कावासोती । झन्डै पाँच वर्षदेखि व्यावसायिक आलुखेती गर्दै आएका किसान हुन् गुरूप्रसाद खनाल । घरमा खान र बिक्री गर्नका लागि सिन्धुरे र कार्डिनर जातका आलु लगाएका खनालले चार वर्षदेखि चिप्स सोना नामको आलु लगाएर उद्योगलाई कच्चा पदार्थका रुपमा बिक्री गर्ने गरेका छन् ।
आत्मनिर्भर हँुदै व्यावसायिक बन्न उद्योगकै सहयोगमा उनीलगायत यहाँका करिब ६०० किसान आलुखेतीमा लागेका हुन् । तर उनीहरूले उत्पादन गरेको आलु भण्डार गर्न नसक्दा समस्या परेको छ ।
चौधरी उद्योगग्राम दुम्कौलीले माटो परीक्षण गर्दा गिरुवारीको माटो उत्तम भएपछि यहाँका किसानलाई व्यावसायिक बनाएको खनालले बताउँछन् । चौधरी ग्रुपले आलुको बीउ र उत्पादन भएपछि बजारको व्यवस्था गरेकाले यहाँका किसान आलुखेतीमा लागेका हुन् ।
किसानलाई आत्मनिर्भर गराउँदै स्वदेशी कच्चा पदार्थमै उद्योग चलाउने नीतिअनुसार किसानलाई प्रोत्साहन गरिएको सिजी एग्रो फरेस्टीका प्रमुख शरद घिमिरेले बताउनुभयो । साधारण आलुभन्दा किसानलाई यो धेरै फाइदाजनक छ । धान रोप्दा मुस्किलले एक कट्ठामा रु छ हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
आलुखेती बरदानको स्वरुप आएकाले सरकारले बीउ, प्राविधिक पक्ष र चिस्यान केन्द्र (कोल्ड स्टोर) बनाउनुपर्ने किसान ईश्वरीप्रसाद पाण्डे बताउनु हुन्छ । देउरालीको बेलहानी, बेलुवा, झ्यालवास र गिरुवारीमा अहिले आलु पकेट क्षेत्र भएको छ । छ कट्ठाको आलुखेतीले चार जना छोराछोरीलाई उच्च शिक्षा पढाउन पुगेको अन्नपूर्ण कृषक समूहका अध्यक्ष गुरुप्रसाद खनालले बताउनुभयो ।
Discussion about this post