– पोषणहरि उप्रेती (दीनदुःखी विवश)
देश दुखेको देशमा आज
वसन्त बहारका छन्दहरु
बीचबीच
आवर्तन÷परावर्तनहरु
क्षितिजबाट प्रकाश पर्दा नपर्दै
कविता रून्छे अरे, कविता हाँस्छे अरे
आकाश ढाकेर चट्टान पग्लन सुरू हुँदा
पक्षीका चिरबिर आवाजहरुले
रमणीय रविका पानाहरुमाझ
बिम्ब÷प्रतिबिम्बहरुमा
कविता झुल्कन्छे अरे, कविता डुब्छे अरे
पराकाष्ठारुपी कविता
ज्योति बनेर घरघर पुग्छे अरे
गगन ओढेर बग्छे अरे
किरण, विकिरण व्यथाहरु
ज्वारभाटाहरु छिचोल्दै
टक्, टक्, टक् घुम्टोभित्र
कविता रून्छे अरे, कविता हाँस्छे अरे
आधा आकाशबाट बुँदहरु
कविता पिउँछे अरे
प्रलयका थोपाहरु
मधुमासको सिरेटो बाटोहरु हुँदै
पुनः
शिखरहरुमा खस्छे अरे, पोखिन्छे अरे
पुनश्चः कविता उठ्छे अरे
सतही समथर फाँटहरु हुँदै
चुम्छे अरे टापूहरु
अनि
बादलपारिको देशबाट
सररर
थाहा छ ?
कविता रून्छे अरे, कविता हाँस्छे अरे ।
Discussion about this post