रमा घिमिरे
नेपाल सरकारले सन् २०१५ सम्म सम्पूर्ण नेपालीलाई साक्षर बनाउने घोषणा गरेर कार्यक्रम चलाइरहेको छ । विकसित देशले शिक्षालाई बढी मह¤व दियो, त्यसैले उनीहरुको सोचाइमा परिवर्तन भयो । हरेक राष्ट्रमा अन्धविश्वास, कुप्रथा र कुसंस्कार थियो, त्यसलाई शिक्षाद्वारा नै परास्त गर्दै यो अवस्थामा आइपुगेका हुन्, उनीहरु ।
जति मानिस शिक्षित भए, त्यति नै सभ्य हुँदै जान्छन् । महिला शिक्षाबाट वञ्चित रहँदा उनीहरुमा अन्धविश्वास, परम्परागत मान्यता आदिले ठाउँ लिइरहेको छ । विकसित देशहरु शिक्षाकै कारणले अगाडि बढिरहेछन् । सम्पूर्ण जनता शिक्षित भए उनीहरुमा सीप र दक्षता पनि हुन्छ र काममा निपूर्ण पनि हुन्छन् अनि राष्ट्रको विकासमा लागि रहन्छन् ।
हाम्रो मुलुकमा महिलालाई शिक्षा दिने चलन थिएन, त्यसैले उनीहरुमा अझै अन्धविश्वासले ठाउँ ओगटिरहेको छ । हाम्रो उमेरका महिला ९९ प्रतिशत नै निरक्षर छन् । त्यसैले, महिलालाई कठपुतली बनाउँदै जता नचायो त्यतै नाच्दै जान्छन् । जबसम्म महिला आफैँ जागरूक भएर आउँदैनन्, तबसम्म पछि नै परिरहन्छन् । शिक्षाले बुद्धि, विवेक, ज्ञान दिएर विकृतिलाई नष्ट गर्दै सभ्य समाज निर्माण गर्न पहल गर्दछ । शिक्षाको क्षेत्र ठीक किसिमले चलेको छ भने असल मूल्यमान्यता स्थापित हुँदै जान्छन् ।
देशको चौतर्फी विकासका लागि समुदायमा चेतना हुुनुपर्दछ । जबसम्म समाजका सबै मानिस शिक्षित हुँदैनन्, तबसम्म सभ्य समाज हुन सक्दैन । २०१५ सम्म सबै नेपालीलाई साक्षर बनाउने लक्ष्य राखेर कार्यक्रमहरु भइरहेका छन् । सरकारी सुविधा लिएका सबैले आ–आफ्ना घरका निरक्षरहरुलाई साक्षर बनाउने काम गरेमा निरक्षरता उन्मूलन हुँदै जान्छ ।
विद्यालय, क्याम्पस पढ्नेले आफ्नो घरका निरक्षर आमाबाबुलाई साक्षर बनाउन जोड गरेदेखि निरक्षरता उन्मूलन सजिलै हुन्छ । साक्षर बनाउन सबै सरकारी कार्यालयहरु, संघसंस्था, सहकारी, विद्यालय, क्याम्पसले जोडबल गरे शतप्रतिशत साक्षर हुन्छन् । शिक्षाकै कारण अन्धविश्वास कुरीति निर्मूल हुँदै जान्छन् र नेपाल आधुनिक युगमा टेक्दै जान्छ ।
हाम्रो हरेक राजनीतिक व्यवस्था र प्रणालीमा महिला, दलित, जनजातिलाई राजनीतिक लाभका लागि हतियारबाहेक केही नबनाइएको प्रस्टै छ । देशमा प्रजातन्त्र आएपछि पनि गाउँगाउँसम्म त्यसको प्रभाव पुग्न सकेन । शिक्षा केन्द्रीकृत हुँदा हुनेखाने काठमाडौँ गएर पढे, नहुने पढ्न पाएनन् । महिलाले पढ्न पाउने कुरै भएन । पहिला हाम्रा बुबाहरु भने भारतमा गएर पढ्नुभएको हो । हरेक मानिसले आफ्नो ठाउँमा विद्यालय, क्याम्पस स्थापना गर्न जोड गरेमा त्यहीँका मानिसले सुविधा पाउँछन् र वरपरका मानिस पनि पढ्न आउँछन् । घरहरु भाडामा जान्छन्, व्यापार बढ्छ । त्यही ठाउँको समृद्धि बढ्दै जान्छ ।
हाम्रा राजनीतिक दलका घोषणापत्रमा शिक्षालाई मौलिक हकमा राख्ने प्रतिबद्धता जनाइएका छन् । पिछडिएका बासिन्दा, दलित, सीमान्तकृत र लोपोन्मुख जाति अनि गरिबीको रेखामुनि रहेका सबैलाई शिक्षा पूर्ण रुपले निःशुल्क गर्ने भनिएको छ । आफैँले घोषणा गरेका कुराहरु पनि आफैँ पूरा गरेका हुँदैनन् । माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपले निःशुल्क र कक्षा आठदेखि नै रोजगारमैत्री बनाउँदै लैजान सकेमा बेरोजगारीको समस्याले सताउँदैन ।
प्रत्येक निर्वाचन क्षेत्रमा रोजगारमूलक तथा स्वउद्यम प्रवद्र्धन गर्ने प्राविधिक विद्यालय व्यवस्था गरी प्रवेशिका उत्तीर्ण गर्न नसकेका युवालाई रोजगारमुखी प्राविधिक शिक्षा तथा तालिम दिने नीति नेपाली कांग्रेसको घोषणापत्रमा लिपिबद्ध छ । हरेक प्रदेशमा एउटा विश्वविद्यालय स्थापना गरेर अन्य देशबाट पनि पढ्न आउने वातावरण भएमा देशको समृद्धि पनि बढ्दै जान्छ ।
अहिले विकसित राष्ट्रले अनेकौँ सुविधा दिएर युवाहरुलाई तानिरहेको छ । पढेर उनीहरुले त्यहीँ काम गर्दछन् र राष्ट्रले विकास गरिरहन्छ । हामीकहाँ शैक्षिक क्षेत्रलाई राजनीति गर्ने थलो बनाइन्छ र पढाइमा बाधा दिइन्छ । हाम्रा विद्यार्थी अर्को मुलुकमा पैसा तिरेर पढ्न जान्छन् र युवाहरुको ब्रेन र क्षमतालाई हामीले गुमाएका छौँ ।
उच्च माध्यमिक तहसम्म कुनै पनि विद्यार्थीलाई राजनीतिक संगठनको सदस्यता नदिने नीति भएमा पढाइमा अवरोध हुँदैन र विद्यालयहरु राम्रोसँग सञ्चालन हुँदा सररर पढ्न पाएर काममा लाग्दछन्, अर्को मुलुक जाने मन नै गर्दैनन् । सन् २०१५ सम्म निरक्षर उन्मूलन गरेर शतप्रतिशत साक्षर मुलुक बनाउन सबै लागौँ ।
Discussion about this post