लामो खडेरीपश्चात् गत बिहीबारदेखि मनसुन सक्रिय भएपछि देशभर अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । खासगरी नेपालको पूर्वी तथा मध्य भूभागहरुमा बाढीपहिरोको प्रकोप बेस्मारी बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ६० जनाले ज्यान गुमाइसकेका छन् । बाढीपहिरोबाट डोल्पा, सिन्धुली, इलाम, मोरङ, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा गरी २६ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेकोले मृत्यु हुने तथा बेपत्ता हुनेको संख्या अझै बढ्ने देखिएको छ । यस विपद्मा हजारौँको संख्यामा प्रभावित र विस्थापित हुन पुगेका छन् । अविरल मनसुनी वर्षाका कारण जनजीवन सकसपूर्ण बनेको छ । खासगरी पूर्वी र मध्यभागका नदीनालाको जलसतह बढेर सतर्कताको बिन्दु पार गरिसकेका छन् । कतिपय ठाउँमा सडक भासिएको छ, पुलहरु भत्किएका छन् भने कतै पहिरोका कारण राजमार्ग अवरुद्ध बनाएको छ । सडक र पुलमा नै क्षति पुगेपछि जनतालाई कष्ट भएको छ ।
बाढीपहिरोबाट प्रभावित ठाउँमा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएका कारण महोत्तरीमा ५००, रौतहटमा २००, काठमाडौँमा १८५, सर्लाही १००, सिन्धुलीमा ७०, सप्तरीमा २५, उदयपुरमा १०, ललितपुरमा आठ, सिरहामा दुई तथा खोटाङ, सुनसरी, भक्तपुर र मकवानपुरमा एक÷एक जना गरी ११०४ जनाको सुकशल उद्धार गरिएको छ । अझै विभिन्न स्थानमा सडक÷बाटोको अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । विश्वमा नेपाल प्राकृतिक प्रकोपको ३०औँ उच्च जोखिममा रहेको मुलुकभित्र पर्दछ । प्राकृतिक प्रकोपका कारण मुलुकको कुल ग्राहस्थ उत्पादनको करिब दुई प्रतिशत अर्थात् बर्सेनि ६० अर्ब रुपैयाँको क्षति हुने गरेको छ । प्रत्येक वर्ष ५०० भन्दा बढी विपद्का घटना हुने गरेका छन् । बर्सेनि सयौँको संख्यामा प्राकृतिक विपद्का कारण ज्यान गुमाउँदै आएका छन् । ७७ जिल्लामध्ये कुनै पनि जिल्ला विपद्को जोखिममुक्त रहन सकेको छैन । विषम भू–बनोट, कमजोर भौगोलिक तथा भौगर्भिक अवस्था, मौसमी विषमता तथा जलवायु परिवर्तनका कारण झनै जोखिम बढाएको छ । जनसंख्या वृद्धि, गरिबी, अव्यवस्थित बसोबास, अव्यवस्थित सहरीकरण र जोखिमप्रति संवेदनशील नहुने प्रवृत्तिका कारण विपद्ले विनाश गर्ने गरेको छ ।
बाढीपहिरोको विपत्तिमा परेका मानिसको लागि तत्काल भोक र प्यास मेटाउने सामग्री उपलब्ध गराउनु पहिलो आवश्यकता देखिएको छ । प्रभावित तथा विस्थापित भएकाहरुलाई सुरक्षित आवासको व्यवस्था मिलाउनु उत्तिकै जरूरी हुन्छ । बर्सेनि दोहोरिने प्राकृतिक प्रकोपलाई टार्न त सकिँदैन । तथापि उच्च संवेदनशीलता अपनाउन सके अकालमै कसैले ज्यान गुमाउनु पर्दैन । जथाभावी प्राकृतिक स्रोतसाधनको दोहन र विकास निर्माणका कारण हुने भौगोलिक, प्राकृतिक अवस्थाको विचलनले जोखिम बढाएको हो । पहाडी क्षेत्रमा भौगोलिक अवस्थाको ख्यालै नगरी जथाभावी डोजर चलाएपछि पहिरोको जोखिम अत्यधिक बढेकोमा कुनै द्विविधा छैन । राज्यले प्राकृतिक स्रोतसाधनको दिगो उपयोग र प्राकृतिक प्रकोपका घटनालाई विकास कार्यमा मूलप्रवाहीकरण गर्नु उत्तिकै आवश्यक छ । यसका अतिरिक्त प्राकृतिक प्रकोपको पूर्वानुमान, पूर्वतयारी र प्रकोपपछिको उद्धार, राहत र पुनर्निर्माणमा प्रभावकारिता बढाउन सक्नुपर्छ । जोखिमयुक्त स्थानको पहिचान गरी ती स्थानमा पूर्वसावधानी अपनाउने हो भने क्षति कम गर्न सकिन्छ । अहिले बाढीपहिरोको जोखिमबारे सतर्कता अपनाउँदै प्रभावितहरुलाई खाद्यान्न, लत्ताकपडा, सुरक्षित बास, औषधि उपचार, शुद्ध पिउनेपानीलगायतका अत्यावश्यक सहयोग गर्न राज्यका अतिरिक्त सबै मुलुकवासीले हरसम्भव मानवीय सहयोग गर्नु अपरिहार्य देखिएको छ ।