-सन्जोग कँडेल
सामान्यतया मानवजीवनमा कुनै विपत्तिका कारण सकारात्मक सोच तथा मनोबलमा कमी आउने र सामान्य जीवनयापनमा देखा पर्ने मानसिक समस्यालाई डिप्रेसनका रुपमा परिभाषित गर्न सकिन्छ । कारण जुनसुकै भए पनि आजको समयमा विकराल रुप लिइरहेको डिप्रेसन र यसका विविध पक्षका बारेमा सबैले जानकारी राख्नुपर्दछ ।
डिप्रेसन कुनै नाता या संक्रमणको कारणले देखा पर्ने समस्या नभई मानसिक रुपमा अस्वस्थ हुने अवस्था हो । आफ्नो प्रियजनको मृत्यु, काममा असफलता, पढाइमा असफलता, प्रेमसम्बन्धमा अवरोध, पारिवारिक असहिष्णुताजस्ता विविध कारणले मानिसको मनमा असर पर्ने अवस्था सिर्जना हुन्छ । मानिस जुनसुकै समय पनि झोक्राइरहने, भीड वा समूहबाट टाढा रहन चाहने, नकारात्मक कुराको कल्पना गर्ने, खुशी रहन नसक्ने, टोलाइरहनेजस्ता सामान्य लक्षणदेखि लिएर स्मरणशक्ति गुम्ने, परिवारका सदस्य चिन्नसमेत नसक्ने, सामान्य हिँडडुल गर्न नसक्नेजस्तो जटिल अवस्था सिर्जना हुन सक्छ । विभिन्न अध्ययनअनुसार सन् २०२० सम्ममा डिप्रेसनले क्यान्सरभन्दा पनि विकराल रुप लिन सक्ने भनी देखाएको छ । त्यसैले पनि युवापिँढी बढी शिकार हुनुका कारणबारे खोज हुनु अत्यावश्यक देखिन्छ ।
आजको यस भागदौडरुपी समाजमा डिप्रेसनजस्तो समस्या देखा पर्नुलाई असामान्य भने मान्न सकिँदैन । मानिस सफलताको गुलाम बनिरहेको अवस्थामा असफल व्यक्तिमा त्यस्तो लक्षण देखिनु अस्वाभाविक होइन । हामीले आफैँलाई सोध्नु जरूरी छ, के हरेक व्यक्ति प्रथम हुनु सम्भव छ ? दोस्रो हुन नचाहने आजको समयमा फेलको त कुनै अस्तित्व नै नहुने अवस्था छ र अस्तित्व गुम्ने अवस्था सिर्जना भएपछि मानसिक सन्तुलनमा असर पर्नु स्वाभाविक हुन जान्छ ।
आफूले आफ्नो प्रतिभा र दक्षतामा विश्वास नगरी जिन्दगीलाई रेसका रुपमा लिने अहिलेको युवापुस्ताको सोच बदल्नु जरूरी छ । आफ्नो जिन्दगी र भविष्यका बारेमा हरेक युवाले चिन्तन गर्नुपर्छ । हरेक काम गर्नुअघि वैचारिक रुपले गहन भई सोच्नु जरूरी छ । काम होस् या पढाइ, प्रेम होस् या वैवाहिक सम्बन्ध, हरेक काममा हतार र सफलताको आश र असफलताको डरले मानिसलाई आज डिप्रेसनको शिकार बनाएको छ ।
भौतिक विकास, बदलिँदो सोच र सचेतनाका बीच आज मानवजीवनमा डर मौलाएको पाउन सकिन्छ । हरेक पाइलामा डरको अनुभूति देख्न सकिन्छ । व्यापारमा असफलताको डर, प्रेम÷विवाह सम्बन्धमा सुदृढीकरणको डर, पढाइमा फेल त परै जाओस् दोस्रो हुनुको डर, डर नै डरका बीच आज मानिस आफ्नै मनसँग डराइरहेको छ ।
जन्म लिन पनि करोडौँ शुक्राणुहरु बीचको रेसमा एक विजयी भएपछि मात्र सम्भव छ भन्ने सत्यतालाई आफ्नो सिद्धान्त बनाएको आजको समाजमा हरेक व्यक्ति उत्तिकै सक्षम र सबल हुँदैनन् । सबैमा फरक किसिमको कला, सीप र सोच हुन्छ भन्ने कुराको ज्ञान हुनु जरूरी छ । आज एउटा विद्यार्थी आफ्नो रोजाइको विषय पढ्न नपाइरहेको अवस्था छ, किनकि उसको आमाबुबालाई घरमा डाक्टर या इन्जिनियर चाहिएको छ । नचाहिँदो देखावटीपनका लागि दिइने यस्ता पारिवारिक दबाबका कारण आज डिप्रेसन र आत्महत्याको संख्या दिनानुदिन बढ्दो छ । यो समस्यालाई हरेक बाबुआमाले मनन् गरेर आफ्ना बाबुनानीको ख्याल गर्नु जरूरी छ ।
सफल हुने इच्छा सबैमा हुन्छ । उद्देश्य लिनु गलत होइन, चाहना राख्ने अधिकार सबैमा हुन्छ । तर, उद्देश्य पूरा नहुँदा निराश हुनु गलत कुरा हो । प्राप्तिभन्दा प्रयत्न ठूलो हो भन्ने कुरालाई अहिलेको युवापुस्ताले मनन् गर्नुपर्छ । जिन्दगीमा आफूलाई अरुसँग दाँज्नु नै समस्याको जड हो । हरेक कलाकार राजेश हमाल हुन सक्दैन, हरेक डाक्टर उपेन्द्र देवकोटा या भगवान् कोइराला हुन सक्दैन । त्यो ठाउँमा पुगिन्छ मात्र आफूमा विश्वास, उच्च मनोबल र मिहेनत गरेको अवस्थामा । चाहेको कुरा नपाउँदा नैराश्यता बढ्नु सामान्य भए पनि कालान्तरमा त्यसलाई स्वाभाविक रुपमा लिई अघि बढ्नु जरूरी छ ।
यस विषयलाई हरेक युवापुस्ता, बाबुआमा, समाज, सरोकारवाला संस्था र सरकारले गम्भीरतापूर्वक लिई जनचेतना अभिवृृद्धिका साथै राम्रो अवसर र गुणस्तरीय जीवनको बाटो अवलम्बन गर्न सिकाउनु जरूरी छ । डिप्रेसनपीडित व्यक्तिहरुलाई राम्रो उपचार, माया दिइनुपर्छ भने हरेक डिप्रेसनका बिरामीले एकचोटि आफ्नो अवस्थाभन्दा माथि उठेर सोची आफ्नो जीवनलाई सकारात्मक ढंगले अघि बढाउनु जरूरी छ । अबका दिनमा सबैको प्रयत्नले डिप्रेसन र आत्महत्याको संख्या घट्दो क्रममा जाओस्, ताकि जसका कारण सबल तथा समृद्ध समाजको निर्माण होस् ।
Discussion about this post