भरतपुर । ह… ह…… एक हल गोरू । गोरूलाई मियो वरिपरि घुमाइरहेका एक मानिस । मियोको बीचमा बसेर उखु मेसिनमा पेलिरहेका अर्का मानिस । हेर्दा लाग्छ, कुनै गाँउको दृश्य हो यो, तर यो दृश्य कुनै गाउँको नभई भरतपुरमा चलिरहेको राष्ट्रिय औद्यिोगिक प्रदर्शनीको हो ।
गोरूले उखु पेल्ने कोललाई घुमाएको छ । अर्को व्यक्तिले उखु घानमा राखेर रस निकालेको छ । सगँै रहेको चुलोमा उखुको रस उम्लिँदै छ खुदोको रुपमा । वरिपरि लागेको मानिसको भीडले यो दृश्यलाई नौलो मानी–मानी हेरिरहेका छन् । कतिले तातो–तातो खुदो स्वाद मानी–मानी खाइरहेका छन् ।
नेपालका ग्रामीण भेगमा देख्न पाइने यो दृश्य अहिले लोप हुँदै गएपछि यसलाई सहरका बासिन्दासामु लिएर आएका हुन् गुल्मी र अर्घाखाँचीका दुई युवाले । पोखराथोक २ आर्घाखाँचीका सनत गौतम र गुल्मी थोर्गाका शीवलाल गौतमले सञ्चालन गरेको अर्गानिक खुदो उत्पादन भरतपुरको प्रदर्शनीको बेग्लै आकर्षणको रुपमा रहेको छ ।
कृषकहरुबाट ५० प्रतिशत र आफ्नो ५० प्रतिशत उखु ल्याई व्यवसायी गौतम द्वयले मेलामा खुदो उत्पादन गरी बिक्री वितरण गरेको हुन् । गुल्मीको थोर्गा, दिगाम, धरमपानी गाविसमा उत्पादित अर्गानिक उखुलाई उपभोक्ताकै सामु खुदो बनाएर बेचिरहेका उनीहरुले आफ्नो मौलिक पहिचान जोगाउन र स्थानीय उत्पादनलाई प्रसय दिन यो व्यवसाय थालेको बताउँछन् ।
मेलामा उखुको खुदोसँगै अर्गानिक कोदोको पिठो, फापरको पिठो, अनदीको चामल र खुदोबाट बनेको अर्गानिक गुँडसमेत बिक्रीको लागि राखिएको छ । पहिलोपटक भरतपुरको महोत्सवमा आइपुगेका उनीहरु अहिलेसम्म काठमाडौँ, पोखरा, बुटवल, पाल्पालगायतका सहरमा आफ्नो उत्पादन देखाएका छन् ।
कृषिलाई बजारीकरण गर्ने उद्देश्यले भरतपुर आइपुगेको व्यवसायी सनतले बताए । राम्रो आम्दानी भइरहेको बताउने उनले वर्षाका कारण केही व्यापारमा कमी आएको पनि बताए ।
तातो खुदो सर्दीका लागि उपयोगी हुने गर्दछ । मेलामा तातो खुदो एक गिलासको ३० रूपैयाँमा बेचिरहेका उनले उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउँछन् । लोप हुँदै गएको मौलिक प्रविधि देख्दा सबैले अचम्म मानेका थिए ।
‘एकदम नौलो लाग्यो, मैले यसबारेमा हजुरबुबाको मुखबाट सुनेको थिएँ, आज प्रत्यक्ष देख्न पाएँ’, स्टलमा तातो खुदो खाँदै गरेका भरतपुरका चिरञ्जीवी खनालले भने, ‘स्वाद पनि नौलो लिन पाइयो ।’ लोप हुन लागेका यस्ता नेपाली मौलिक प्रविधिलाई संरक्षण गर्नुपर्ने उनले बताए ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरू भएको महोत्सवमा कृषि उत्पादनलाई प्राथमिकता दिएर राखिएको छ । मेलामा दुग्धजन्य उत्पादन, मह मेलालगायतको छुट्टाछुट्टै परिसर रखिएका छन् । उपभोक्ताहरुको भीड लाग्ने गरेको छ ।
Discussion about this post