नारायणगढ । वसन्तपञ्चमी अर्थात श्रीपञ्चमी पर्व आज मुलुकभर महामन्जुश्रीको पूजाआराधना गरी मनाइरहेका छन् ।
ससाना बालबालिकालाई अक्षरारम्भ अर्थात विद्यारम्भको रुपमा लिइने यस अवसरमा नेवार समुदायले स्वयम्भूको आनन्दकुटी विहारसँगै रहेको गुरु महामन्जुश्रीको पूजा आराधना गर्ने गर्दछ भने गैर नेवार समुदायले महामन्जुश्रीलाई विद्यादान गर्ने देवीका रुपमा सरस्वतीको पूजा गर्ने प्रचलन छ ।
महामन्जुश्रीलाई नेवार समुदायले ससुमाँजूको रुपमा पनि सम्बोधन गर्ने गरिन्छ । श्रीपञ्चमीका दिन हिन्दू तथा बौध्दधर्मावलम्बी विशेष गरी छात्रछात्राको स्वयम्भूमा ठूलो घुइँचो लाग्छ ।
संस्कृतिविद् डा चुन्दा वज्राचार्यले नेवार समुदायमा श्रीपञ्चमीको दिन महामन्जुश्री तिब्बतबाट नेपाल आउने भएकाले उहाँलाई थकाई मार्न बेलुका भक्तजनले उहाँको शरीरमा खानेतेल घसिदिने परम्परा रहेको बताउनुभयो ।
श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध, बाह्राः र इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ ।
स्वयम्भू पुरानअनुसार उपत्यका उत्पत्तिसँग जोडिएको महामन्जुश्रीको कथामा महामन्जुश्रीले आफ्नो खड्गले प्रहार गरी उपत्यकाका ठूल्ठूला पहाड फुटाएर पानीले भरिएको काठमाडौँ उपत्यकामा निकास खोली पानी बाहिर पठाई मानव वस्ती बसालेको उल्लेख रहेको डा वज्राचार्यले बताउनुभयो ।
आजकै दिनदेखि होली पर्व सुरु हुने र ऋतु परिवर्तन हुन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ ।
Discussion about this post