– धनराज गिरी
व्यवस्थापकीय अक्षमताका कारणले गर्दा हामी नेपाली रोकथाममा भन्दा उपचारमै बढी साधनस्रोत खर्च गर्दछौँ । सबैले पढेका छौँ, ूएचभखभलतष्यल ष्क दभततभच तजबल अगचभू तर हामी ुअगचभु मै ुकगचभु देख्छौँ । घरमा आगो लाग्न सक्छ भनेर पहिल्यै इनार खन्दैनौँ, आगोले अत्याएपछि मात्रै इनार खन्ने योजना बनाउँछौँ । राष्ट्रिय जीवनका हरेक अंगमा यो दुर्दशा देख्न सकिन्छ ।
आज यस लेखमा लेखक अलि बेग्लै विषय लिएर उपस्थित हुँदैछ । भूमिकामा लामो कुरा नगरौँ । सोझै विशेष प्रवेश गर्दछु । जसरी प्राध्यापक भएर ४÷५ ठाउँमा पढाइन्न भने साहूले पत्याउँदैनन् र पत्नीले पनि विकल्प खोज्लिन् भन्ने डर हुन्छ, त्यसैगरी करोडौँ खर्च गरेर बनेका यतिखेरका ‘पैसे डक्टरहरु’ दुई–चार क्लिनिक धाएनन् भने उनीहरुले पनि समाजमा उचित सम्मान पाउन्नन् । समाज अनौठो बन्दैछ । ‘एनी हाउ पैसा कमाऊ भनेर सिकाउँछ यो भौतिकवादी समाज । धनी हुनुपर्छ, कुनै हालतमा पनि । यहाँनेर समाजमा विशेष सम्मान पाउने एउटा उपाय थपिएको छ, त्यो हो– वैदेशिक रोजगारमा परिवारको कोही न कोही संलग्न हुनैपर्ने । हामी सगर्व भन्दछौँ, ‘मेरो सन्तान फलानो देशमा छ ।’ त्यसपछि हामीलाई अर्कै नजरले हेरिन्छ । साहूले घरमै आएर सापटी दिन्छन् । हाम्रो स्वाभिमान चुलिन्छ । तर, विदेशिने पात्रको वहाँ के हालत छ, कसरी जीवनयापन गरिरहेछ, सुखी र खुसी छन् वा छैनन् ? यतातिर कसले सोच्ने ?
धेरै वर्षअघि एउटी दिदीले मलाई भनिन्, ‘भाइ, मानिसहरु मेरो यो विशाल महल देखेर कत्ति डाहा गर्दा हुन्, कतिको छाती पोल्दो हो ! तर, भाइ मैले त्यो परदेशमा चर्पी सफा गर्ने काम गरेर डलर कमाएको हो ।’ वैदेशिक रोजगारको कारूणिक कथा तोदा, फर्केर हेर्दा, मलाया एक्सप्रेस आदि साहित्यिक कृतिहरुमा पनि पढ्न पाइन्छ । नेपालीले विदेशमा आयामिक हन्डर खाएका छन् । आज रेमिटेन्सले देशको अर्थशास्त्र धानिएको छ । तर, यो धनराशिको पछाडिको कुरुप कथा, आफन्तले बेहोरेको व्यथा भयावह छ । वास्तविकमा अझै बाहिर आएकै छैन । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४÷५ वटा लास आउँछन् अरे विदेशबाट । वैदेशिक रोजगार बाध्यता हो कि रहर ? वरदान हो कि अभिशाप ? यसको आयामिक असर अध्ययन गरिएमा हामी नराम्रोसित विचलित हुन्छौँ । सत्य यो पनि हो, केही भाग्यमानीहरुले राम्रो गरेका छन् । इज्जत पनि छ र पैसा पनि छ । शतप्रतिशत बेठीक त होइन यो । तर, केही मुलुकबाहेक धेरै ठाउँमा नेपालीले चरम यातना पाउने रहेछन् । यदाकदा पढिन्थ्यो, सुनिन्थ्यो ।
मिति २०७० साल माघ ८ गते मलाई एउटा फोन आयो, पूर्वपत्रकार एवम् साहित्यकार मित्र सरिता अर्यालको । ९ गते नारायणगढमा केही समय उपस्थित हुन र भलाकुसारी गर्न अनुरोध गर्नुभयो । मित्र विश्वनाथ खनाललाई सहयात्री बनाएर म समयमै तोकिएको ठाउँमा पुगेँ । केही अपरिचित मित्रहरु भेला हुनुभयो, सबै विदेशबाट फर्किएका । सबैले आ–आफ्नो कथाव्यथा सुनाउनुभयो । आङ सिरिङ्गसिरिङ्ग ग¥यो । मैले कहिल्यै पनि डिभी भरिनँ । अझै पासपोर्ट बनाएको छैन, तर आफ्ना सन्तानलाई रोक्न सकिनँ । यसको पछाडि अर्कै प्राविधिक कारण छ । मित्रहरु विदेशबाट अनुभव बटुलेर आउनुभएकाले आफ्नो योजना बताउनुभयो, राम्रो लाग्यो । लहैलहैमा विदेश गएर शब्दातीत पीडा भोग्ने नेपालीहरु पनि रहेछन् । सरिता अर्याल, रीतु गिरी, निरज थापा, जुमबहादुर गुरूङ, रामचन्द्र अधिकारी आदिले आफ्नो अनुभव सुनाउनुभयो । ५६५ नेपाली परिवारका सन्तान अर्थात्, हरेक १०० घरमध्ये ५६ घरबाट रोजगारका लागि जेट चढेका तथ्यांक थाहा भयो । श्रीमान् र श्रीमती अलग हुन विवश भएपछि त्यसले पारिवारिक जीवनमा अझ खुलेर भन्नुपर्दा यौनजीवनमा पर्न जाने असरहरु, तिनले ल्याउने दुष्परिणामहरुका बारेमा पनि चर्चा भयो ।
समस्या छ, समस्या जहाँ पनि हुन्छ । समाधान इमान्दारीपूर्वक खोज्नुपर्दछ । के वैदेशिक रोजगारीमा जानै हुन्न त ? सम्भव छैन । तत्काललाई यो रहर होइन, बाध्यता हो । हामी आदर्शवादी बनेर मात्र हुँदैन, यथार्थवादी पनि बन्नैपर्दछ । १०० मा ४÷५ जनाले विदेशबाट फर्किएर यहाँ चमत्कार गरे होलान्, सबैले चमत्कार गर्न सक्छन् भनेर दिवास्वप्न देख्ने कुरा पनि आएन । हामीले धेरै विचार–विमर्श ग¥यौँ । त्यसपछि सर्वसम्मतिबाट निर्णयमा पुग्यौँ । वैदेशिक रोजगारमा जानेहरुले देहायबमोजिमका सर्तहरु पूरा गरेकै हुनुपर्दछ ः
१. जुन देशमा जाने हो, त्यो देशको भाषाको ज्ञान हुनुपर्दछ ।
२. जे काम गर्न जाने हो, तत्सम्बन्धी सीप आर्जन गरेको हुनुपर्दछ ।
३. नेपालीले ठगेको कथा धेरै सुनिएको छ । दलालहरुले धेरैलाई बिचल्लीमा पारेका छन् । त्यस कारण, राम्रोसित बुझेर सरकारी मान्यताप्राप्त एजेन्सीमार्फत मात्रै वैदेशिक रोजगारीमा जाने ।
मलाई पनि आफ्नो तर्फबाट केही सुझाव दिन मन लाग्यो । चेतनाको कमीले गर्दा नै अक्सर मानिसले जहाँ पनि दुःख पाउँछ । सीधासादा नेपाली चेलीहरु भारतमा बेचिनुका पछाडि धेरै कारणहरु होलान्, प्रमुख कारण चेतनाको कमी नै हो । मैले जनचेतनाका लागि प्रयास गर्नुपर्ने कुरामा विशेष जोड दिएँ । यसका लागि हाम्रा पाठ्यक्रमहरुमा नै वैदेशिक रोजगारसम्बन्धी ज्ञान समावेश गरिनुपर्दछ । संस्थागत रुपमै पहल गरिएमा जनता सचेत हुन्छन् । व्यापक प्रचारप्रसार हुनुपर्दछ । सबै कुरा छर्लङ्ग भएपछि मान्छे चक्रव्यूहमा पर्दैन । संसार आज गाउँजस्तै भएको छ । मान्छे जहाँ पनि पुग्न सक्दछ । तर मान्छेले जहाँ पुगे पनि, मान्छे भएर बाँच्न पाउनुपर्दछ । ज्ञान, सीप र चेतना सहयात्री भएमा मान्छेले दुःख पाउँदैन । विदेशमा गएर प्रशस्त नाम र दाम कमाएका नेपालीहरु पनि छन् । रेमिट्यान्स नभित्रिएमा हाम्रो अर्थतन्त्रको गाडीले इन्धन पाउँदैन । जानुपर्छ त्यही ठाउँमा, जहाँ श्रमको उचित मूल्य पाइन्छ । विश्व नै हाम्रो साझा घर हो, तर जहाँ गए पनि यो मन नेपाली हुनुपर्दछ र सगरमाथाको शान जोगाउनुपर्छ ।
त्यो दिनको भेलाले थोरै भए पनि आश जगायो । एउटा सुन्दर सपना पनि देखियो । जैविक विविधताले भरिपूर्ण हाम्रो देशमा पनि अपार सम्भावना छ । भोलिका दिनमा नेपालीले विदेशमा काम खोज्न जाने होइन, विदेशीले नेपालमा काम खोज्न आउने छन् । सम्भव त्यो पनि छ । आजका कोरिया, मलेसिया आदि देशहरु हामीजस्तै तन्नम थिए । उनीहरुले व्यवस्थापनमा दक्षता हासिल गरे । विदेशबाट सीप चोरे । आफ्ना प्राकृतिक स्रोत र साधनलाई दोहन गरे । उन्नतिको शिखरमा चढे । हाम्रो पनि राम्रो दिन आउँछ । आजका सडेगलेका नेताहरु २०० वर्ष बाँच्दैनन् । राजनीति हाम्रो लागि सधैँ अभिशाप नबन्ला नै । भ्रष्टाचार पनि लोप होला । हामी नेपाली पनि इमानदार हुन सिकौँला । हाम्रो राम्रो सपना पनि साकार होला । ढिलो–चाँडो मुलुकले संविधान पाउला । तथाकथित अगुवाहरुले लाज मान्ने दिन पनि आउला, तर वर्तमान अलि तरल अवस्थामा छ । दक्षिणले हामीलाई सधैँ पेल्छ, हामी आयामिक रुपमै सक्षम भएमा नेपाली राहदानीले पनि विदेशमा इज्जत पाउने छ । ‘जब जागा तब सवेरा’ भनेझैँ हामी सचेत नागरिकले उज्यालोको पक्षमा केही गरेर नेपालीको कल्याणका निम्ति देखाउने दिन यतिखेरै हो । वैदेशिक रोजगारीलाई अभिशाप होइन, वरदान बनाउन सकिएमा वर्तमानको गर्जो टर्नेछ । भविष्य जे त होला ।
Discussion about this post