-धर्मराज अर्याल
शब्दहरु केलाएर
खोजेँ मैले तिमीलाई
अर्थहरु पहिल्याएर
हेर्दै गरेँ मैले तिमीलाई
दूर क्षितिजमा
कतै छ्यौ कि भनेर
नियालेर हेरेँ मैले तिमीलाई ।
स्मृतिका अग्ला पहाडहरुमा
चिच्याएर कराइरहेँ म
मौतनाको शिविर भत्काएर
एक्लै हिँडिरहेँ म
तिमी कतै देखिन्छ्यौ कि भनेर
आँखाहरुलाई गाडिरहेँ म
तर, सारा प्रयास विफल भयो
म खोजिरहेँ
तिमी हराइरह्यौ ।
परिचय साट्नु नै भूल थियो
तिमी यसरी गुमनाम गुमनाम
निरन्तर हराइरह्यौ
मेरो खोज्दै हिँड्ने क्रम पनि जारी रह्यो
सहअस्तित्वका निम्ति
मैले आत्मसमर्पण गरेँ तिम्रो सामु
अहिले म मौन छु
प्रेमको महासागरमा अझै पनि
खोजिरहेको छु म तिमीलाई
जीवन अप्ठेरो भएको छ
अग्लो पहाडजस्तो
उकालो–उकालो
भीर, पाखा र पहिरो
सहज यात्रा पनि अचेल
असहज सावित भएको छ ।
टाढा कतै
तिमी लुकेको हुनुपर्छ
अर्थात्,
मैले नदेख्ने गरी
मेरो स्पर्शभन्दा टाढा
मेरो दृष्टिभन्दा पनि टाढा
मेरो प्रेम–अँगालोमा कसेर
तिमी पनि रूँदै बसेको हुनुपर्छ ।
यो साउनको झरीमा
आकाश निरन्तर रोइरहेछ
ऊ रोएको सबैले देख्छन्
तर, म रोएको अरुले देख्तैन
मात्र म अनुभूत गर्छु
आफ्ना अनगिन्ती पीडाहरुलाई
एक्लै–एक्लै ।
यस्तो लाग्छ, जिन्दगीको कुनै मोडमा
अवश्य पनि हाम्रो भेट हुनेछ
त्यतिखेर खुल्ने हाम्रो मुस्कान
सबैले देख्न सक्नेछन् ।
Discussion about this post