रत्ननगर । विगतका वर्षहरुमा डढेलोले वन सखाप पारेपछि टिकौली मध्यवर्ती सामुदायिक वनमा मंगलबारबाट अग्निरेखा निर्माणको काम सुरू भएको छ ।
डढेलोबाट हुन सक्ने सम्भावित क्षति रोक्न सामुदायिक वनमा अग्निरेखा निर्माणको काम सुरू गरिएको हो । तराई भू–परिधि कार्यक्रमको आर्थिक सहयोगमा विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स) नेपाल चितवनले अग्निरेखा निर्माणको काम सुरू गरेको हो ।
चैत–वैशाखमा हावाहुरी चल्ने समय भएकाले वनमा बढी डढेलो लाग्ने गर्दछ । सो समयमा डढेलो लाग्न नदिन र नियन्त्रण गर्न अग्निरेखा बनाउन थालिएको सेन्स चितवनका अध्यक्ष पुष्पराज मरहठ्ठाले जानकारी दिनुभयो ।
डढेलो नियन्त्रणको लागि सामुदायिक वनअन्तर्गत पर्ने सानो घोलदेखि आमसोती घोलसम्म करिव दुई किलो मिटर क्षेत्रमा अग्निरेखा निर्माण गरिने सेन्स नेपाल चितवनका अध्यक्ष पुष्पराज मरहठ्ठाले जानकारी दिनुभयो । सामुदायिक वनको दुवैतर्फ आगो फैलन नदिनको लागि सफा किसिमको बाटो बनाइने र त्यसले आगो एक ठाउँबाट अर्कौ ठाउँमा जान नदिन सहयोग गर्ने अध्यक्ष मरहठ्ठाले बताउनुभयो ।
टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिमान विक प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेपाल निर्माण तथा संबद्ध श्रमिक संघ चितवनका अध्यक्ष कृष्णप्रसाद भट्टराई, क्यूपेक चितवनका अध्यक्ष तुलबहादुर मगर, संरक्षणका बलराम बगाले, सेन्स चितवनका सचिव हरिप्रसाद घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सेन्स चितवनका अध्यक्ष पुष्पराज मरहठ्ठाको अध्यक्षतामा भएको थियो । टिकौली मध्यवर्ती सामुदायिक वन विश्व सम्पदा सूचीमा सुचिकृत २० हजारी तालसँग जोडिएको वन हो ।
Discussion about this post