हेटौँडा । मकवानपुरका स्थानीय तहले ३ दिनभित्र आफ्नो स्थानीय तहभित्र बाढीपहिरोले भएका क्षतिका विवरणहरु जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाउनुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
समितिले प्रशासनमार्फत मृतक परिवारलाई संघीय सरकारले दिने १ लाख र घाइतेको उपचार खर्च बिलअनुसार दिने निर्णय पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लामा हालसम्म बाढीपहिरोको कारण ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यस्तै, समितिले स्थानीय तहहरुलाई बस्ती स्थानान्तरण गर्नुपर्ने भएता पनि तुरून्तै प्रशासनलाई खबर गर्न निर्देशन दिएको छ । हालसम्म मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको दमारका ७ घरलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
मकवानपुर गढी गाउँपालिकाका केही बस्तीमा हेटौँडा सिमेन्ट खानीका कारण जोखिम रहेता पनि गाउँपालिकाले सिफारिस गरेपछि तुरून्तै स्थानान्तरण गर्ने प्रजिअ तामाङले बताए ।
समितिको बैठकले विद्युत्को नियमित आपूर्ति तथा पोलको विषयमा विद्युत् प्राधिकरण, इन्टरनेट र सञ्चारमाध्यमको अवस्थाको विषयमा नेपाल टेलिकमसँग, सडक सञ्चालनको डिभिजन सडक कार्यालय, खानेपानीको वितरणका लागि डिभिजन खानेपानी कार्यालयसँग छलफल र आवश्यक निर्देशन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आकस्मिकरुपमा राहत र त्रिपालहरुको व्यवस्थासमेत गरेको समितिले जनाएको छ ।