भरतपुर । नेपाल टेलिकमको चितवन भरतपुर कार्यालयका एक हजार २५० ल्यान्डलाइन टेलिफोनका ग्राहकलाई कालोसूचीमा राख्ने तयारी गरिएको छ । वषौँदेखि फोनको बिल भुक्तानी नगरेकाले उनीहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको कार्यालयले जनाएको छ ।
ती ग्राहकबाट ७० लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेकाले उनीहरूलाई फागुन मसान्तसम्मको छुट सुविधा दिइएको कार्यालयका प्रमुख बुद्धकृष्ण मानन्धरले जानकारी दिनुभयो ।
छुटको मौकामा समेत फोनको बिल भुक्तानी नगर्ने कालोसूचीमा पर्ने उहाँले बताउनुभयो । अहिले सबैको तीन पुस्ते नामावली सङ्कलनको काम जारी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले देशभर नै अहिले छुटको अवसर दिएको र यदि समयभित्रै पैसा तिरेमा २०६९ असारभन्दा पहिले लाग्ने सम्पूर्ण जरिवाना छुट पाउने र कालोसूचीमा जानबाट रोकिनेछ । उनीहरूलाई अहिले सार्वजनिकरूपमै अपिल गरिएको र अटेर गरेमा कालोसूचीमा नाम प्रकाशित गर्ने कार्यालयका सहायक लेखा अधिकृत कविराज लम्सालले बताउनुभयो ।
कालोसूचीमा परेकालाई सरकारी सेवाबाट वञ्चित गर्न सकिने र उसलाई कहिलै पनि फोन सुविधा उपलब्ध नगराइने लम्सालको भनाइ छ । अहिले कालोसूचीमा पर्नसक्ने २०६५ अघिदेखि नै पैसा नतिर्ने ग्राहक पनि रहेका छन् । पटकपटक ताकेता गर्दा पनि उनीहरूले अटेर गरेको कार्यालयले जनाएको छ ।
दूरसञ्चार कार्यालयले लाइन काटेको पहिलो महिना ३ दशमलव ५ प्रतिशत जरिबाना र दोस्रो महिना पनि नतिरेमा सात प्रतिशत जरिबाना लिन्छ । त्यसपछि नतिरे २५ प्रतिशतसम्म जरिबाना थपिँदै जाने सहायक लेखाअधिकृत लम्सालको भनाइ छ ।
टेलिकमको भरतपुर स्टेसनको ल्यान्डलाइन क्षमता २० हजार ७४६ छ । हाल करिब १९ हजार फोन सञ्चालनमा छन् । पोस्टपेड मोबाइल ११ हजार र अहिलेसम्म प्रिपेड मोबाइल सिम दुई लाख ३५ हजार बढी वितरण भइसकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गतसाल टेलिकम भरतपुरले २२ करोड आम्दानी गरेकोमा अहिले रु २१ करोडको लक्ष्य छ ।
पुस मसान्तसम्ममा रु साँढे नौ करोड सङ्कलन भइसकेको लम्सालले बताउनुभयो । नेपालमा नाफामुखी कार्यालयको सूचीमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ ।
Discussion about this post