–प्रमिला अधिकारी
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले प्रशासन कार्यालय अगाडि बसेका लेखापढी व्यवसायीहरुलाई सेवा शूल्कको दररेटअनुसार काम गर्न निर्देशन दिएको छ । सेवाग्राहीबाट मनपरी ढंगले रकम असुल गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो ।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लेखापढी व्यवसायीलाई आफ्नै कार्यकक्षमा बोलाएर व्यवस्थित हुन निर्देशन दिएका हुन् । सेवाग्राहीले प्रशासनअगाडि बसेका लेखनदासहरुले निवेदन शुल्क मनपरी ढंगले असुल गर्ने गरेको गुनासो गरेको भन्दै दर तोक्न निर्देशन दिइएको उनले बताए ।
त्यस्तै, प्रशासन कार्यालय अगाडिका फोटो स्टुडियो तथा फोटोकपी सेन्टरलेसमेत मनपरी शूल्क असुल गरिरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न दररेट तोक्न निर्देशन सहायक प्रमुख जिल्ला अधिकारी गेलालले निर्देशन दिएका छन् ।
फोटोकपी सेन्टरहरुले फोटोकपी गर्दा तथा मनपरी शूल्क लिएको तथा हुलाक टिकटमा थप रकम लिने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका थिए ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयले प्रशासनअगाडि रहेका लेखापढी व्यवसायीलाई आफ्नो छुट्टै कोठा लिएर व्यवस्थित रुपमा बस्न समेत निर्देशन दिएको छ । सडक किनारमा सवारी आवागमन हुने गरी लेखनदासलाई आज मंगलबारदेखि नबस्न निर्देशन दिइएको हो ।
Discussion about this post