जुटपानी । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने बताउनु भएको छ ।
जुटपानीमा निर्माण गरिएको शिवपाञ्चायन मन्दिरको मंगलबार उद्घाटन समारोहमा उहाँले संविधान सभाको निर्वाचनमा ठूलो दल बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । एकीकृत नेकपा माओवादी र राप्रपा नेपाल प्रतिपक्षमा बस्ने घोषणा गरिरहेका बेला परिवार पदका अध्यक्ष ढकालले बाहिरै बसेर भएपनि संविधान निर्माणमा सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
शान्ति र संविधान निर्माणको लागि दलहरु एकजुट हुनुपर्ने भन्दै उहाँले कम्तीमा संविधान निर्माणको अवधिसम्म दलहरुको एकता आवश्यक रहेको बताउनुभयो । अहिलेको संविधान सभाबाट पनि संविधान बन्न नसके मुलुकमा संविधान नबन्ने भन्दै उहाँले यसतर्फ गम्भीर हुन ठूला दललाई आग्रह गर्नुभयो ।
स्थानीय शुभकामना महिला समूहको सक्रियतामा खड्कबहादुर र चोकबहादुर थापाले प्रदान गर्नुभएको जग्गा मन्दिर निर्माण गरिएको थियो । मन्दिर निर्माणको लागि ७ लाख रूपैयाँ खर्च भएको कोषाध्यक्ष नवराज दुवाडीले जानकारी दिनुभयो ।
मन्दिर निर्माण समितिका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नन्दलाल लामिछानेले मन्दिरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस जुटपानीका सभापति कृष्णबहादुर घिमिरे, नेकपा एमालेका क्षेत्रीय सदस्य दीपक लामिछाने, एनेकपा माओवादीका जुटपानीका अध्यक्ष नरबहादुर जिसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समितिका उपाध्यक्ष गोपी लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्थानीयहरुले विभिन्न देवीदेवताका मूर्ति एवम् बाजागाजासहित गाउँ परिक्रमा गरी मन्दिरमा मूर्ति प्रतिस्थापनसमेत गरेका थिए । यसैबीच नवनिर्वाचित सभासद् एकनाथ ढकाललाई मिलीजुली आमा समूह जुटपानी–१ ले मंगलबार सम्मान गरेको छ । आमा समूहकी अध्यक्ष सुभदं्रा दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post