रत्ननगर । गामवेसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माण सुरू गरिएको छ । रत्ननगर–१० मंगलपुरमा केन्द्रको २ कोठे भवन निर्माण गर्न लागिएको हो । पञ्चकन्या सामुदायिक वन र पञ्चतेजज्योति राप्रावि विद्यालयले प्रदान गरेको जग्गामा भवन निर्माण कार्य सुरू गरिएको छ ।
केन्द्रका अध्यक्ष केपिकिरण शर्माले शिलान्यास गरी बुधबारदेखि भवन निर्माणको काम सुरू गरिएको बताइएको छ । दुई कोठे भवन निर्माण गर्न ७ लाख खर्च लाग्ने अनुमान गरिएको भए पनि केन्द्रसँग अहिले १ लाख ७५ हजार रुपैयाँ मात्र रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जिवा लामिछानेले दिएको १ लाख र इजरायलबाट पारु लोहारले संकलन गरी पठाएको रमकमात्र केन्द्रमा रहेको उहाँले जानकारी दिनुभयो । केन्द्रमा ५७ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । यसैबीच संरक्षण केन्द्रमा आश्रित बालबालिकालाई नवलपरासीको कावासोतीमा रहेको सत्यसाई केन्द्रले कपडा र स्टेशनरी सहयोग गरेको छ ।
सत्यसाई केन्द्रका पदाधिकारी तथा सदस्यहरु गामवेसीको संरक्षण केन्द्रमै पुगेर कपडा र स्टेशनरी हस्तान्तरण गर्नुका साथै बालबालिकालाई भोजन समेत गराएका थिए । सत्यसाई केन्द्रका अध्यक्ष मेहन्दी गुरूङ र उपाध्यक्ष जनकराज कँडेलसहितको टोलीले बिहानको एक छाक आफँैले पकाएर तथा बेलुकाको छाक पनि व्यवस्था गरेको संरक्षण केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
Discussion about this post