भरतपुर । भरतपुर विमानस्थल वरपर तोकिएको उचाइभन्दा अग्ला घर र संरचना के कति छन् ? भरतपुर नगरपालिका र विमानस्थलले यसको अध्ययन गर्ने भएको छ । मापदण्ड मिचेर बनेका अग्ला घर तथा संरचनाहरु भत्काउने तयारी सरकारको छ । भरतपुर विमानस्थलमा बुधबार यो विषयमा छलफल कार्यक्रम सम्पन्न भयो ।
विमानस्थल वरपर निश्चित उचाइका भन्दा अग्ला घर बनाउन नपाइने नियम छ, तर भरतपुर विमानस्थल वरपर मापदण्ड विपरीतका अग्ला घरहरु बन्न थालेपछि विमान उडान जोखिमपूर्ण हुन थालेको छ । मापदण्ड मिचिन थालेपछि भरतपुर नगरपालिकाले अहिले केही निश्चित क्षेत्रहरुमा तत्काल नक्सा पास गर्न रोकेको छ ।
बुद्ध एयरको भरतपुर स्टेशनका म्यानेजर भक्त बस्नेत भन्छन् ‘जहाज आउने ठाउँमा बिजुलीका पोलहरु ठड्याँदा त पाइलटहरु यसले जोखिम ल्याउने भो भनेर चिन्ता गर्दथे । अहिले त झन् पोलकै आडमा पोलभन्दा १५ फिट अग्ला घरहरु बने । अवस्था जोखिमपूर्ण बन्दै जान लागेको छ ।’
‘विमानस्थलको दायाँ–बायाँ साढे पाँच किलो मिटर र धावनमार्गको सीधा अगाडि–पछाडि १५ किलो मिटरसम्म निश्चित उचाइका संरचनामात्रै बनाउन पाइन्छ । तर भरतपुर विमानस्थल वरपर यस्तो देखिएन । मापदण्डविपरीत अग्ला घरहरु धमाधम बन्दै गरेका छन् । यसले दुर्घटना निम्त्याउन सक्छ’ नागरिक उड्यन प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले बुधबार भरतपुरमा आयोजित कार्यक्रममा भने । धावनमार्ग सीधा अगाडि पछाडि विमानस्थलभन्दा ३०० मिटर परमात्रै कम्तीमा एक तले घर बनाउन सकिने प्रावधान रहेको भरतपुर नगरपालिकाका इन्जिनियर ईश्वरकुमार राजभण्डारीले बताए ।
‘विमानस्थलसँगै जोडिएर दुई तले घर बनेका छन् । हामीले एक तलाको मात्रै नक्सा पास गरेको हो, तर आफू खुसी तला थप्ने प्रचलन बढेको छ’ भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले भने । बेथिति बढेको भन्दै नगरपालिकाले कात्तिक २५ मा सूचना निकालेर भरतपुरको रिजाल चोक, युनिक कोलनी, प्रमाङ्गी टोल, अर्किड कलेज क्षेत्र, हाकिम चोक बुद्धचोक क्षेत्रमा नक्सा पास रोकेको छ ।
‘के कति घर मापदण्डभन्दा विपरित बनेका छन् । त्यसको लेखा जोखा गर्न आवश्यक भएको छ । नागरिक उड्यन प्राधिकरणसँग विज्ञ मगाएर नगरपालिका र हामी भएर एक महिनाभित्र यो काम पूरा गर्नेछौँ’ भरतपुर विमानस्थलका प्रमुख बच्चुराम श्रेष्ठले भने । मापदण्डविपरीतका घर बनेको पाइएमा त्यस्तालाई हटाउने कार्यक्रममा प्रशासनले पूर्ण सहयोग गर्ने चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
मापदण्डअनुसार विमानस्थलको दायाँ बायाँ धावनमार्गदेखि सय मिटर परसम्म १४ मिटरभन्दा अग्लो घर बनाउन पाइँदैन । सय मिटरदेखि साढे पाँच किलो मिटरसम्म कति उचाइका संरचनाहरु बनाउन पाइने हो भन्ने नियम बनेको छ । त्यस्तै, जहाज उड्ने बस्ने धावनमार्गको अगाडि पछाडि १५ किलो मिटरसम्मको दूरीमा बनाउन पाइने संरचनाको उचाइ पनि तय गरिएको छ ।
‘यी मापदण्ड नमानेर घरहरु बने हवाइ दुर्घटनाको खतरा त रहन्छ नै भोलि अन्तराष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आइकाउ) ले विमानस्थल प्रमाणीकरण नै गर्दैन । प्रमाणीकरण नभएको विमानस्थलमा जहाज चढेर को हाउन चाहन्छ’ उड्यन प्राधिकरणका इन्जिनियर प्रदिप अधिकारीले भने । त्यसैले मापदण्ड पूरा गराउन सरकार कडा रुपमा प्रस्तुत हुने उनले बताए ।
Discussion about this post