भरतपुर । नेपालीमा एउटा भनाइ छ, ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस ।’ यही भनाइलाई चरितार्थ गर्दै भरतपुरस्थित स्वास्थ्य कार्यालय चितवनले रोगै नलागेका बालबालिकाहरुलाई पनि औषधि खुवाउने गरेको छ । सर्ने खालको क्षयरोग लागेका अभिभावक भएको घरमा जन्मिएका बालबालिकालाई छ महिनासम्म नियमित आइसोनायजिड नामक औषधि खुवाउने गरेको स्वास्थ्य कार्यालय चितवनका क्षयरोग तथा कुष्ठरोग अधिकृत जयराम दवाडीले जानकारी दिए ।
‘अभिभावकलाई सर्ने खालको क्षयरोग लागेको खण्डमा उक्त परिवारमा जन्मिएका बालबालिकालाई उक्त रोगको संक्रमणबाट जोगाउनका लागि औषधि खुवाउन थालिएको हो’, उनले भने, ‘छ महिनासम्म नियमित औषधि खुवाउँदा यो रोग सर्दैन ।’
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा एक सय जना बालबालिकालाई रोगै नलागी औषधि खुवाउँदा ६६ जनालाई जीवनभर क्षयरोग नै नलाग्ने देखिएको उनले बताए । चितवनमा गत वर्षको असार महिनाबाट यो रोगै नलागेका बालबालिकाहरुलाई औषधि खुवाउन थालिएको हो । हालसम्मको तथ्यांक हेर्दा गत वर्षको असार महिनाबाट हालसम्म चितवनका १५० बालबालिकाले आइसोनायजिड औषधि सेवन गरेका छन् । पाँच वर्षसम्मका बालबालिकालाई वजनअनुसार कम्तीमा आधा चक्कीदेखि बढीमा तीनवटा चक्कीसम्म औषधि खुवाइन्छ ।
आर्थिक वर्ष २०७४/०७५ को तथ्यांकअनुसार चितवनमा क्षयरोगसम्बन्धी बिरामीको संख्या एक हजार ७० छ । गर्मी मौसममा क्षयरोगको संक्रमण बढी देखिने गरेको उनको भनाइ छ । त्यसमध्ये तीन प्रतिशत बालबालिकामा यो समस्या देखिएको क्षयरोग तथा कुष्ठरोग अधिकृत दवाडीले बताए । ‘सर्ने खालको क्षयरोगका बिरामी छन् भने एक जनाबाटै १० जनासम्मलाई सर्न सक्छ’, उनले भने, ‘रोग लागेका र नलागेका दुवै सतर्क रहनुपर्छ ।’
बर्सेनि ४५ हजार नयाँ बिरामी
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा क्षयरोगका नयाँ बिरामी बर्सेनि ५४ हजार थपिने गरेका छन् । यस्तै, पुराना क्षयरोगका बिरामी वार्षिक ६० हजार रहने अनुमान गरिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं ३ का स्वास्थ्य निर्देशक मोहम्मद दाउदले बताए । उनका अनुसार करिब १३ हजार बिरामी क्षयरोग लागे पनि स्वास्थ्य संस्थासम्म नआइपुगेको अनुमान गरिएको छ ।
‘विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्दा नेपालमा नयाँ तथा पुराना क्षयरोगका बिरामीको आँकलनबाट क्षयरोग पत्ता लगाई उपचारमा ल्याउनुपर्ने संख्या करिब २८ हजार देखिन्छ’, स्वास्थ्य निर्देशक दाउदले भने, ‘नेपालमा यो संख्यालाई तत्काल कम गर्नका लागि तीनै तहको सरकारलाई उत्तिकै ठूलो चुनौती छ ।’ त्यसैले, नेपालमा क्षयरोगलाई कम गर्नका लागि सरकारसँगसँगै सरोकारवाला निकाय तथा संघसंस्थाहरुको सहयोग र सक्रिय नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
यति हुँदाहुँदै पनि सरकारले गरेको प्रयासमा ९१ प्रतिशत सफलता प्राप्त भएको उनले दाबी गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एकीकृत स्वास्थ्य प्रणालीअन्तर्गत उपचार केन्द्रका साथै देशभरका धेरै ठाउँबाट क्षयरोगको निःशुल्क औषधि वितरण हुने हुँदा ठूलो चुनौतीका बाबजुद पनि ९१ प्रतिशत सफलता देखिएको उनले बताए । ‘अहिले जीन एक्स्पर्ट केन्द्र र राष्ट्रिय प्रेषण प्रयोगशालाहरुबाट समेत क्षयरोगका बिरामीहरुले सेवा लिइरहेका छन्’, उनले भने । तर, समयअनुसार भएको प्रविधिको विकासले पनि उपचार सेवा बिस्तारै प्रभावकारी बन्दै गएको उनले बताए ।
औषधि प्रतिरोधी क्षयरोगको २० महिने झन्झटिलो उपचार अवधिलाई घटाएर नौदेखि १२ महिनासम्ममा झारेकोले पहिलेको तुलनामा केही सहज भएको उनको भनाइ छ । ‘तर, यसलाई पूर्ण कार्यान्वयनमा ल्याउनका लागि सरोकारवाला निकायहरुको समन्वयकारी भूमिका आवश्यक देखिन्छ’, उनले भने । नेपालको क्षयरोगसम्बन्धी कार्यक्रमको इतिहासमै पहिलोपटक क्षयरोग प्रिभ्यालेन्स सर्वे (क्षयरोगका बिरामीको संख्या यकिन हुने गरी गरिने सर्वेक्षण) भइरहेको उनले बताए ।
६४ प्रतिशत पुरूष संक्रमित
सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले मानवशरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछिबाट विश्वमा मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउन थालिएको छ । यसवर्ष पनि विश्वभर ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने मूल नारासहित विश्वभर एकसाथ ‘विश्व क्षयरोग दिवस’ मनाइएको छ । चितवनमा पनि आइतबार स्वास्थ्य निर्देशनालय प्रदेश नं तीनको आयोजनामा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, क्षयरोगको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा पत्रकारहरुबीच अन्तरक्रिया गरेर यो दिवस मनाइएको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा क्षयरोग संक्रमितमध्ये ६४ प्रतिशत पुरूष र ३६ प्रतिशत महिला रहेका छन् । मानिसमा आँखाले देख्न नसकिने सूक्ष्म ब्याक्टेरियाबाट क्षयरोग लाग्छ । प्रायः उत्पादनशील उमेर समूहका र एचआईभी, मधुमेहजस्ता रोगको संक्रमण देखिएका, वृद्धवृद्धा, कारागारका कैदीबन्दी, सडकमै बस्ने र सुत्नेहरुलाई क्षयरोगको संक्रमण लाग्न सक्ने सम्भावना धेरै हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
माइक्रोस्कोपी सहयोग
विश्व क्षयरोग दिवसकै अवसरमा विराट नेपाल मेडिकल ट्रष्टले शनिबार चितवनका दुईवटा स्वास्थ्य संस्थालाई एक÷एक थान माइक्रोस्कोपी सहयोग गरेको छ ।
सन् १०६७ देखि नेपालमा क्षयरोगसम्बन्धी क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले स्वास्थ्य कार्यालय चितवन र जुटपानी स्वास्थ्य केन्द्रको लागि एक÷एक थान माइक्रोस्कोपी सहयोग गरिएको हो ।
ट्रष्टका चितवन संयोजक ताराप्रसाद अर्यालसहितको टोलीले स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख कामेश्वरप्रसाद चौरासियालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।