कथा: पतिव्रता

अन‌ि यो पनि

-रवि रोषी
घरको आर्थिक अवस्था त्यति मजबुत नभएको कारणबाट उसले कतार जाने निर्णय ग¥यो । फलस्वरुप, उसको कतार जाने भिसा पनि लाग्यो । आफूलाई माया दिने साथमा रहेको खसम कतार गएपछि नितान्त एकांकी जीवन बिताउनु पर्ने सन्तापमा हरेक रात श्रीमान्को छातीमा टाँसिएर रूँदै उसकी श्रीमती भन्ने गर्थिन्–
“हामी गरिब छौँ त के भयो र ? के विदेश जानुमात्र गरिबीको निवारण हो र ? तपाईं र म यहीँ आफ्नै देशमा संघर्ष ग¥यौँ भने त यहीँ सुन फलाउन सकिन्छ नि ?”
तर, आफ्नो छिमेकको उसको दौैँतरी कतार गएर कमाएर राम्रो घर बनाएको, उताबाट आएर ठूलो खर्च गरेर धुमधामसित बिहे गरेर घरमा नै दुःखजिलो गरेर केही हदसम्मको सम्पन्नतामा जीवन बिताइरहेको साथीको तरक्की सम्झिएर उसले श्रीमतीको कुरामा त्यति वास्ता दिएन । र, एक दिन निधारभरि रातो अक्षता र केँवराको फूल कानमा घुसारेर बिदाइको हात हल्लाउँदै आँगन नाघेर ऊ काठमाडौँ हान्नियो । बिदाइको अन्तिम हात हल्लाउँदै गरेकी उसकी श्रीमतीले पनि गहभरिका आँसु मजेत्रोले पुछ्दै रोदनको हिक्का सहन नसकेर पिँढीको बलेनी खाँबो समातेर रूँदै त्यहीँ थुचुक्क बस्न पुगिन् । उता, उसको श्रीमान्को मन पनि आफ्नी श्रीमतीको त्यो अवस्था देखेर मन नरोएको त कहाँ हो र ? तर पनि ऊ पुरूष थियो र आँसुलाई भित्रभित्रै घुटुक्क पिएर लुरूलुरू गइरह्यो । हरेक हप्ता उसले आफ्नी श्रीमतीलाई ताराम्तार फोन गरिरहन्थ्यो ।
एक दिन उसकी श्रीमतीले उसलाई अनवरत रुपमा मिस्ड कल हानिरही । तर, उसको श्रीमान् काममा नै व्यस्त भएको हुँदा उसले श्रीमतीलाई फोन गरेर फोन गर्नुको आशय बुझ्न पनि पाएन । ऊ आफू कार्यरत कम्पनीमा कामको अवस्थामा फोन गर्न पनि वर्जितजस्तै थियो । आफ्नो काम सकेर ड्युटीबाट कोठामा आएपछि उसले कुनै केही अशुभ पो भयो कि भनेर आत्तिँदै श्रीमतीलाई फोन ग¥यो । दुई घन्टीमा नै उसकी श्रीमतीले फोन उठाइन् । केटोले हडबडाउँदै फोनमा सोधिहाल्यो–
“के भयो नानु, किन आज तिमीले पटकपटक फोन गरिरहेकी ?”
ऊ केही नबोली चुप लागेर बसिरही । केटो झन् आतंकित हुँदै उसकी श्रीमतीलाई वास्तविकता के हो भनेर सोधिरह्यो । अनि, उसकी श्रीमतीले लजाउँदै बिस्तारी कानमा फुसफुसाएजस्तै गरी–
“तपाईं क्या……..तपाईं !”
यतिमात्र अपूरो वाक्य थियो । केटोको श्वासप्रश्वासको खलाती अरु तीव्र भयो र पुनः प्रश्न ग¥यो–
“कतै बुबाआमाले तिमी बस्ने डेरामा आएर केही नराम्रो पो भन्नुभयो कि ?”
“तपाईं क्या बाउ बन्दै हुनुहुन्छ क्या । आज बैनीलाई माइतबाट बोलाएर डक्टरकोमा चेक गर्न गएको थिएँ । डाक्टरले भनेको ।”
हुन त, ऊ कतार गएको ५ महिनापछि नै सासूससुराले धेरै कचकच गरेर मलाई कि माइत गएर बस्ने अनुमति दिनुहोस्, कि अन्तै डेरा गरेर म बस्न चाहन्छु भन्नेजस्ता चोथाले सासूसँग मारे पनि बस्दिनँ, काटे पनि बस्दिनँ भन्दै श्रीमान्लाई सासूससुराविरूद्ध एक्लो बस्ने निर्णयसहित कुराको उजुरी हालेको कारणबाट आफ्नी श्रीमतीलाई छुट्टै डेरा लिएर सहरतिर बस्ने अनुमति प्रदान गरेको थियो ।
आफू बाबु बन्ने खुशीको उन्मादमा उसले आफ्नो कम्पनीका मन मिल्ने साथीहरु सबैलाई खुशी बाँड्दै एक महिनाको तलबले राम्रै भोज लगाएर खुशीको “जश्न” मनायो । अर्को पटक, फेरि उसलाई त्यस्तै खुश–खबरी सुन्ने मौका मिल्यो । ऊ छोराको बाबु बनेको कुराले उसको खुट्टा भुइँमा नै भएन । त्यस पटक पनि उसले सबै साथीभाइहरुलाई आफ्नो एक महिनाको तलब खर्चेर राम्रो भोजको आयोजना ग¥यो । चिकेन, मटन सबै पाक्यो । इच्छाअनुसारका रहर मेट्न उसले २–४ बोतल खजुरबोटे पनि साथीहरुबीचमा ल्याएर भोज लगायो । कुखुराका हड्डीहरु भुइँमा ओच्छ्याइएको पत्रिकामाथि थुप्रो लाग्दै गयो । डेक्ची रित्तो र खजुरबोटे बोतलहरु रित्तो हुँदै गए पनि खजुरबोटे नशाले साथीहरु भनेर टिलपिलजस्तै गरी भरिँदै गए । कसैले डेक्ची उचालेर डेक्ची बजाउन थाले । कोही सुरमा गीत गाइरहे, कोही बेसुरमा बर्बराइ रहे । हितमान राईले पूर्वेली भाकाको एक आँतर गीत मुखको देव्रे कुनो कानसम्म पुग्ने गरी तन्काउँदै एउटा हातले कान छोपेजस्तै गरी अलिअलि कोल्टे र अलिअलि कुप्रोकुप्रो पर्दै गीत तु¥यो । लमजुङको एउटा भाइले रोदी भाकाको गीत राम्रै भाकामा उराल्यो । गोरखाको सिंखडा बाहुनले आफ्नै गाउँघरमा रहँदा गाइहिँड्ने भजन र ठट्यौलो चुड्का बमन ग¥यो । बिहीबार साँझबाट सुरू भएको भोज शुक्रबार बिहान ४ बजेमात्र सांगे भयो । भुइँतले बेडवालाहरु आफ्नै बिस्तारामा गएर डङ्ग्रङ्ग आफूलाई पछारेर भुसुक्क निदाए । डबल डेक्कर बेडमा माथि सुत्ने बेडधनीहरु उक्लिन नसकेको अवस्थामा त्यही भुइँमा नै आफूलाई भुसुक्क सुताए ।
विशेष कारणवश उसको कम्पनी १८ महिनापछि टुट्यो । उनीहरुले थाहै नपाई एकैचोटि उसको मालिकले आएर सबैको तलब दिँदै आजै उनीहरु नेपाल जाने टिकट तयारी भएको पनि जानकारी गराउँदै तयार हुन अह्रायो । उसले घरमा आउँदै छु भनेर पनि फोन गर्न भ्याएन । काठमाडौँ एयरपोर्ट झरिसकेपछि ऊ कतै नभुली घर जाने निर्णय ग¥यो । बच्चा, श्रीमतीलाई केही सामान किनमेल गरिसकेपछि बाँकी सामान उतै गएर किनिदिनु पर्ला भनेर लुरूलुरू घरतिर हिँड्यो ।
उसले काठमाडौँ झरिसकेपछि पनि श्रीमतीलाई सरप्राइज दिने सुर कसेको भएर उसले आफू आएको जानकारी गराएन । घर पुग्दा झमक्क झम्के साँझ परिसकेको थियो । श्रीमती बस्दै आएको बजारको डेराघरमा ऊ सुटकेस घिसार्दै पुग्यो । श्रीमान् आउनुको खुशीभन्दा आश्चर्यको रेखाकृति उसको श्रीमतीको मुखाकृतिमा स्पष्ट कोरिएको थियो । यसबारेमा उसको श्रीमान्ले कुनै हेक्का राखेको थिएन । नवजात छोरो बाहिर पिँढीको बलेनीमा बोराको झोलुंगोमा सुतिरहेको देखेर बच्चाको तन्द्रा भंग गर्न चाहेन । उसले सुटकेस खोल्यो र श्रीमतीलाई ल्याएको बहुमूल्य वस्तु दिन भनेर खोतल्न थाल्यो । त्यहीबेलामा उसको मोबाइलमा घन्टी बज्न थाल्यो ।
उसको श्रीमान्ले ल्याइदिएको बहुमूल्य उपहारलाई उसले मह¤व नै दिइनँ र ऊ हुर्रिएर ढोकाको सँघार नाघेर बाहिरिई । लोग्नेचाहिँ आफ्नी श्रीमतीलाई के भएछ भनेर अवाक् भइरह्यो । बोराको झोलुंगोमा सुतिरहेको छोरालाई झोलुंगोको पीँधमुनिबाट चिमोटिदिई । सुतिरहेको नवजात शिशु दुखाइको पीडाले च्याँठ्ठिएर रून थाल्यो । छोरो रोएको सुनेर उसको श्रीमान् पनि दैलो नाघेर श्रीमतीछेउ आयो । यता, उसकी श्रीमती आफूले चिमोटेर रूवाइदिएको छोरो सुतेको झोलुंगोको डोरी तान्दै “ह.. ह.. बाबु, ह.. ह.., बाबुको बाबा घर” भन्दै फुल्याउन थाली भने उता एउटा अस्पष्ट आकृति आँगनको डिल हुँदै करेसाबारीतिर लुसुक्क लाग्यो । कहिल्यै बाउको अनुहार नदेखेको नवजात शिशुलाई आफ्नो बाबुको नाम दिँदै छोरो फुलाउनका लागि लोहोरी बनाउँदै गर्दा यता श्रीमानचाहिँ श्रीमतीप्रति गद्गद् हुँदै ग्वाम्म अँगालो मार्न निमग्न भयो । आँगनको डिलमा उसले मात्र देखेकी पुरूष आकृति बाबुको बाबा घरै भन्ने संज्ञा बुझेर लुसुक्क करेसातिर हराएको आकृति उसको लोग्नेले नदेखेको खुशीमा उसले पनि आफ्नो श्रीमान्लाई चपक्क अँगालोमा बाँधेर गालामा चुप्प म्वाइँ खाइदिई ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया