विधुर ढकाल
भरतपुर । श्रीमान् श्रीमतीले एकैदिन राहदानीको लागि जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दिए । दुई महिनापछि जिल्ला प्रशासन कार्यालय आइपुग्दा श्रीमान्को राहदानी (पासपोर्ट) आयो, तर श्रीमतीको भने आएन ।
जिल्ला प्रशासन कार्यालय भरतपुरमा भेटिएका भरतपुर–६ वैद्धिकनगरका ६० वर्र्षीय टीकाराम पौडेलले यस्तै गुनासो गर्दै थिए । उनले गत मंसिर १८ गते जिल्ला प्रशासन कार्यालयबाट राहदानीको लागि श्रीमती जानकी पौडेल र आफ्नो आवेदन दिएको बताए ।
‘आवेदन दिने बेलामा दुई महिनामा आउँछ भनेर बोलाएका थिए, अहिले आउँदा मेरोमात्र पाएँ’, पौडेलले भने ‘श्रीमतीको पाइनँ, भेटिएन भनेर फर्काइदिए ।’ बिहानै खाना नखाई आएको बताउने पौडेलले प्रशासनका कर्मचारीले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको बताए ।
‘भेटिएन मात्र भन्छन्, खोज्दैनन्’, उनले भने, ‘कसैले पछि आऊ भन्छन्, कसैले भेटिँदैन फेरि फर्म भर भन्छन् ।’ अमेरिकामा रहेका छोराछोरीले बोलाएर पासपोर्ट बनाउन आएको बताउने उनी दिनभर प्रशासन कार्यालयमा भौँतारिइरहेका थिए ।
त्यस्तै, भण्डारा २ की ममता डल्लाकोटीको पनि जिल्ला प्रशासन कार्यालयमा रहदानी भेटिएन । गत मंसिर २५ गते राहदानीको आवेदन भरेकी उनी सोमबार जिल्ला प्रशासन कार्यालय राहदानी लिन भनेर आए पनि उनको राहदानी नै प्रशासनमा भेटिएन ।
‘दुई महिनामा राहदानी आउँछ भन्थे, राहदानी नै आएन’, उनले भनिन्, ‘न त राहदानी नै आयो, न त आवेदनको अत्तोपत्तो नै लाग्यो ।’ उनलाई प्रशासन कार्यालयका राहदानी फाँटका कर्मचारीले फेरि आवेदन भर्न लगाए । उनले सोमबार नै फेरि अर्को आवेदन भरेकी छिन् । ‘समयसँगै पैसाको पनि नास भयो’, ममताले भनिन् ।
प्रशासन कार्यालयमा राहदानी हराउने मात्र होइन, कर्मचारीको लापरबाहीकै कारण सेवाग्राहीले दुःख पाउने गरेका छन् । दुई महिनाअगाडि राहदानीका लागि आवेदन दिएका शारदानगर–२ का पदमप्रसाद भट्टराईले राहदानी लिन कुरिरहेका थिए । आवेदन बिग्रिएको भन्दै उनलाई प्रशासन कार्यालयबाट फोन गरेर पुनः आवेदन दिन बोलाइयो ।
उनको आवेदनमा परराष्ट्र मन्त्रालयले एमआरपी पासपोर्ट जारी गर्ने बेलामा लगाउने बारकोड लगाइसकेको अवस्थामा पुनः जिल्ला प्रशासन कार्यालय फर्कियो अफिसियल साइन लेखिएर । ‘यहाँका कर्मचारीले लापरबाही गर्छन् दुःख हामीले पाउँछौँ’, उनले भने, ‘आवेदन सही ढंगले भरिएको थियो, उनीहरुकै लापरबाहीले राहदानी आउने बेलामा आवेदन फर्कियो ।’
प्रशासन कार्यालयका कर्मचारीले के कारणले फर्किएको भनेर सोध्दा कुनै जवाफ नदिएको र पुनः आवेदन भर्नमात्र भनेको भट्टराईको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले केही गुनासो आए पनि विस्तारै समाधान भएर जाने बताए । ‘केही त्यस्ता गुनासाहरु सुनिएका छन्, अब विभागको क्षमता बढाइएको छ’, उनले भने, ‘अब समस्या नदोहोरिएलान् ।’
त्यस्तै, जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटका कर्मचारी कृष्णलाल श्रेष्ठ विभागको कमजोरीका कारण केही समस्या आएको बताउँछन् । ‘कतिपय अवस्थामा विभागबाटै राहदानी छुट्ने गरेका छन्’, उनले भने, ‘केही फोटो नमिलेर वा आवेदनमा गल्ती पाइए निवेदन फिर्ता आउँछन् ।’
निवेदन फिर्ता आएका व्यक्तिहरुले पहिले नै बुझाएको राजस्वमा राहदानी पाउने श्रेष्ठले जानकारी दिए । ‘उनीहरुले निवेदन फेरि भर्नु त पर्छ तर राजस्व लाग्दैन’, श्रेष्ठले भने, ‘सेवाग्राहीलाई राहदानी चाँडो चाहिए जिल्ला प्रशासनबाट सिफारिस लिएर काठमाडौँ गए दुईदेखि सात दिनभित्र राहदानी पाउँछन् ।’
Discussion about this post