भरतपुर । पछिल्लो अध्ययनले संरक्षित वन्यजन्तु ब्वाँसो सङ्कटमा पर्दै गएको देखाएको छ ।
चोरी सिकार र अवैध व्यापारले गर्दा ब्वाँसो लोप हुन लागेको अध्ययनले देखाएको छ । हिउँ चितुवा, बाघ र गैंडा संरक्षणमा संरक्षणकर्मीको ध्यान केन्द्रित हुँदा उत्तिकै महत्पूर्ण रहेको ब्वाँसोको विषयमा भने कसैको पनि ध्यान जान नसकेको संरक्षणकर्मीले बताएका छन् ।
चितवनलगायत सखुवासभा, मुस्ताङ, मनाङ, डोल्पा, कास्की र हुम्ला जिल्लामा गरिएको अध्ययनले ब्वाँसो सङ्कटमा पर्दै गएको पाइएको अध्यनकर्ता तथा प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।
विगत पाँच वर्षमा (सन् २००८ देखि २०१२) सम्म गरिएको अध्ययनले तीनवटा जिल्लामा मात्र व्बाँसो पाइएको र त्यो पनि अत्यन्त्रै कम भेटिएको आचार्यले जानकारी दिनभुयो । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले गरेको अध्ययनका क्रममा मुस्ताङमा एक, हुम्लामा छवटा र डोल्पामा चार गरी ११ वटा मात्र व्वाँसो देखिएका छन् ।
ती सबै ब्वाँसोहरू समुन्द्र सतहबाट चार हजार मिटरमाथि मात्रै अभिलेख गरिएको थियो । यसको अध्ययनको लागि प्रत्यक्ष अवलोकन, क्यामरा ट्रयापिङ, पाइलाका छापहरू तथा दिसाबाट पहिचान गरिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले व्बाँसोलाई संरक्षित जनावरको सूचीमा सूचीकृत गरेको छ । तर नेपालमा यसको संरक्षणका लागि कुनै कार्यक्रम छैन । नेपालमा हालसम्म अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, खप्तड राष्ट्रिय निकुञ्ज, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्र, हुम्ला र मुगु जिल्लामा भेटिएका छन् ।
प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्य दातृ निकायबाट सहयोग नपाएसम्म नेपालमा कुनै पनि वन्यजन्तुप्रति चासो नजाने गरेकाले समस्या आएको बताउनुहुन्छ ।
अर्का अध्ययनकर्ता यादव घिमिरे नेपालमा पाइने ब्वाँसोको प्रजातिको बारेमा अझै सरकारी क्षेत्रबाट यकिन तथ्याङ्क सार्वजनिक गर्न नसकेको बताउनुभयो । संसारमा तीन प्रजातिका ब्वाँसो पाइन्छन् । तीनमध्ये नेपालमा हालसम्म खैरो ब्वाँसो रहेको अभिलेख छ । तराईमा बाघलाई हेरिएजस्तै हिमालमा व्बाँसोको सरंक्षणमा लाग्दा सम्पूर्ण वन्यजन्तुको संरक्षण हुन् सक्छ ।
Discussion about this post