भरतपुर । पछिल्लो समय चितवनमा माछा पालन दिन प्रतिदिन फस्टाउँदो छ । यहाँ उत्पादन हुने माछाले जिल्लाकै माग पूरा गर्न सकेको छैन् । त्यसैले माछा उत्पादनमा लाग्दा राम्रो सम्भावना नभएको होइन । तर, यस क्षेत्रमा लागेकाहरु चुतौती पनि प्रसस्तै भएको बताउँछन् ।
‘माछा खाए दिमाग तेज हुन्छ आयु बढ्छ भन्ने कुरा सुनेपछि म यो व्यवसायमा हाम फालँे’ चितवनका पुराना माछा उत्पादक किसान जयश्वर भट्टराई भन्छन् ‘तर अहिले मलाई खाल्डोमा हाम फालेको जस्तो भएको छ । घाटा खाए पनि निस्कन नसक्ने खाल्डोमा परे जस्तो भएको छ ।’
माछा पालनमा युवाहरुको आकर्षण बढेकाले धेरै बुझेर मात्रै यो व्यवसायमा लाग्न उनले सुझाव दिए । चितवनमा विस २०३९ सालदेखि माछा पालन सुरु भएको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष जोगेन्द्र महतो बताउँछन् । तर, पाँच वर्षयता व्यवसायिक माछा पालन निकै फस्टाएको छ ।
‘बनेका पोखरीको व्यवस्थापन, नयाँ पोखरी निर्माण, माछाका गुणस्तरीय बच्चा भुरा उत्पादनमा जोड र बिमा तथा वित्तीय लगानीको सहज वातावरण बन्न अति आवश्यक भएको छ’ अध्यक्ष महतोले भने । भण्डारामा रहेको माछाको भुरा उत्पादन केन्द्रले माग धान्न नसकेको उनले बताए ।
माछा पालनको विकास द्रूत गतिमा भए पनि रोग लागेमा पहिचान र उपचार गर्ने प्रविधि र जनशक्तिको अभाव रहेको उनले बताए । भण्डारामा प्रयोगशाला स्थापना गर्न उनले माग गरे । माछा पालनमा लागेका युवाहरुमा जोश भए पनि व्यवसायका लागि चाहिने आवश्यक ज्ञान र सीप नभएको व्यवसायीहरुको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयले तालिमको व्यवस्था गर्न उनीहरुले माग गरे ।
लामो समयको तालिमको कार्यक्रम नआएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारी बताउँछन् । व्यवस्थित तवरमा माछा पालन गरे प्रतिहेक्टर १२ देखि १४ क्विन्टलसम्म उत्पादन लिन सकिने उनले बताए ।
‘हामीले औसतमा चारदेखि पाँच क्विन्टलसम्म उत्पादन लिएको अवस्था छ’ अधिकारीले भने । दाना र भुराको गुणस्तर बढाउन उनले जोड दिए । अहिले प्रयोग गरेको दाना ५० प्रतिशत खेर जाने गरेको उनले बताए । जसले लागत बढाउनुका साथै उत्पादनमा पनि असर गरेको छ ।
‘भण्डाराको मत्स्य विकास कार्यालयले गरेको एक अध्ययनअनुसार पाँच कठ्ठाको पोखरी बनाएर माछा पालेमा खर्च कटाएर वर्षको तीन लाख रुपैयाँसम्म आम्दानी लिन सकिने देखाएको छ । सम्भावना यही हो । यसैलाई समाएर अगाडि बढ्न सक्नु प¥यो’ अधिकारीले भने ।
चितवनमा ज्यूँदो र ताजा माछा बेच्ने परिपाटीले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए । हाल चितवनमा १५ भन्दा धेरै ज्यूँदो माछा बेच्ने पसलहरु रहेका छन् । चितवनको पूर्व, पश्चिम र माडीमा माछा पालन फष्टाएको छ । क्षेत्रीय तहका बिक्री केन्द्र खोल्न उनले सुझाव दिए ।
नेपाल मत्स्य व्यवसायी संघ चितवनले दिएको जानकारीअनुसार जिल्लामा हाल माछाका एक हजारभन्दा धेरै पोखरीहरु छन् । जसले तीन सय हेक्टर जमिन ओगटेको छ । छ सय किसान यो व्यवसायमा संलग्न छन् । वर्षमा दुई हजार टन माछा उत्पादन हुने गरेको छ ।
Discussion about this post