बछौली । नेकपा एमालेको स्थायी कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको भए पनि पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले एमाले सरकारमा सहभागी हुने बताएका छन् ।
नेपाली कांग्रेस भारतको इसारामा चलेकै कारण अहिले गृहमन्त्रीको विषयमा दुई दलबीच दूरी बढेको भए पनि केही दिनमा सहमति हुने र एमाले सरकारमा जाने उनको भनाइ रहेको थियो । उनले एमालेलाई गृहमन्त्री नदिने खेल कांग्रेसको नभइ भारतको रहेको बताए ।
बछौलीस्थित मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार भवन शिलान्यास कार्यक्रममा बोल्दै नेता पाण्डेले एक वर्षभित्र संविधान निर्माण गर्न तम्सिएका दलहरु गृहमन्त्रीको विषयमा अल्झिन नहुने बताए । उनले एक वर्षभित्र संविधान निर्माण गर्न दलहरु प्रतिबद्ध रहेको उल्लख गरे । एक वर्षभित्र संविधान बन्छ, उनले भने, ‘संविधान बन्दैन कि भनेर चिन्तित हुनुहुन्छ भने तपार्इंहरु ठुक्क भएहुन्छ ।’
नेता पाण्डेले अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण गरेर दलहरुले समयमै संविधान जारी गर्ने बताए । अघिल्लो संविधान सभामा सहमति हुन सकेका विषयहरु निर्वाचन पद्दति, देशको शासन व्यवस्था र संघीय प्रदेशमा सहमति गरेर संविधान निर्माणको काम टुङ्ग्याउने उनको भनाइ रहेको थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले जनताले संमृद्धि चाहेकाले अबको राजनीति आर्थिक संमृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए । चितवन क्षेत्र नं. १ का निर्वाचित सभासद्समेत रहेका पाण्डेले यस क्षेत्रमा रहेका थारु समुदायको विकासको लागि क्षेत्रमा चौधरी विकास कार्यक्रम सञ्चालन गर्ने बताए ।
क्षेत्र नम्वर १ मा ५० वटा चौधरी बस्ती रहेको भन्दै उहाँले चौधरी बस्तीलाई नमुना बनाउन दातृ निकायको सहयोगमा चौधरी विकास कार्यक्रम सञ्चालन गर्ने बताए । नेता पाण्डेले ग्रामीण क्षेत्रको विकासको लागि सहकारीले लेखेको भूमिकाको प्रसंसा गरे । उनले आफू फेरि पनि अर्थमन्त्री भए सामाजिक सुरक्षा भत्ता बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बछौली गाविसका सचिव तेजेन्द्र लामिछानेले गाविसभित्रका जीर्ण सडक मर्मतको लागि आर्थिक अभाव भएको भन्दै स्रोत जुटाइदिन पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेलाई आग्रह गरेका थिए । मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्था अध्यक्ष रामेश्वर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा पूर्वसेक्टर प्रमुख रमेशकुमार थापा, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागार्इं, सहकारीका उपाध्यक्ष अर्जुन चौधरीलगायतले बोलेका थिए ।
Discussion about this post