-रमा घिमिरे
अहिले स्वस्थानी घरघरमा पढिएको अवस्था छ । भगवान्को नाममा पढिने यो कथामा सतीदेवीले आफ्नो बाबुबाट शिवको अपमान गरेको सहन नसकी यज्ञकुण्डमा हाम फालेको हुनाले त्यो लासलाई ठाउँठाउँमा लगेर मन्दिर बनाई पूजा गरेको कुरा छ । त्यतिबेलाको इतिहास, धर्म र त्यागको नाममा महिलालाई अमानवीय व्यवहार गरेको पाइन्छ ।
भगवान् शंकर आफ्नी दयावती पार्वतीसँग मात्र सन्तुष्ट नभएर कहिले भाले हाँसको रुप लिँदै सुन्दर सरोवरमा खेलेका छन् त कहिले श्लेषमान्तक वनमा मृगको रुप लिँदै गरेको कथा लेखिएको छ, स्वस्थानीमा । भगवान् भनिएका शंकर विभिन्न ठाउँमा मोजमस्ती गरेर घर फर्कन्छन् । पार्वतीको रक्षार्थ बसेका गणेशलाई टाउको छिनाएर दुई टुक्रा पारिन्छ । रिस, द्वेष पुरूषलाई मात्रै हुने महिलालाई नहुने हैन, तर महिलाले मुख खोल्न पाउने अवस्था थिएन । देवगुरू बृहस्पतिले अपहरण गरेर बलात्कार गरेका छन्, अर्काकी पत्नीलाई । बलात्कार गर्ने पनि देवता कहलिएका छन् । बलात्कारमा परेपछि वृन्दाले आत्महत्या गरेकी छिन् ।
मध्ययुग महिलामाथिको बर्बर हिंसाको युग थियो । समाजका ठूलाठालु भन्नेहरु धर्मका ठेकेदार पण्डितहरुमार्फत स्वर्ग र मोक्षको डर, त्रास देखाई महिलाहरुलाई जिउँदो हुन्ज्याल पुरूषकी सेविका, दासी र भोग्या बनाउने र मृत्युपछि पनि सती प्रथा सुरू गरेर जलाएर मार्ने गर्न थाले । सात वर्षकी गोमाको सत्तरी वर्षका वृद्धसँग विवाह भएकोले सन्तान हुर्काउन, बढाउन कठिन भएको हुँदा घरघरै काम गर्न गएर सन्तान पालेकी छिन् उनले । बालविवाह, अनमेल विवाह, छोराछोरीमा विभेद, महिला–पुरूषमा विभेद यस्ता थुप्रै कुराहरु स्वस्थानीमा लेखिएका छन् ।
स्वस्थानी लेख्ने पुरूषहरु नारीप्रति कठोर थिए । त्यसैले, हिंसा र विभेद गरेर आफ्नै वरपर कजाइरहेका छन् । यसरी आफ्नै वर्गमाथि विभेद गरेर लेखिएको कथा महिला स्वयंले वाचन गरेर सबैलाई सुनाइरहेका छन् । महादेवले जालन्धरलाई गिराउन वृन्दालाई बलात्कार गर्नु, चन्द्रावतीलाई दुःख दिनु, छोरीलाई प्रसाद खान नदिनु बरू नदीमा लगेर बगाउनुजस्ता कार्यले महिलालाई वंश–अंशको हकदार हैन, पशुको व्यवहार गरेर तुच्छ पारिएको छ ।
अहिलेको समय भनेको पितृसत्तात्मक समाजले धर्म, व्रत र पूजापाठका माध्यमबाट महिलामाथि कसरी हिंसा, विभेद गरिएको रहेछ भनेर बुझ्ने समय हो । आज हामी द्वापर र त्रेता युगमा हैन, २१औँ शताब्दीमा आइपुगेका छौँ । पछिल्ला समयमा महिलाले गरेको संघर्षले समानतामा आधारित कानुनहरु बन्दै गएका छन् । नारीबिना घरको अस्तित्व रहँदैन, परिवार र समाज भन्ने त पछिका कुरा हुन् ।
लिंगकै आधारमा नारी र पुरूष अझै पनि शासित र शासकका रुपमा छँदैछन् । शासकहरुबाट अनेकौँ हिंसामा परेका छन्, नारीहरु । सामूहिक बलात्कार, बेचबिखन, श्रम शोषण, वैदेशिक रोजगारमा ठगी भइरहेकै छ । विभेद, असमानता, अशिक्षा, बेरोजगारले गर्दा महिला हिंसामा परिरहेका छन् । महिलाहरु राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा गरेको लगानी श्रमको उचित प्रतिफल नपाएकै कारणले अझै पनि पछि नै छन् । नारीहरुको स्थान उच्च भएमात्रै समग्र राष्ट्रको स्थान उच्च हुन्छ । सभ्य र सुसंस्कृत समाज महिलालाई हरेक ठाउँमा अगाडि बढाए मात्र हुन्छ ।
नारीलाई दुःख नदिने पुरूष नै समृद्धशाली र धनधान्यले परिपूर्ण हुन्छन् । आफू सम्मानित र सुखी भएको देख्ने चाहना राखिन्छ भने महिलाले पनि त्यही चाहेका हुन्छन् । अबको समयमा पण्डितहरुले पनि आफ्नो पेसाभित्रैबाट रूढीवादी संस्कारविरूद्ध सामाजिक जागरण ल्याउन पहल गर्नुपर्दछ । गाउँका बूढापाका, समाजसेवी, पुरोहित, राजनीतिज्ञ, युवाहरुले सबै लैंगिक र अन्य विभेदपूर्ण व्यवहार न्यूनीकरण गर्न लागेमा समृद्ध र समुन्नत, सभ्य समाज बन्दछ ।
कर्मकाण्ड मान्छेले नै बनाएका हुन् । त्यसलाई पनि समयअनुसार परिवर्तन गर्दै लानुपर्दछ । स्वस्थानीलाई समयअनुसारको परिवर्तन गरेर महिलाको शिर उच्च पार्ने कार्य गरौँ । महिलाको सम्मान गरौँ, कामको मूल्याङ्कन गरौँ र सम्मानित जीवन जिउने इच्छा र अधिकार महिलालाई पनि हुन्छ भन्ने बुझेर कानुन बनाऊँ । अब बन्ने संविधानमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरौँ ।
Discussion about this post