नारायणगढ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमतीय सरकार सफल नभए बहुमतीय सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियनको शुक्रबारदेखि नारायणगढमा सुरु भएको केन्द्रीय विधान अधिवेशनको उदघाटन गर्दै कोइरालाले सकभर सहमतीय सरकार बनाउने पहल कांग्रेसको हुने सो नभए बहुमतीय सरकार बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
‘राष्ट्रपतिले सहमतीय सरकारको नेतृत्व गर्न दलहरुलाई आह्वान् गर्नु भएको छ । सके सहमतीय सरकार बनाउँछौ’, कोइरालाले थप्नुभयो, ‘कांग्रेसको पहिलो पहल सहमतीय सरकार बनाउने नै हो । नभए देश बहुमतीय रुपमा अगाडि बढ्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ ।’ सभापति कोइरालाले राष्ट्रपतिले दिएको समय सीमाभित्र सहमतिको सरकार बनाउन नसके बहुमतीय प्रक्रियाबाट सरकारको छिनोफानो गर्ने स्पष्ट पार्नुभयो ।
‘सबै दलहरु कांग्रेस नेतृत्वको सहमतीय सरकारको पक्षमा छन्’, उहाँले थप्नुभयो, ‘अहिले अवस्थामा ठोस निर्णय हुन सकिरहेको छैन् ।’ राष्ट्रपतिले तोकेको सीमाभित्र राष्ट्रिय सहमतीको सरकार बनाउन काग्रेसले पहल गर्ने पनि उहाँले बताउनुभयो । अहिले सबै दलहरुसँग सहमतिका लागि पहल भैरहेको उहाँले स्पष्ट पार्नुभयो ।
दलहरुले छ महिनाभित्र सविधानको मस्यौदा र एक वर्षभित्र संविधान जारी गर्ने सहमति भैसकेको धारणा राख्नुहुँदै उहाँले सो सहमति सबै मिलेर पूरा गर्ने प्रतिबद्धता पनि दोहो¥याउनुभयो ।
‘सबै सहमति र सहकार्यमै हामी संविधान जारी गर्नेछौं’, उहाँको भनाइ छ ।
बाँके र चितवनबाट निर्वाचित भए पनि अहिलेसम्म कुन क्षेत्र छाड्ने भन्ने आफू निष्कर्षमा पुगिनसकेको उहाँले बताउनुभयो ।
‘मैलै कुन क्षेत्र छाड्ने भन्ने निर्णय लिइसकेको छैन । दुई क्षेत्रमध्ये एउटा क्षेत्र रोज्नुपर्ने बाध्यता छ’, उहाँले शनिवारसम्म निर्वाचन आयोगलाई आफूले छाड्ने क्षेत्रका बारेमा जानकारी दिनुपर्नेतर्फ इंकित गर्दै थप्नुभयो, ‘काठमाडौँ गएपछि यसको निर्णय लिनेछु ।’ उहाँले दुबै क्षेत्रमा आफूलाई नछाड्न दबाव परेकाले पार्टीकै निर्णय गराएर एक क्षेत्र छाड्ने बताउनुभयो ।
संविधान सभा चुनावमा दुवै क्षेत्रबाट चुनाव जितेकाले आफ्नो समान दायित्व रहेको बताउनुभयो । ‘दुवै क्षेत्र मेरै हो भन्ने भावनाले काम गर्नेछु । यहाँको विकास निर्माणमा सहभागी हुनेछु’, कोइरालाले भन्नुभयो । उहाँले निजामती कर्मचारीहरुले नै कांग्रेसलाई ठूलो पार्टी बनाएको भन्दै प्रशंसासमेत गर्नुभएको थियो ।
निजामति कर्मचारी युनियनका अध्यक्ष सुबोधकुमार देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय कमला पन्त र बद्री पाण्डे, नेपाल टेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष खिलनाथ दाहाल, डिएलएका केन्द्रीय अध्यक्ष यदुनाथ खनाल, प्रेस युनियनका महासचिव शिव लम्साललगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शनिबारसम्म चल्ने अधिवेशनमा देशभरबाट ५ सय ५० जना प्रतिनिधिको सहभागिता रहेकोे छ । युनियनको बैशाख २७, २८ र २९ गते महाधिवेशन हुँदैछ । महाधिवेशन अघि विधान अधिवेशन गर्ने युनियनको प्रावधानअनुसार सो अधिवेशन सुरु भएको हो । अधिवेशनले युनियनलाई समावेशी बनाउने गरि विधान संशोधन गर्ने बताइएको छ ।
Discussion about this post