–केशव भट्टराई
वीरेन्द्रनगर । सामाजिक सञ्जाल फेसबुकको प्रयोग विश्वव्यापी बनिसकेको छ । कतै यसको प्रयोग बरदान सावित भएको छ । कतिलाई यसको दुरूपयोगले बर्बादसमेत बनाइदिएको छ । यसको बढ्दो दुरूपयोगका कारण कसैको घरबार लथालिङ्ग बनाइदिएकोे र परस्पर सम्बन्ध टुटाइदिएकोे खबर बेलाबेलामा सार्वजनिक भइरहन्छ ।
तर, यतिबेला भने चितवनमा चौध वर्षदेखि हराएका एक व्यक्तिलाई फेसबुकले खोजी गरिदिएको छ । वीरेन्द्रनगर–३ खुरखुरेका यज्ञप्रसाद कँडेललाई फेसबुकको माध्यमबाट सम्पर्कमा ल्याइदिएपछि उनको परिवारमा अहिले खुसीयाली छाएको छ ।
विवाहलगत्तै सन् २००१ मा वैदेशिक रोजगारको सिलसिलामा मलेसिया गएका यज्ञप्रसाद ६ महिनापछि सम्पर्कविहीन थिए । सन् २०१४ मा फेसबुकको साहाराले यज्ञप्रसाद हालै थाइल्याण्डमा रहेको यकिन भएको छ । पैसा कमाउन गएका यज्ञप्रसाद मलेसिया जाँदा उनकी श्रीमती सावित्रीसँग पाँच महिनाको छोरो थियो । छोरो छाडेर गएका श्रीमान्ले पैसा कमाएर ल्याउने आशामा रहेकी सावित्री र बाबुको मुख देख्न नपाएको उनको छोरा अहिले १३ वर्षका तन्नेरी भइसकेका छ ।
अहिले यो परिवारमा अभूतपूर्व खुसीयाली छाएको छ । यज्ञप्रसादकी आमा जानुकाले आफ्नो छोरा भेटाइदिने प्यारो फेसबुकलाई धन्यवाद दिँदै भनिन्– ‘छोराको आस मारिसकेका थियौँ, अहिले फेसबुकले छोरा भेटाइदिएको छ । हाम्रो दुःख–पीडा सबै हटेजस्तै भएको छ । फेसबुकमा छोराको फोटो हेरेपछि मलाई भित्रैदेखि खुसी लागेको छ ।’
यज्ञप्रसाद ऋण खोजेर मलेसिया गएका थिए । तर, उनले गएको पैसासमेत घरमा पठाउन सकेनन् । परिवारलाई पैसाभन्दा पनि उनी मह¤वपूर्ण थिए । त्यसका लागि परिवारले धेरै वर्ष उनको खोजी ग¥यो । मलेसिया गएका नेपालीहरुसँग छोराको बारेमा खोजी गरे पनि उनी कतै भेटिएनन् ।
मलेसियामा बस्ने नेपालीहरुले उनको खोजीमा जुटे पनि उनको बारेमा केही पत्तो लागेन । कँडेल परिवारले उनको खोजी गर्न कुनै ठाउँ बाँकी राखेन । उनको खोजीमा लाखौँ खर्च भयोे । धेरै वर्ष उनको पर्खाइमा आँसु बगाए परिवारले तर, उनको कुनै खबर आएन । अन्ततः परिवारले उनको आस मारे ।
यज्ञप्रसादकी श्रीमती सावित्री यतिबेला दंग परेकी छिन् । छोराको मुख हेरेर जीवन व्यतित गरिरहेकी उनलाई श्रीमान्को आस मरिसकेको थियो । उनी भन्छिन– ‘यतिका वर्षसम्म श्रीमान् मरे बाँचेको कुनै पत्तो लागेको थिएन । केही वर्ष त एकदिन फर्केर आउनुहुन्छ जस्तो झिनो आशामात्र लागेको थियो । पछि बाँचेको भए त खोजखबर गर्नुपर्ने भन्ने ठानेर परिवारका सबैले फर्केर आउने आशा मारिसकेका थियौँ । अहिले श्रीमान्लाई देख्न पाउँदा खुसीको सीमा नै छैन ।’
श्रीमान्को पत्तो लागेपछि सावित्रीले फेसबुकमार्फत् सम्पर्क नम्बर लिएर श्रीमान्लाई फोनसमेत गरिसकेकी छन् । सावित्रीसँगको फोन संवादमा यज्ञप्रसाद पनि खुसी भएका छन् । उनले एक वर्षपछि घर आउने आश्वासन परिवारलाई दिएका छन् ।
मलेसियामा पाँच लाखभन्दा बढी नेपाली कामदार भएको अनुमान गरिएको छ । जसमध्ये ५० हजारभन्दा बढी नेपाली गैरकानुनी ढंगले बसोबास गरिरहेको खबर सार्वजनिक हुने गरेको छ । यज्ञप्रसाद मलेसियामा गएपछि उतै एउटी थाइ युवतीसँग प्रेममा परेका थिए । अहिले उनी ती थाइ युवतीसँग थाइल्याण्डमै घरजम गरिरहेका छन् । उनले थाइल्याण्डकै नागरिकता लिइसकेका र थाइ श्रीमतीसहित करिब ११ वर्षकी छोरीसमेत रहेको कँडेल परिवारले जनाएका छन् ।
यज्ञप्रसादका घर परिवारले विदेशी युवतीसँग घरजम गरेको जानकारी पाए पनि कुनै दुःख मनाउ गरेका छैनन् । आश मारेको सदस्य सकुशल रहेको खबर थाहा पाउनु नै उनको परिवारले खुसी मानेका छन् । उनीहरुलाई सामाजिक सञ्जालबारे खासै चासो छैन । तर, भन्छन्, ‘धन्यवाद फेसबुक, तिम्रो जय होस् ।’
Discussion about this post