त्रिवेणीधाम । राजा महेन्द्रले राखेका पुजारी जद्धु गिरी गोसाईको निधनपछि वाल्मीकि आश्रमको पुरानो मन्दिरमा नियमित तलब दिने गरेर पुजारी राख्न समस्या आएको छ । पुजारी जद्धुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले तलब दिने गर्दथ्यो ।
वि.सं. १९९० मंसिरमा जन्मेका जद्धुलाई राजा महेन्द्रले विसंं. २०२२ सालमा वाल्मीकि आश्रमको पुजारी घोषणा गरेको मन्दिरको अभिलेखमा उल्लेख छ । विसंं. २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि उनले नियमित तलब पाउँदै आएका थिए ।
जद्धुको विसं. २०५४ साल माघ २ गते निधन भएको हो । त्यसपछि जद्धुका छोरा रामशरण गिरी मन्दिरका पुजारी बसेका हुन् । उनलाई चितवन निकुञ्जको तर्फबाट नियमित तलब दिन नसकेको निकुञ्जका अधिकारीहरु स्वीकार गर्छन् ।
‘जद्धुले नियमित तलब पाउँथे । उनको निधनपछि छोराले पूजा गर्दै आएका छन् तर बाबुलाई जस्तै नियमित तलब भने दिन सकिएको छैन्’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने ।
त्रेता युगका राजा रामको महिमा समेटिएको रामायणका लेखक ऋषि वाल्मीकि जीवन बिताएको र रामायण लेखेको ठाउँ हो वाल्मीकि आश्रम । रामले त्यागेपछि सीताका अन्तिम समय पनि यही क्षेत्रमा बितेको थियो । रामयणकालीन घटनाका अवशेष मानिने थुप्रै पौराणिक बस्तु त्यहाँ छन् ।
चितवन जिल्लाको गर्दी गाविस वडा नं. ९ मा पर्ने वाल्मीकि आश्रममा पुग्न चितवन हुँदै जाने बाटो भने छैन । निकुञ्जको घना जंगलभित्र रहेको आश्रम पुग्न नवलपरासीको बर्दघाटहुँदै दक्षिणको त्रिवेणी पुग्नुपर्छ । त्रिवेणीबाट सिधै आश्रम जान पनि समस्या छ ।
त्रिवेणीबाट भारतीय भूमि हुँदै आश्रम जानुपर्ने बाध्यता छ । निकुञ्जभित्र परे पनि आश्रम क्षेत्रलाई निकुञ्जमा समेटिएको छैन । त्यसलाई धार्मिक क्षेत्रका रुपमा नै विकास गर्दै लैजाने उद्देश्यले निकुञ्जको क्षेत्रफलभित्र नराखिएको अधिकारीहरु बताउँछन् ।
निकुञ्ज र त्यहाँ तैनाथ सेनाको प्रयासमा वि.सं. २०४२ सालमा आश्रम क्षेत्रमा हरिहरको मन्दिर पनि स्थापना गरिएको छ । निकुञ्जको सुरक्षार्थ तैनाथ श्रीनाथ गणका तत्कालीन गणपति शिवराम प्रधान र प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सक्रियतामा मन्दिर बनेको हो ।
जद्धुको निधनपछि केही समय उनका छोरा रामशरणले पनि पूजारी बसेवापत निकुञ्जबाट नियमित तलब पाएका थिए । पुजारी बसेका रामशरणलाई निकुञ्जले भने गेम स्काउटको पदमा करारमा नियुक्त गरेर तलब दिँदै आएको थियो ।
गेम स्काउटलाई करारमा राख्न नपाइने व्यवस्था भएपछि रामशरणको नियमित तलब आउने बाटो बन्द भयो । रामनवमी र माघे औंशीबाहेक वाल्मीकि क्षेत्रमा आउने श्रद्धालुहरु कमै हुन्छन् । त्यसैले मन्दिरको आम्दानीले मात्रै गुजारा चलाउन पुजारीलाई गाह्रो हुने गरेको छ ।
‘त्यहाँका अरु पुजारीलाई पनि जद्धुलाई जस्तै नियमित तलबको प्रबन्ध कसरी गर्ने भनेर हामी सोचिरहेका छौं’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कुँवरले भने । वाल्मीकि क्षेत्रको विकास र संरक्षणका लागि चितवन जिल्ला प्रशासन सक्रिय भएका कारण पुजारीको व्यवस्थाको बारेमा पनि चर्चा सुरु भएको हो ।
[divider]फोटो क्याप्सन
वाल्मीकि आश्रमको पुरानो तथा मुख्य मन्दिर हरिहर मन्दिरका अगाडि रहेको आश्रमका पहिलो पुजारी जद्धु गिरीको फोटो ।
Discussion about this post