भरतपुर । चितवन उद्योग संघको आयोजनामा यस वर्ष आयोजना हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ ।
प्रदर्शनी स्थल उद्योग संघको परिसरमा धमाधम स्टल निर्माणका कार्यहरु भइरहेका छन् । प्रदर्शनी सफल बनाउन विभिन्न २५ वटा उपसमितिहरु निर्माण गरिएको छ । प्रदर्शनी अन्तरगतको पर्यटन प्रबद्र्धन समितिले शनिबार समितिको विस्तार गरेको छ । समितिका संयोजक भेषराज दुवाडीको अध्यक्षतामा बसेको वैठकले समितिलाई विस्तार गरेको हो ।
समितिको सदस्यहरुमा योगेश अधिकारी, विश्व सुवेदी, जनार्दन पौडेल, विनोद त्रिपाठी, सुदीप भट्ट, शेखर पौडेल, मोहन गुरूङ र खेमराज भट्टलाई चयन गरिएको छ । त्यस्तै, समितिको सल्लाहकारहरुमा दिलिप मैनाली, नारायण भट्टराई, इमान्दु बराल र पुष्पलाल लोहनी चयन भएका छन् । समिति विस्तारसँगै अर्को वैठक बसी समितिको कार्यविधि तयार पारिने संयोजक दुवाडीले जानकारी दिनुभयो ।
समितिले महोत्सव अवधिभर पर्यटन प्रवद्र्धनको विषयमा जानकारी गराउने छ । पर्यटन प्रवद्र्धनका लागि नै समिति विस्तार गरिएको संयोजक दुवाडीले बताउनुभयो । यस्तै उद्घाटन समारोह उपसमितिका संयोजक कृष्णप्रसाद कँडेलले उद्घाटन समारोहलाई व्यवस्थित पार्ने आन्तरिक कार्य सुरू सकिएको जानकारी दिनुभयो । प्रदर्शनी अवधिका लागि निर्माण गरिएका उपसमितिले आफ्नो कामहरु अघि बढाइसकेका छन् । राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० यस वर्ष यही फागुन १ देखि ८ गतेसम्म आयोजना हुन लागेको हो । प्रदर्शनीमा ३०० स्टलहरु राखिने छन् ।
Discussion about this post