नारायणगढ । समुदायले सञ्चालन गरेका (सामुदायिक) उच्चमाध्यमिक विद्यालयको विद्यार्थी उत्र्तीण नतिजा निजी उच्चमाविको तुलनामा कमजोर छ । नतिजामा सुधार ल्याउन शिक्षक र प्राचार्यको भूमिका महत्वपूर्ण रहन्छ । प्राचार्यहरुको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले उच्चमावि शिक्षा परिषद्ले नेतृत्व विकास तालिम सुरू गरेको छ ।
परिषदका देशभर आठवटा कार्यालय छन् । हेटौंडा र जनकपुर तथा नेपालगञ्ज र धनगढी कार्यालयअन्तर्गत पर्ने उच्चमाविहरुको प्राचार्यहरुको तालिम चितवनमा सुरू भएको छ । हैटौंडा जनकपुरअन्तर्गतका उच्चमाविहरुको प्राचार्यको तालिम बुधबारबाट र नेपालगञ्ज र धनगढी कार्यालयअन्तर्गत प्राचार्यहरुको तालिम बिहिबारबाट सुरु भएको छ ।
तालिम अवधि आठ दिनको हुनेछ । प्रत्येक कार्यालय अन्तर्गतबाट ३५ जना प्राचार्यहरु तालिममा सहभागी भएका छन् । जसमा ३० जना सामुदायिक र पाँचजना निजी उच्चमाविका प्राचार्यहरु रहेका छन् । परिषद्ले बुटवल र पोखरा कार्यालय तथा विराटनगर कार्यालयअन्तर्गतका उच्चमाविका प्राचार्यहरुलाई तालिम दिइसकेको छ ।
काठमाडौं कार्यालयअन्तर्गत प्राचार्यहरुको तालिममात्रै दिन बाँकी छ । परिषद्ले विस २०६६ सालबाट तालिम दिन सुरू गरेको हो । ‘हामी वर्षमा १३५ जना प्राचार्यहरुलाई तालिम दिन्छौं । एकपटक तालिम पाएका प्राचार्यहरु दोहोरिँदैनन्’ परिषद्को तालिम कार्यक्रम संयोजक डम्बरकुमार बतासले जानकारी दिए ।
तालिममा शिक्षा, वित्तीय व्यवस्थापन र नेतृत्व विकासमा जानकार व्यक्तिहरुले प्रशिक्षण दिने गरेका छन् । ‘शिक्षाको गुणस्तर बढाउन प्राचार्य र शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । प्राचार्य शैक्षिक क्रियाकलापका साथै व्यवस्थापकीय कौशलमा पनि पूर्ण हुनु पर्छ । हामी यी सबै कुराहरु सिकाउँछौं’ प्रशिक्षक तथा पूर्व शिक्षा सचिव दिपेन्द्रविक्रम थापाले भने ।
‘शिक्षाको विकासका लागि प्राचार्यमा नेतृत्वकला र वित्तीय व्यवस्थापन तथा अरुलाई उत्प्रेरणा गर्न सक्ने कला हुनुपर्छ हामी यसैका बारेमा चर्चा गर्छौै’ पूर्व शिक्षा सहसचिव तथा प्रशिक्षक जीवन शर्मा पौडेलले भने । अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकारीहरुसमेत प्रशिक्षकको रुपमा आएका छन् ।
‘हामी माध्यमिक विद्यालय सञ्चालन गरेका प्रधानाध्यापकहरु उच्चमाविका पनि प्राचार्य हौं । मावि र उमाविबीच फरक छ त्यसैले केही विशिष्ठ सीप सिक्न तालिम सहयोगी हुनेछ’ विजया उच्चमावि दैलेख दुल्लुका प्राचार्य केशव भण्डारीले भने । तालिममा सहभागी भएपछि त्यस्ता उच्चमाविको गुणस्तरमा के फरक आयो अनुगमन हुनुपर्ने प्रशिक्षकहरुको सुझाव छ ।
नेपालमा तीन हजार ५९६ उच्चमाविहरु रहेको परिषद्को योजना शाखाका नारायण पोखरेलले जानकारी दिए । यीमध्ये दुई हजार ६४८ सामुदायिक उच्चमाविहरु हुन् । अरु निजी उच्चमावि रहेका छन् । विद्यार्थी उत्तीर्ण प्रतिशत निजी उच्चमाविहरुको औसत ६० प्रतिशत छ भने सरकारी अर्थात् सामुदायिक उच्चमाविको विद्यार्थी उत्तीर्ण प्रतिशत ३० को हाराहारीमा छ ।
Discussion about this post