काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीले पूर्व समझदारीअनुसार सम्मानजनकरूपमा मन्त्रालयको बाँडफाँट गर्न नेपाली काँग्रेस तयार नभए आफू प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बिहीबार बसेको बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी नदिएसम्म सरकारमा सहभागी नहुने अडान कायमै रहेको निर्णय गरेको सचिव युवराज ज्ञवालीले बताउनुभयो ।
उहाँले बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबै नेताको एक मुख र एकै अडान रहेको भन्दै अब सरकारतिर चासो नदिई एमाले प्रतिपक्षमा रहेर संविधान लेखन्मा ध्यान दिन तयार रहेको बताउनुभयो ।
सभासद् ज्ञवालीले भन्नुभयो, ‘काँग्रेससँग गत माघ २६ मा गरिएको सातबुँदे सहमतिको कार्यान्वयनबारे विस्तृत समीक्षा गरियो, समझदारीअनुसार मन्त्रालयको वितरण नहुँदासम्म हामी सरकारमा नजाने अडान कायम राख्ने निर्णय भयो ।’ बैठकले पार्टीको नवौंँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख ९ गतेको सट्टा जेठ ३ गतेदेखि गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ । एमाले केन्द्रीय कमिटीको बैठक यही फागुन १० गते बस्दैछ । रासस
Discussion about this post