– डा. धनपति कोइराला
गत पौष मासको धान्यपूर्णिमाका दिन थियो । निबन्धकार तथा चितवन पोष्ट दैनिक सम्पादन गर्ने पत्रकार सङ्गीत आयामको निम्तोमा जिल्ला शिक्षा कार्यालय चितवनको सभाकक्षमा म पनि भएको थिएँ सामेल । चर्चा चलेको थियो, शैक्षिक गुणस्तर खस्नुका कारण तथा सुधारका उपायहरुको खोजी । यसमा उपस्थित यो पङ्क्तिकारसहित विभिन्न व्यक्तित्वहरुबाट प्रायः रचनात्मक सुझाव नै आए । अधिकांशका भावहरु थिए, सार्वजनिक बिदामा गरिनु पर्ने कटौती । यसलाई अझ जनसमक्ष लैजान आवश्यक लाग्यो र लामो अन्तरालपछि आज छोटो समय जुटाएर यसलाई बहसार्थ प्रस्तुत गर्ने जमर्को मात्र हो यो मेरो ।
दिनहुँ काम, अझ त्यसमा पनि दिनका २४ घन्टामध्ये १८ घन्टासम्म काम । मेसिनझैँ लगातार रुपमा जुट्ता शारीरिक श्रम गर्ने होस् वा मानसिक, मान्छे पक्कै थाक्छन्, लखतरान् पर्छन् र अपेक्षाकृत काम गर्न सक्तैनन् । कामको गुणस्तर र प्रभावकारितामा पनि नकारात्मक प्रभाव पार्छ यसले । पक्कै पनि बिदा आवश्यक हुन्छ र यसले भोलिपल्टको काममा गतिशीलता र प्रभावकारिता थप्छ । यसर्थ, बिदा काममा पुनर्ताजगी ल्याउने एउटा मह¤वपूर्ण प्रविधि पनि हो र साथसाथै पारिवारिक सुमधुर सम्बन्ध कायम राखिरहने एवम् यसको सुव्यवस्थापन गर्ने एउटा मह¤वपूर्ण कडी पनि हो, व्यस्त मानिसका लागि ।
अमेरिकामा तरलताको अभावका कारण वित्तीय सङ्कट पैदा हुँदा कर्मचारीलाई लामो पारिवारिक जीवनयापन गर्ने गरी दिइएको थियो बिदा । यसपछि लामो त्यो बिदा मनाएर फर्केका कर्मचारीहरुको कामको गतिशीलता र गुणस्तरीयता मापन गरिँदा निकै उत्साहजनक परिणाम प्राप्त भएको तथ्य सार्वजनिक भएको थियो । इराक र अफगानिस्तान युद्धको मोर्चामा खटिएका सेनाहरुलाई लामो समयसम्म बिदा नदिइँदा उनीहरुमा चरम तनाव पैदा भई कोही मनोरोगी र कोही आत्महत्या गर्ने भयावह स्थितिमा पुगेको सञ्चारमाध्यममा आएको थियो । यही रीति अन्य देशका सेना, प्रहरी, मजदुर वा तमाम कर्मचारीहरुमा पनि लागू हुन्छ नै ।
अर्को पृथक् सन्दर्भ पनि छ । जब नागरिकको मानसपटलमा कर्म नै ईश्वर हुन् । उनको सेवा भनेकै सत्कर्म हो, राष्ट्रसेवा हो र यो नै वस्तुतः ईश्वरत्व प्राप्तिको मुख्य साधन हो एवम् आप्mनो अस्तित्वको द्योतक पनि हो भन्ने संज्ञान पाएका जापानी नागरिकहरुले दोस्रो विश्वयुद्धपछि युद्धमनोविज्ञान त्यागेर जब औद्योगिक क्रान्तिमा प्रवेश गरे, तब जापानले प्रविधिका क्षेत्रमा ठूलै फड्को मा¥यो । ऊ छिट्टै विकसित राष्ट्रको लहरमा पुग्न सफल भयो पनि । जापानमा प्रहरी प्रशासन छ । अभियुक्तलाई दण्डसजाय पनि दिइन्छ तर नेपाल, भारत आदि देशमा जस्तो होइन । हिरासत वा कारागारमा राखिएको अभियुक्त वा कैदीलाई काम त के सिन्को भाँच्न पनि दिइन्न, बरू चुपचाप थुपुक्क बस्न लगाइन्छ । यही नै हो, उनीहरुका निम्ति कडा सजाय । चाहे त्यो जस्तोसुकै काम नै किन नहोस्, उनीहरु शयन र भोजन अवधिबाहेक कामै नगरी त्यसै फाल्तु भएर बस्नै सक्तैनन् । कामै नगरी बस्नुलाई उनीहरु घोर अपमान सम्झन्छन् । उनीहरुका दृष्टिमा कर्म नै ईश्वरको पूजा हो र ईश्वरत्व प्राप्तिको माध्यम पनि । यसबाट वञ्चित हुनु उनीहरुका निम्ति जिउँदो लाससरह हुनु हो । हुन पनि यो अनन्त श्रमसेवा र समर्पणकै कारण उसले त्यो ऐश्वर्य र वैभव हासिल गर्न सकेकोमा द्विविधा छैन पनि ।
यी दुवै प्रसङ्गहरु कर्मनिष्ठ छन् । अघिल्लोमा विश्रामलाई अपरिहार्य ठानिएको छ, तर दोस्रोमा छैन । दुवैमा निरन्तर साधना र तपस्यामाथि जोड दिइएको छ । हो, पहिलोले शरीरमनोविज्ञानमाथि ध्यान पु¥याएको छ तर दोस्रो प्रसङ्गले अटुट साधनालाई मात्र । दुवै क्षेत्रमा विकासको गति तीव्रतर छ र त्यो रचनात्मक पनि । बिदा लिएर वा नलिएर गरिएको होस्, दुवैको कर्ममा दुभाग्र्यपूर्ण नियत छैन । राष्ट्रप्रति इमानदारिता र जनतामाथि जवाफदेहिता छ र दुवै विकासको त्यो उचाइमा पुगेको तथ्य घामझैँ छर्लङ्गै छ ।
नेपालको सन्दर्भमा यी दुवै बिम्ब छैनन् । मात्र छ, आरामवादिता र विलासिता । कामचोर र ठगमनोविज्ञान । भनिन्छ– बिदा सुविधाका लागि मात्र हो, अधिकारचाहिँ होइन तर यहीँ विरोधाभास छ– भनाइ र गराइ दुवैमा ठीक उल्टो । कानुनतः क्यावि, पवि र विवि छ भने कसरी भयो सुविधामात्र ? अर्को कुरा बर्खे बिदा, हिउँदे बिदा, गर्मी बिदाजस्ता लामो बिदाहरुको त लामै शृङ्खला छ हामीकहाँ ।
चाडपर्वका रुपमा आउने दसैँ–तिहार, जनैपूर्णिमा, छठ, ल्होसारहरु, माघी, बुद्धपूर्णिमा, बकरइद, इदुलफित्र, क्रिसमस, घोडेजात्रा, इन्द्रजात्रा, तीज, पञ्चमी, वसन्तपञ्चमी, महाशिवरात्रि, कृष्णाष्टमी, ठूलो एकादशी आदि र राष्ट्रिय पर्वका रुपमा सहिद दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, शिक्षा दिवस आदि एवम् राष्ट्रिय तथा स्थानीय व्यक्तित्वहरुको निधनमा हुने शोकबिदाहरु । शिक्षण संस्थाहरुमा हुने विद्यार्थी–शिक्षक, पूर्वशिक्षक, पूर्वप्रअ आदि, वर्तमान तथा पूर्वसमिति अध्यक्ष तथा सदस्यहरुको निधनमा हुने शोकबिदा आदि र विभिन्न राजनीतिक दलहरुका बन्द, हड्ताल चक्काजामबाट आमरुपमा हुने बिदाहरु र नियमित रुपमा हुने शनिवासरीय सार्वजनिक बिदाहरु ।
यसबाटै आँकलन गर्न सकिन्छ– हाम्रो मुलुकमा सरकारी, अर्धसरकारी, संघसंस्था तथा औद्योगिक प्रतिष्ठानहरुमा कति काम हुन्छ भन्ने । यसको प्रत्यक्ष प्रभाव दैनिक जनजीवनमा परिरहेको छ । विकास निर्माण र औद्योगिक क्षेत्रमा पनि त्यत्तिकै मात्रामा परिरहेको छ । अझ त्यसमा भन्दा पनि ज्यादा प्रभाव शैक्षिक क्षेत्रमा परिरहेको छ । कम्तीमा २८० दिनभन्दा अधिक दिन पढाइ हुनुपर्नेमा घटाएर २२० मा झारिएको छ । यसमा पनि यस्ता खाले अनन्त बिदा र बन्दले जम्माजम्मी १८० दिन पनि मुस्किलले मात्र पुग्छ । त्यसैभित्र ३ वटादेखि चारवटा परीक्षाहरु भर्ना आदि कार्यक्रममा नै खर्च हुन्छन् । पाठ्यक्रमले निर्देश गरेबमोजिमको पाठ्यभारअनुरुप पठनपाठन गर्ने भन्ने कुरा त आकाशमा पूmल फुलाउनु अनि खरायोमा सिङ उमार्नुजस्तै हो । अझ त्रिवि तथा पूवि, नेसंविहरुको चर्चा के गर्नु ! जहाँ न शैक्षिक क्यालेन्डर छ, न कुनै कार्यक्रममा समयगत नियमितता नै छ । त्यसभित्रको चर्चा गर्नु माथि फर्केर थुक्नुजस्तै ठान्दछन् विद्वान्हरु पनि । ‘करायो करायो दक्षिणै हरायो’ जस्तै छ भनेर पनि नलाग्ने । यी विश्वविद्यालयहरुमा यदाकदा ८ महिनाभित्र बोर्डको परीक्षा हुन्छ, तर परिणाम आउन भने यदाकदा १६ महिनासम्म कुनुपर्ने बाध्यता छ ।
यी ढिलासुस्तीमा एकातिर बिदा मनोविज्ञान र अर्कोतिर हेपाहा मनोविज्ञान हाबी छ । जहाँसम्म उच्च माध्यमिक तहको शैक्षिक क्यालेन्डरको सवाल छ, यसले भने कम्तीमा शैक्षिक क्यालेन्डरचाहिँ दिएको छ र यसलाई अनुसरण गर्ने प्रयत्न गरेको छ र यो माध्यमिक तहसम्म पनि सुचारू छ । तर, पठनपाठनमा भने दुईतिहाई बिदाको व्यापक असर त्यहाँ पनि प्रत्यक्ष रुपमा परेको छ ।
फलतः पाठ्यक्रमले तोकेको विषय र सीप प्रदान नै गर्न नसकिरहेको सन्दर्भमा कसरी राज्यले राखेको विषयगत, कक्षागत, तहगत सिकाइ उपलब्धि हासिल हुन सक्छ ? सिकाइ उपलब्धि नै हासिल नभइरहेको अवस्थामा कसरी गुणस्तरीय दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ ? फलतः यसको असर एसएलसीको नतिजामा देखा पर्दछ । त्यसबेला आंशिक रुपमा खोजीनीति हुन्छ । वक्तव्यबाजी हुन्छ । पत्रपत्रिकाहरुमा व्यापक आलोचना र टीकाटिप्पणी पनि हुन्छन् र मानसिक तथा कागजी योजना पनि बन्छन्, तर कार्यान्वयनमा चाहिँ फेरि पनि शून्य नै । पुनः उही बन्द, अधिकतम बिदा, पाठ्यपुस्तक आदिको अभाव, परीक्षा प्रणाली, परीक्षण प्रणाली, उस्तै नतिजा प्रकाशन आदि कार्यको पुनरावृत्ति हुन्छ र फेरि पनि केही दिन शिक्षक, शिक्षानीतिमाथि वक्तव्य, टीकाटिप्पणी, आलोचना–प्रत्यालोचना आदिको शृ«ङ्खला चल्छ ।
यसरी चल्दै आएको छ विसं १९९० देखि एसएलसी बोर्ड । बढ्दो क्रममा रहेको बिदा पद्धति र बन्द संस्कृतिले पारेको असरबारे खासै कहीँकतै बहस, छलफल, चियोचर्चो चलेको पाइँदैन । सायद, हामी सबै सुविधाभोगी बन्दै गएका छौँ र हामी आप्mनै हातखुट्टा बाँध्न चाहन्नौँ पनि, तर यसको प्रत्यक्ष असर हाम्रा सन्ततिमा पर्दैछ । यस विषयमा अब हामीले सोच्ने बेला आइसकेको छ ।
मलाई यहाँ मन्डेलाको निधनमा शोक मनाइरहेका दक्षिण अफ्रिकी जनताले कुनै प्रकृतिको एक दिन पनि बिदा नै नलिई आ–आप्mनो काममा कार्यरत नै रही शोक मनाएको बीबीसी नेपाली सेवाबाट प्रसारित अन्तर्वार्ता स्मरण भइरहेछ । नेपालमा भने यस्ता व्यक्तित्वको निधनमा कम्तीमा ३ दिन त बिदा नै दिने चलन छ । अर्को कुरा, जुनसुकै धर्मावलम्बी, जाति, सम्प्रदायहरुका पावन पर्वहरु हुन् यी पर्वहरु, पारस्परिक सद्भाव र भाइचाराका साथ अझ भव्य रुपमा मनाउनुपर्छ । तर, शैक्षिक संघसंस्थाहरु, अड्डाअदालत र विभिन्न विभागहरु बिदा गरेर होइन । बरू ती संस्थाहरुमा तत् चाडपर्व विषयक १–२ घन्टे परिचयात्मक कार्यक्रमहरु गरेर, बाँकी समय सदाझैँ आ–आप्mनो औपचारिक कार्य गरेर मनाउनु नै हितकारक हुन सक्छ । यसो गर्दा जुनकुनै धर्म, संस्कृति, चाडपर्व वा दिवसहरु हुन्, तीबारे बालबालिका तथा युवायुवतीहरुले जान्ने बुभ्mने अवसर मात्र पाउँदैनन्, त्यसको महिमा र गरिमालाई आत्मसात् गर्न पनि थाल्दछन् । एकले अर्कोको धर्म, संस्कृति र परम्परा आदि बुभ्mदा झन् राष्ट्रियता मजबुत हुन्छ । पारस्परिक प्रेम र सद्भाव बढ्दछ । आज बिदाहरु अनगिन्ती रुपमा भइरहँदा ती बिदाका सन्दर्भबारे सानादेखि ठूलासम्मलाई सोध्ने हो भने सायदै औँलामा गन्नेसम्मले एक वाक्य पूरा गर्न सकिएला ।
यस परिप्रेक्ष्यमा हेर्दा बिदा दिनुको के नै औचित्य रह्यो त ? यसर्थ, राष्ट्रिय चाडपर्व र संस्कृतिबारे उनीहरुमा जानकारी बढाउन र सकारात्मक बनाउन पनि बिदालाई रचनात्मक कार्यका साथै दैनिकी कार्यमा नै लगाइराख्नु उपयुक्त हुन सक्छ । अझ शैक्षिक संस्थाहरुमा त पाठ्यभार पनि पूरा हुने, परिमाणात्मक मात्र नभई गुणात्मक रिजल्ट पनि आउने एवम् सिकारूहरुमा रचनात्मक कार्य गर्न प्रेरित हुने भएकाले पनि बिदालाई व्यवस्थित गर्नु अपरिहार्य भइसकेको छ । यस्तो बिदा दिने प्रवृत्तिले बालमनोविज्ञानमा सकारात्मकभन्दा नकारात्मक असर नै पारिरहेको हुन्छ । यसर्थ, बिदालाई रचनात्मक कार्यमा केन्द्रित गरी यसलाई सुव्यवस्थित गर्दै जानु अपरिहार्य भएको छ भन्दा अर्घेलो नहोला कि भन्ने लाग्छ ।
मूलतः राज्यले राखेको शैक्षिक लक्ष्य तथा उद्देश्यहरु परिपूर्ति गर्न सर्वप्रथम बिदामा पुनरावलोकन गरी यसलाई व्यवस्थित गर्नु जरूरी छ । बन्द संस्कृतिको अन्त्य गर्न समग्र शैक्षिक क्षेत्र नै शान्तिक्षेत्र हुन् भन्ने मान्यता संविधानमै व्यवस्थित गर्नुपर्छ । अन्य सरकारी संघसंस्था तथा औद्योगिक प्रतिष्ठानहरुमा पनि आवश्यकतानुरुपबाहेकका दिनहरुमा रहेका बिदाहरुलाई कटौती गरी तिनलाई निर्माणात्मक काममा नै उपयोग गर्नु उपलब्धिमूलक हुन सक्छ । अमेरिकामा जस्तो नभए पनि हामीकहाँ हप्तामा नै आउने शनिवासरीय बिदाहरू छन्, तिनबाट शारीरिक तथा मानसिक पुनतार्जगी गर्न सकिने हुँदा यसलाई एक पटक राष्ट्रिय बहसको विषय बनाएर यसको पुनव्र्यवस्थापन गर्नु आवश्यक छ ।
Discussion about this post