प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारलाई अझै पनि पूर्णता दिन सकेका छैनन् । आफ्नै पार्टीका एक जना सभासद् डा. रामशरण महतलाई मात्र बिनाविभागीय मन्त्री बनाएर उनी नेकपा एमालेसँग सत्ता समीकरणको प्रतीक्षा गर्दैछन् । नेकपा एमालेले आफूलाई गृहमन्त्री नदिए सरकारमा नजाने घोषणा सार्वजनिक गरिसकेको छ । एमालेकै मत पाएर प्रधानमन्त्री बनेका सुशील कोइरालाका लागि अब एमालेसँग कसरी सहकार्य गर्ने भन्ने मूल प्रश्न तगारो बनेर तेर्सिएको छ । मित्रताको हातलाई अझ बलियो बनाएर नेकपा एमालेसँग सत्ता गठबन्धन गर्नुबाहेक नेपाली कांग्रेससँग अरु कुनै विकल्प देखिएको छैन ।
सरकारलाई लामो समयदेखि यथास्थितिमा रहन दिनुहुँदैन । नेपाली कांग्रेसको शीर्ष नेतृत्व तहले यो वास्तविकतालाई जतिसक्यो चाँडै बुझ्नु आवश्यक भैसकेको छ । आफूसँग बहुमत नभएको अवस्थामा नेपाली कांग्रेससँग एमालेलाई सत्ताको साझेदारी बनाएर अघि बढ्नुको अर्को गतिलो विकल्प छैन । जसरी भए पनि एमालेका नेताहरुलाई उनीहरुका जायज माग पूरा गरी सरकारलाई पूर्णता दिनु आजको प्रमुख आवश्यकता हो ।
मुलुक बडो मुस्किलले संक्रमणकालबाट मुक्त भएको छ । अब स्थिर सरकार बन्ने भयो र मुलुकमा शान्ति सुरक्षाको स्थिति राम्रो हुने भयो भनेर नेपाली जनता आशावादी रहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले अरु दलले भन्दा बढी बुझ्नु आवश्यक देखिएको छ । मन्त्रालय बाँडफाँटजस्तो सामान्य विषयलाई लिएर सरकारलाई निरीह बनाइराख्नु कदापि हुँदैन । राष्ट्र र जनताको आवश्यकता र चाहनालाई बुझेर कांग्रेस र एमालेका नेताहरुले सही समयमा सही निर्णय लिनसक्नु परेको छ ।
प्रधानमन्त्री पदमा सुशील कोइराला नियुक्त भएको आज एक हप्ता हुँदैछ । अझै पनि कांग्रेसले आफ्नो सहयात्री दलको पहिचान गरेर सहकार्य गर्न नसक्नुलाई कांग्रेसको ठूलो कमजोरी मान्नुपर्ने भएको छ । अहिलेको समय भनेको एक–एक घन्टाको मह¤वलाई बुझेर काम गर्नुपर्ने समय हो । एक हप्ता बित्दा पनि सरकारले पूर्णता नपाएर यथास्थितिमा रहनु भनेको आफैँमा अत्यन्त दुःखदायी विषय हो । अब नेपाली कांग्रेसले अत्यन्त गम्भीर भएर नेकपा एमालेसँग परिणाममुखी वार्ता गर्नु अति जरूरी भैसकेको छ । कांग्रेसभित्रको अन्तरकलहलाई साम्य पार्दै सहयात्रीसँग सम्मानजनक व्यवहार गर्न सक्नु नै आज कांग्रेसको लागि चुनौती बनेर रहेको छ ।
Discussion about this post