बसन्त पराजुली
भरतपुर । पछिल्लो समय सहरमा भन्दा ग्रामीण क्षेत्रमा घर जग्गाको कारोवार बढ्न थालेको छ । ग्रामीण क्षेत्रहरुमा पनि विकासका पूर्वाधारहरु बढ्दै जानु र सहरको जग्गाको मूल्य आकासिनुले गाउँको जग्गाको कारोबार बढेको हो ।
‘पछिल्लो समय सहरको भन्दा गाउँमा घर जग्गाको कारोबार बढेको छ’, मालपोत कार्यालय भरतपुरका प्रमुख घनश्याम उपाध्यायले भने, ‘गाउँ गाउँमा सडक पुगेका छन् । स्कुल, स्वास्थ्य केन्द्रका सुविधा छन्, त्यसैले पनि घर जग्गाको किनबेच ग्रामीण क्षेत्रमा बढेको छ ।’
सहरको तुलनामा गाउँको जमिनको मूल्य कम हुुनु नै ग्रामीण क्षेत्रको कारोबार बढ्नुका कारण हो, तर घर जग्गा व्यवसायी दिनेशकुमार चुके भने पछिल्लो समय समग्र घर जग्गाकै कारोवारमा सुधार आएको तर्क गर्छन् । ‘बढ्दो रेमिटेन्सले घर जग्गाको कारोवार बढाएको छ’, चुकेले भने, ‘मालपोत कार्यालयमा बढेको भीडले पनि कारोवार बढ्दो छ भन्ने पुष्टि गर्छ ।’ संविधान सभाको निर्वाचनमा जनतासम्म पैसा आई पुगेकाले पनि आर्थिक गतिविधि बढ्दा घर जग्गाको कारोवारमा सुधार आएको उनको भनाइ छ । थप्छन्, ‘बैंक तथा वित्तीय संस्थाहरुले व्याज घटाएको र आवास कर्जामा समेत थप सुविधा दिएकाले पनि घर जग्गाको कारोवार बढेको छ ।’
मालपोत कार्यालय भरतपुरमा चालु आर्थिक वर्षको ६ महिनामा पाँच हजार १२ रजिष्टेसन पास भएका छन् । जसमध्ये तीन हजार ९३ ग्रामीण क्षेत्रका र एक हजार ९१९ सहरी क्षेत्रका हुन् । पुस महिनामा मात्रै एक हजार ११९ रजिष्टेशन पास भएकामा ७०८ ग्रामीण क्षेत्रको र ४११ सहरी क्षेत्रका हुन् । घर जग्गाको कारोवारवापत् मालपोत कार्यालयले पुस महिनामा मात्रै २ करोड ४७ लाख ५६ हजार ४३३ राजश्य संकलन गरेको छ । यो लक्ष्य भन्दा १७८ प्रतिशत बढी हो ।
यो महिना कार्यालयले एक करोड ३८ लाख ८६ हजार रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले ११ करोड ८ लाख २८ हजार ४२८ राजश्व संकलन गरेको छ । राजश्व संकलनको मात्रालाई हेर्ने हो भने पनि पछिल्लो समय घर जग्गाको कारोवारमा केही सुधार आएको बताउन सकिन्छ ।
नारायणी घर जग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीलाई चाहिँ रेमिटेन्सकै कारण घर जग्गाको कारोबार बढेको हो भन्ने लाग्छ । ‘सहरी क्षेत्र वरपरका सहर उन्मुख गाउँहरुमा कारोवार बढ्दो छ’, उनले भने, ‘बढी आफ्नै घर जोडेर बस्नेहरुले जग्गा बढी किनीरहेका छन् ।’
‘कतिपय बसाइ सरेर आएका छन् भने कति विदेशमा कमाइ गरी फर्किएकाले घर जग्गाको जोहो गरेका छन्’, अधिकारीले भने ।
Discussion about this post