । त्यो बोझ तपाईंले दुई वर्षदेखि नै आफ्ना बाबुनानीलाई बोकाउन किन चाहनुहुन्छ ? कम्तीमा चार वर्ष त उसलाई मस्तले रमाउन दिनुस् न ! तपाईंसित जति लडे पनि लडोस्, जति झगडा गरे पनि गरोस्, जति दुःख दिए पनि देओस् । चार वर्ष त झेल्न तयार हुनुस् न । ऊ घरको आँगनमा बिठ्याइँ गरेर दौडियोस्, अनि तपाईं उसलाई समाउन भनेर उसका पछिपछि दौडिनुस् । अहा, कति राम्रो दृश्य ! सम्झँदै कस्तो आनन्द ! आमाछोरा वा बाबुछोरीको यो दौडादौडीभन्दा ठूलो कुनै मन्टेश्वरी हुन सक्छ ? बाबाआमाको अगाडि घरको आँगनमा दौडँदादौडँदै उसले धेरै कुराहरु सिक्ने अवसर पाउँछ । उसको आत्मबल बढ्छ, निर्धक्क हुन जान्दछ । उसको गतिशीलता नजानिँदो तरिकाले विकसित हुन्छ ।
कति मीठो कृष्णको बिठ्याइँ !
बालबालिकाको दुःखबाट आत्तिएर तिनलाई लखेट्ने होइन, तिनको बिठ्याइँमा रमाउने हो । त्यो बालबिठ्याइँ कम्ती मीठो हुँदैन । कृष्णले सानोमा दही चोरेको, दूध चोरेको, बिठ्याइँ गरेको र आमा यशोधालाई सताएको कथा के नमीठो छ र ? त्यो त कथामात्रै थियो र पनि हामी सुन्दा आनन्दित हुन्छौँ । हामीकहाँ त साक्षात् कृष्णहरु छन्, तिनले सताउँदा किन दुःखी हुने ? तपाईंले पनि यशोधा भनेर दण्डित गर्नुप¥यो, वसुदेव बनेर अभिभावकत्व ग्रहण गर्नुप¥यो, तब न आनन्द !
चार वर्षसम्म घरमा आमासित रमाएको बच्चा त्यसपछि विद्यालय जाँदा परिपक्व भएर जान पाउँछ । उसलाई कुनै मन्टेश्वरीमा हाल्नुपर्ने अवस्था नै आउँदैन । तर, मन्टेश्वरीको मर्म, उनको शिक्षणविधि, उनको आँखाबाट बालबालिका र तिनको सिकाइलाई अझ प्रभावकारी बनाउने कला हामी अभिभावकले पनि सिक्नु, जान्नु, बुझ्नु अत्यन्त आवश्यक छ । आमाको काखभन्दा सुन्दर मन्टेश्वरी अर्को केही हुन सक्दैन ।
बच्चासितको आनन्द अतुलनीय
बालबालिकाले समयसँगै आपैmँ सिक्दै जान्छन् । हामीले उनीहरुका लागि उपयुक्त वातावरण बनाइदिनेमात्रै हो । दुई वर्ष भएको छैन, वरपर छिमेकीको भन्दा मेरो बच्चा जान्ने बनाउँछु र छिटो पढाउँछु भन्ने सोचेर साना बालबालिकालाई घरबाट लखेट्नु वा मुन्ट्याउनु कत्तिको ठीक हो, स्वयम् विचार गरौँ । कम्तीमा चार वर्ष घरमै राख्ने हो, घरमै सिकाउने हो, घरमै हुर्काउने र बढाउने हो । घरमा सिकाउन पर्ने कति कुरा छन् छन् । तपाईंसितै खेतमा लिएर जानुस् । आपूmले गरेका कुरा देखाउनुस् । खेल्नुस्, खेलाउनुस् । तपाईंको बच्चासित रमाउँदा तपाईंले जुन आनन्द, मस्ती र दिव्यता महसुस गर्नुहुन्छ, ल भन्नुस्, त्यो अन्त कहाँ पाउनुहुन्छ ? छ कतै ? कुनै रक्सीले दिन्छ ? कुनै सुर्ती–चुरोटले दिन्छ ? कुनै परिकारले दिन्छ ? के कुनै भोगभोगान्तरबाट पाइन्छ ? कदाचित् सम्भव छैन ।
तर, यो आनन्द तपाईं र तपाईंको बच्चा परस्परमा सँगै हुँदामात्रै सम्भव छ, अलग भएर होइन । तपाईंको बच्चा तपाईंसित खेल्दा जति खुसी हुन्छ, अन्त हुँदैन । तपाईं पनि बच्चासित खेल्दा जति खुसी हुनुहुन्छ, अन्त हुनुहुन्न । यस्तो आनन्द कुनै पनि बहानामा गुमाउनुहुँदैन । कम्तीमा ४ वर्ष त रमाउनुस् । उसलाई जिस्क्याउनुस्, जिस्किनुस्, हाँस्नुस्, हँसाउनुस् । मनभरिभरि उसको निश्छल स्नेह प्राप्त गर्नुस्, उसलाई पर्याप्त आडभरोसा र ढाडस प्रदान गर्नुस् । पछि बालबालिका ठूला भएपछि न तिनलाई काखमा लिन सजिलो हुन्छ, न ती काखमा आउन नै चाहन्छन् । पछि थक्कथक्क हुन्छ । समय छँदै हो, तिनलाई काखमा लिने, रमाउने, खुसी हुने । जागिर, काम वा व्यवसाय जे छ, त्यो र बाबुनानीलाई हेर्ने तथा उनीहरुसित बिताउनुपर्ने समयबीच तालमेल मिलाऊँ । हामी पनि रमाऔँ, बालबालिकालाई पनि प्रसन्न तुल्याऔँ ।
(देवघाटधाम, चितवन ।)