भरतपुर । नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पर्साको ठोरीमा पनि भारतबाट अतिक्रमण प्रयास भएको बताउनु भएको छ ।
भरतपुरमा आइतबार पत्रकार सम्मेलनमा गजुरेलले झण्डै ३०० मिटर क्षेत्रफल अतिक्रमणको प्रयास हालै एसएसबीबाट भएको आरोपसमेत लगाउनुभयो ।
‘भारतीयहरुले अतिक्रमण गर्न खोजेका रहेछन्, स्थानीयले प्रतिरोध गरेर बचाए’, शनिबारमात्रै ठोरी पुगेर फर्किनु भएका उपाध्यक्ष गजुरेलले भन्नुभयो, ‘राष्ट्रियता र सीमा सुरक्षाका लागि गोलबद्ध हुन आग्रह गर्दछु ।’
हतियारसहित भारतीय सेना नेपाली भूमिमा प्रवेश गर्नु नेपालका लागि दुःखद कुरा भएको बताउँदै उहाँले त्यसका विरूद्धमा एकजुट हुन सबैमा आग्रह पनि गर्नुभयो ।
‘ठोरीमा अहिलेसम्म सीमा विवाद देखिएको थिएन, तर समस्या जटिल रहेछ’, गजुरेलले थप्नुभयो, ‘भारतले अतिक्रमण गर्नुले राष्ट्रिय स्वाधिनता थप सङ्कटमा परेको महसुस हामीले गरेम् ।’
ठोरीमा झण्डै ३०० मिटर क्षेत्रफल अतिक्रमणको प्रयास भए पनि स्थानीय प्रतिरोध गरेर बहादुरी देखाएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । ‘नेपाली भूमिमा रहेको परेवा डाँडालाई आफ्नो कव्जामा लिने प्रयास भारतीयहरुको हो’, उहाँको थप भनाइ थियो, ‘नेपालीहरुले बहादुरी देखाएर भारतीय सुरक्षाकर्मी लखेटेछन् उनीहरुलाई हाम्रो सम्मान छ ।’
हतियारसहित भारतीय सेना नेपाली भूमिका प्रवेश गर्नु भनेको दुःखद कुरा भएको भन्दै राष्ट्रियताका लागि भारतीय राजदूतावास घेराउ गर्न सक्ने चेतावनी पनि उहाँले दिनुभयो ।
पर्साको सीमाक्षेत्र ठोरीमा शनिबार नेकपा माओवादीको स्थलगत निरीक्षण गरेको थियो । माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलसँगै, केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’, जिल्ला सेक्रेटरी गुणराज लोहोनी भारतसँग सीमा जोडिएको ठोरीमा गएर स्थलगत निरीक्षण गरी फर्किएको हो ।
पर्सासँगको सीमा जोडिएको ठोरीमा नेकपा माओवादीले स्थलगत निरीक्षण गरेको थियो । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलसँगै, चितवन माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, जिल्ला सेक्रेटरी गुणराज लोहोनी, माडी इलाका नम्बर १० र पत्रकारहरुको टोलीले भारतसँग सीमा जोडिएको ठोरीमा गएर स्थलगत निरीक्षण गरेका थिए ।
देशको राजनैतिक अवस्थाको प्रसङ्ग उठाउँदै उपाध्यक्ष गजुरेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच गृहमन्त्रालयको विषयमा विवाद हुनु घिउ बेचुवा र तरबार बेचुवाको मित्रताको संज्ञा दिँदै व्यग्य गर्नुभयो ।
उनीहरुको त्यही मित्रताको कारण अहिले गृहमन्त्रालयको विषयमा विवाद सिर्जना भएको उहाँको भनाइ थियो । उपाध्यक्ष गजुरेलले दलहरु आन्तरिक लडाइँमा फसेकाले समयमै जनताको संविधान नबन्नेसमेत ठोकुवा गर्नुभयो ।
कांग्रेस, एमाले र एमाओवादीले संविधान बनाउन कुनै चासो नदेखाउनुको पछाडि भारतीय प्रभाव रहेको गजुरेलको आरोप थियो । ‘नेपाली राजनीतिक दलले नभई विदेशीबाट पहिले नै तयारी संविधान आउनेछ’, उनले भने, ‘त्यसलाई जारी गर्नलाई मात्र कांग्रेस एमाले लागेका छन् ।’
उपाध्यक्ष गजुरेलले यथास्थितिवादीहरुले ल्याउने संविधान आफूहरुलाई मान्य नहुने बताए । विदेशीको इशारामा जारी हुने एक थान संविधान जारी भएकै दिन च्यातेर माओवादीले जलाउने उनले चेतावनी दिए ।
उपाध्यक्ष गजुरेलले राष्ट्रिय स्वाधिनता खतरामा परेकोले माओवादी निर्णयक आन्दोलनको आन्तरिक तयारी गरिरहेको बताए । राष्ट्रिय स्वाधिनता र जनजिविकाका समस्या समाधानका लागि फेरि एउटा आन्दोलन गर्नुपर्ने गजुरेलको भनाइ थियो ।
माओवादीले तत्काल हतियार नउठाउने भन्दै गजुरेलले अन्तिम विकल्पमात्र हिंसात्मक संघर्ष रहेकाले त्यसका लागि पनि पछि नपर्ने चेतावनी दिए । सत्ताको लुछाचँुडी गर्ने राजनैतिक दलले राष्ट्रिय स्वाधिनता रक्षा गर्न नसक्ने उनको भनाइ थियो । एकीकृत नेकपा माओवादी पनि कहिले सत्तामा पुग्ने भन्ने दाउमा रहेको बताउँदै जनयुद्धसँगै लडेको एमाओवादी अहिले सत्ता र स्वार्थमा फसेको आरोप लगाए ।
गुणराजको नेतृत्व[divider]
भरतपुर । गुणराज लोहनीको नेतृत्वमा नेकपा माओवादी चितवनको ६५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । रामपुरमा सम्पन्न सम्मेलनले २६ सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ ।
सम्मेलनको बन्दसत्रमा माओवादी उपाध्यक्ष सिपी गजुरेलले पार्टीका नीति, कार्यक्रम, योजनाका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ताम्सालिङ इञ्चार्ज सूर्यप्रकाश सुवेदी, केन्द्रीय सदस्य अनिल विरहीलगायतले बोल्नुभएको थियो ।
Discussion about this post