परासी । किसानले उखुको भुक्तानी नपाएको भन्दै नवलपरासीको चिनी मिलबाट चिनी निकासी बन्द गराएका छन् । डेढ महिनासम्म उखु क्रसिङ गर्न थाले पनि पेस्कीस्वरूप रकम नपाएको भन्दै किसानले नयाँ उत्पादन भएको चिनी बजारमा ल्याउन रोकेका हुन् ।
उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवका अनुसार इन्दिरा सुगर मिल प्रतापपुर र बागमती खाडसारी चिनी मिलले उत्पादन गरेको चिनी निकासी रोकिएको हो ।
बागमती र इन्दिराले चार÷चार लाख क्विन्टल उखु क्रसिङ गरेको छ भने लुम्बिनी चिनी मिल सुनवलले दुई लाख ५० क्विन्टल उखु क्रसिङ गरेको छ । झन्डै ७५ प्रतिशत उखु क्रसिङ हुँदासमेत किसानले पेस्की नपाएकाले निकासी बन्द गरेका हौँ– अध्यक्ष यादवले भन्नुभयो ।
उत्पादन भएको चिनी बजार नलगेसम्म किसानको उखुको भुक्तानी दिन नसक्ने चिनी मिल सञ्चालकले जनाएका छन् । जिल्लाका मिलबाट किसानले झन्डै रु ४४ करोड भुक्तानी पाउनुपर्ने बताएका छन् । लुम्बिनी, इन्दिरा र बागमती यहाँका ठूला चिनी उद्योग हुन् ।
सम्झौताअनुसार चिनी मिलले पेस्की नदिएकाले चिनी निकासी रोकिएको हो । किसानको पेस्की भुक्तानीलगत्तै चिनी निकासी नरोकिने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताउनुभयो ।
Discussion about this post