भरतपुर । माघ महिनामा चितवन राष्ट्रिय निकुञ्ज आसपासका गाउँमा जंगली जनावरले आक्रमण गरेर मान्छेको ज्यान लिने घटना लगातारजस्तो भएका छन् । यो वर्षको साउनयता जंगली जनावरको आक्रमणमा परेर पाँच जनाको ज्यान गएको छ । तीन जनाको ज्यान माघ महिनामा मात्रै गएको हो । बाघ र जंगली हात्तीले धेरैको ज्यान लिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी गराएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडी गर्दी गाविसको वडा नं. १ अमेलिया गाउँमा बुधबार राति १० बजे जंगली हात्तीले आक्रमण गरेर ४३ वर्षीय शेरबहादुर परियारको ज्यान लियो । घरमै सुतिरहेका दर्जीलाई चितवन राष्ट्रिय निकुञ्जबाट गएको जङ्गली हात्तीले आक्रमण गरेको बताइएको छ । जंगली जनावरको आक्रमणले माडी निकै आक्रान्त बन्ने गरेको छ । यो वर्षको साउन ५ गते गैंडाले आक्रमण गर्दा गर्दी गाविस कै वडा नं. ४ मा सोमल बोटेको निधन भएको थियो ।
सो घटनादेखि अहिलेसम्म जंगली आक्रमणमा परेर पाँच जनाको ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए । पाँच जनामध्ये दुईजनाको ज्यान जंगली हात्तीको आक्रमणमा परेर गएको छ । त्यस्तै दुईजनाको बाघ र एकजनाको गैंडाले हान्दा निधन भएको पोडेलले बताए ।
माघ २ गते पश्चिम चितवनको दिव्यनगर गाविस वडा नं. ३ मा बाघले आक्रमण गर्दा विकाराम परियारको निधन भएको थियो । त्यस्तै, माघ २० गते बाघको आक्रमणमा परेर गुञ्जनगर गाविस वडा नं. ७ का एकबहादुर तमाङले ज्यान गुमाएका थिए । पुस ७ मा जंगली हात्तीको आक्रमणबाट गीतानगर गाविस वडा नं. १ का रामबहादुर गुरूङको मृत्यु भएको थियो ।
‘यो समयमा हात्ती अलि आक्रमक पनि हुने बेला हो’ निकुञ्जका सहायक संरक्षण अधिकृत पोडेलले भने । माडी क्षेत्रमा भदौंको अन्तिममा धान पाक्न सुरू हुन थालेपछि बथानका बथान जंगली हात्ती देखा पर्छन्, तर जाडो बढ्दै जाँदा मान्छेमाथि आक्रमणका घटनाहरु हुने गरेको छ । गत वर्ष जंगली हात्तीले आक्रमण गर्दा निकुञ्ज आसपासका गाउँमा बस्ने छजनाको ज्यान गएको थियो ।
गत वर्ष जंगली जनावरको आक्रमणबाट १५ जनाको ज्यान गएकोमा हात्तीले छजना, बाघले आठजना र गैंडाले एकजनाको ज्यान लिएको थियो । हिउँद लागेपछि जनावरले आक्रमण गर्ने घटनाहरु बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । गत वर्ष ज्यानै जाने गरेर जंगली जनावरबाट भएका आक्रमणका घटना कात्तिकदेखि पुससम्म धेरै रहेका छन् ।
सो अवधिमा नौजनाको ज्यान गएको निकुञ्जले दिएको विवरणमा उल्लेख छ । ‘हात्ती जस्ता जनावरहरु वर्षायाममा टन्न खाएर यो बेला मत्त हुने समय हो । मान्छे पनि घाँस दाउरा खोज्न जंगल छिर्ने गर्छन् । त्यसैले यो समयमा बढी घटना भएका हुन्’ सहायक संरक्षण अधिकृत पोडेलले भने । गर्दीको घटना जनावर गाउँमा आएर मान्छेमाथि आक्रमण गरेको हो । अरु जंगलभित्रै आक्रमण भएका छन् ।
निकुञ्जको सिमानाभन्दा बाहिर मध्यवर्ती क्षेत्रमा जनावरले आएर आक्रमण गरेर मान्छेको ज्यान गएमा उस्को परिवारले राहतस्वरुप तीन लाख रूपैयाँ पाउने कानुनी प्रावधान रहेको छ । त्यस्तै घाइतेलाई उपचार गर्न अधिकतम ५० हजार रूपैयाँ उपलब्ध हुन्छ । मृतकका परिवारलाई राहत दिन र घाइतेको उपचारका लागि मात्रै निकुञ्जले गत वर्ष ५० लाख रूपैयाँभन्दा धेरै खर्च गरेको छ ।
Discussion about this post