माडी । माडीमा बाढी जाँदा त्यसको विस्तृत जानकारी भरतपुरमा आउन कति समय लाग्ला ? एक घण्टा, चार घण्टा अथवा एक दिन ? माडीको अहिलेको अवस्था जाने बुझेकाहरुलाई लाग्दो हो एक दिन त कुर्नै पर्छ, तर त्यहाँको प्रकोपको अवस्था क्षणभरमा विश्वभर फैलाउने तयारी हुँदैछ ।
कम्प्युटर र इन्टरनेट भएपछि जानकारी संसारभर फैलाउन के गाह्रो भयो र ! उपयुक्त सफ्टवेयर भएपछि विस्तृत विवरण उल्लेख गर्न झनै सजिलो हुने भयो । प्रकोपको विस्तृत विवरण समेट्ने ‘साहना’ सफ्टवेयर उपयोगमा ल्याएर माडीको विपद् र त्यसको व्यवस्थापनसँग सम्बन्धित जानकारी संसारभर फैलाउन लागिएको हो ।
चार गाविस रहेको माडी बाढी र कटानका दृष्टिले निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ । प्रकोपबाट जोगाउन संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) ले समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत चारै गाविसमा स्थानीय समिति निर्माण भएका छन् ।
‘गाविसस्तरका चारै समितिलाई हामीले एउटा–एउटा कम्प्युटर दिएका छौँ’ युनडीपीको कार्यक्रम अधिकृत दीपक केसीले जानकारी दिए । विपद् व्यवस्थापन समितिलाई मात्रै नभएर युएनडीपीले गाउँ विकास समितिको कार्यालयलाई पनि एक–एक थान कम्प्युटर दिएको छ ।
माडीमा बिजुली बत्ती छैन । कम्प्युटर चलाउन आवश्यक पर्ने उर्जाका लागि सोलार प्यानल पनि युनडीपीले नै दिने भएको छ । कम्प्युटर समुदायलाई हस्तान्तरण भइसकेको छ । ‘कम्प्युटरबाट हुने अरु सामान्य काम त हुने नै भए, तर यसलाई हामी प्रकोपको जानकारी फैलाउने माध्यम बनाउने छौँ’ केसीले भने ।
हैटीमा भूकम्प जाँदा होस् या तटीय क्षेत्रमा रहेका देशहरुमा समुद्री आँधी सुनामी आउँदा होस् त्यसको विस्तृत जानकारी संसारभर फैलाउने माध्यम भएको थियो ‘साहाना’ सफ्टवेयर । माडीमा दिइएको कम्प्युटरमा पनि ‘साहाना’ सफ्टवेयर राखिने छ ।
सफ्टवेयर उपयोगका लागि चितवन जिल्ला विकास समितिका सूचना अधिकृत बलराम लुइँटेलले तालिम लिइसकेका छन् । समुदायमा पनि तालिम दिइनेछ । निपूर्ण भएपछि उनीहरुले थप्ने ताजा विवरण पलभरमा संसारभर छाउने छ । समुदायस्तरमा यो सफ्टवेयरको उपयोग हुन लागेको नेपालमै पहिलो हो ।
‘प्रकोपको तत्कालको अवस्था के छ ? उद्धारको अवस्था के छ ? को–को उद्धारमा जुटेका छन् ? आउनुपर्ने को आएनन् जस्ता जानकारीहरु फैलाउन यो सफ्टवेयरले मद्दत गर्छ’ जिविसका सूचना अधिकृत बलराम लुइँटेलले भने । प्रकोपको प्रभावितदेखि उद्धारमा खट्नुपर्ने निकाय र चासो राख्ने सबैलाई जानकारी पुग्ने उनले बताए ।
बिपद्का बेला उद्धार र राहत पु¥याउन जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्र रहनेछ । त्यस्तो केन्द्र राष्ट्रियस्तरमा पनि हुनेछ । ‘साहना’ मार्फत् आउने सूचनाहरु यस्ता केन्द्रलाई झनै उपयोगी हुने छन् । यसबाट प्रकोपको जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
उद्धारका लागि केन्द्र, जिल्ला र स्थानीय स्तरमा उद्धारकर्मी र सामग्रीहरु नभएका होइनन् । तर क्षण–क्षणमा उपलब्ध हुने जानकारीले कुन तहको सहायता आवश्यक हुने हो निक्र्यौल गर्न सजिलो हुनेछ । स्थानीय र जिल्ला तहका उद्धारकर्मी र सामग्रीले सम्भव नदेखिए केन्द्रीय तहबाट पनि तत्काल उद्धारकर्मी आउन सम्भव हुनेछ ।
‘प्रकोप र विपद् स्थानीय र राष्ट्रिय सरोकारको विषय मात्रै पनि होइन । यो अन्तर्राष्ट्रिय चासो पनि जोडिएको हुन्छ । कहिलेकाहीँ अन्तराष्ट्रिय मद्दत पनि आवश्यक पर्छ । साहानाले यहाँको गतिविधिलाई अन्तराष्ट्रिय समुदायसँग पनि जोडेको हुन्छ’ सूचना अधिकृत लुइँटेलले भने ।
Discussion about this post