काठमाडौँ । नेपाली कांगे्रसका सभापति सुशील कोइराला गणतन्त्र नेपालको छैटाँै प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ ।
व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकले बहुमतद्वारा कोइरालालाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । कुल उपस्थित ५५३ सभासद्मध्ये प्रधानमन्त्री कोइरालाले ४०५ जनाको मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा १४८ मत परेको थियो । नवनिर्वाचित प्रधानमन्त्री कोइरालाको विपक्षमा एकीकृत नेकपा (माओवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मत खसेको थियो ।
प्रधानमन्त्रीको प्रस्तावकमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र समर्थकमा नेकपा–एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुनुहुन्थ्यो । सभामुख सूर्यबहादुर थापाले मतपरिणामको घोषणा गर्दै नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई बधाई दिनुभएको थियो ।
नवनिर्वाचित प्रधानमन्त्री कोइराला सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका छैटाँै प्रधानमन्त्री निर्वाचित हुनुपूर्व प्रधानमन्त्रीको कार्यभार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्हाल्दै आउनुभएको थियो ।
नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले दलहरूबीचको सहकार्य, एकता र मेलमिलापबाट एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम गरी दलहरूबीच सहकार्यको माध्यमबाट विकासको पथमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गनुभयो ।
‘संविधान, शान्ति र विकासका लागि दलहरूबीच सहमति एकता र सहकार्यको विकल्प छैन, अहिलेको प्रमुख चुनौती र काम पनि यही हो,’ नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले भन्नुभयो । रासस
Discussion about this post